Comments Add Comment

आफैं स्वाब दिन अस्पताल पुगे, घर फर्किएपछि कोरोना पुष्टि

१८ साउन, पोखरा । पोखरा ओम अस्पतालमा २ दिनअघि एकजना बिरामी रुघाखोकी लागेको भन्दै उपचारका लागि गए । आफूलाई कोरोना संक्रमण भएका आशंका गर्दै उनी त्यहाँबाट पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान गए । त्यहाँ उनले कोरोना परीक्षणका लागि सशुल्क स्वाब दिए ।

स्वाब दिएर घर फर्किएको भोलिपल्ट ती ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखियो । ‘सुरुमा कोरोना नेगेटिभ आयो भनेर घर जानु भो । पछि पोजेटिभ देखिएपछि उहाँलाई आइसोलेसनमा ल्याइसकेकिएको छ,’ पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले अनलाइनखबरसँग भने ।

ती व्यक्ति पछिल्लो समय घरबाहिर नगएको पाइएकाले उनको सम्पर्क भएका व्यक्तिबारे जानकारी लिने काम भइरहेको पौडेलले बताएका छन् । ‘उहाँको बाह्य ट्राभल हिस्ट्री छैन । बिरामी भएरै अस्पताल भर्ना भएकाले स्वास्थ्य अवस्था अलि क्रिटिकल छ,’ उनले भने, ‘हामी कन्ट्याक ट्रेसिङ सुरु गरिसकेका छौं ।’

कास्कीमा आइतबार ती ५२ वर्षीय पुरुषसहित ६ जना नयाँ संक्रमित फेला परेका छन् भने गण्डकी प्रदेश भरी २० जना नयाँ संक्रमित थपिएका छन् ।

किरियापुत्रीलाई कोरोना

कास्कीको रुपा गाउँपालिकामा किरिया बसेकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । २३ वर्षीय ती महिला केही समयअघि विदेशबाट आएको र क्वारेन्टिन बसेकैबेला आमाको मृत्यु भएपछि काठमाडौंको अस्पताल पुगेको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

‘संक्रमित महिला केही समयअघि विदेशबाट नेपाल आउनु भएको थियो । क्वारेन्टिन बसेकै बेला आमा बितेपछि आफैं किरिया बस्दै हुनुहुन्छ,’ ओझाले अनलाइनखबरसँग भने, ‘उहाँसँग गाडीमा आउने २ जना र परिवारका २ जनालाई पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ ।’

ओझाले महिलासँग सम्पर्कमा आएका व्यक्तिको पहिले नै कोरोना संक्रमण पुष्टि भएको उनको घर पहिलेदेखि नै सिल गरिएको जानकारी दिए ।

‘किरियापुत्री बसेको घर बाहिरका मान्छेको सम्पर्क धेरै नहोस् भनेर पहिलेदेखि नै सिल गरेका थियौं,’ उनले भने, ‘अहिले उहाँ आइसोलेसनमा गइसक्नुभएको छ ।’

रुपा गाउँपालिकामा ती महिलाहित ५ जनामा कारोना संक्रमण पुष्टि भएका छन् । जसमध्ये बाँकी संक्रमित ३ जना तराई र एक जना भारतबाट आएर क्वारेन्टिनमा बसिरहेको ओझाले जानकारी दिए ।

१५ सय पुग्यो संक्रमित संख्या

आइतबार प्रदेशभरि २० जना कोरोना संक्रमित थपिएकासँगै संक्रमितको संख्या १५ सय नाघेको छ । प्रदेशभरी १ हजार ५०५ कोरोना संक्रमित पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आइतबार कास्कीसहित गण्डकीका ५ जिल्लामा कोरोना संक्रमित पुष्टि भएका थिए । संक्रमण पुष्टि हुनेमा स्याङ्जाका ८ जना, तनहुँका २ जना लमजुङका ३ जना र बागलुङका एकजना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कुल कोरोना संक्रमितमध्ये प्रदेशभरी हालसम्म निको हुनेको संख्या १ हजार २४५ जना छ । गण्डकीमा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment