Comments Add Comment

पर्यटन बोर्डद्वारा करारका कर्मचारी कटौती, विदेशमा विज्ञापन रद्ध

१८ साउन, काठमाडौं । नेपाल पर्यटन बोर्डले करारमा नियुक्त कर्मचारी कतौती गरेको छ । यस वर्ष झण्डै ६ महिना कमाइविहीन बनेको बोर्डले ४३ जना कर्मचारीको करार नवीकरण गरेन ।

त्रिभुवन विमानस्थलबाट विदेशी जाने प्रत्येक हवाई यात्रुबाट नेपाल पर्यटन बोर्डले एक हजार रुपैयाँ उठाउने गरेको थियो । यसबाट उठेको रकम नै बोर्डको मुख्य आम्दानी हो । यसबाहेक पदयात्रामा जाने पर्यटकलाई दिइने टीम्सकार्ड बिक्री समेत बोर्डको आम्दानीको स्रोत हो । पर्यटक आगमन बन्द भएपछि अहिले बोर्ड आम्दानीविहीन बनेको छ । किनकी बोर्डलाई सरकारले छुट्टै रकम दिँदैन ।

तर, ५ चैतमा अन्तर्राष्ट्रिय उडान बन्द भएपछि बोर्डले पाउने आम्दानीसमेत गुम्यो । ‘कामको चाप हुँदा करारमा कर्मचारी राख्ने हो,’ बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले अनलाइनखबरसँग भने, ‘तर, आम्दानी नै नभएपछि करारका कर्मचारीको करार नवीकरण गर्न असमर्थ भयौं ।’

बोर्डमा सरसफाइ र भान्सामा काम गर्ने केही कर्मचारीबाहेक सबै करारका कर्मचारीलाई बोर्डले नवीकरण गरेन ।

आजै पास हुँदैछ बजेट

बोर्डले चालु आर्थिक वर्ष २०७७/७८ का लागि वार्षिक कार्यक्रम तथा बजेट पास गर्ने तयारी गरेको छ । सम्भवतः आइतबार बस्ने संचालक समितिको बैठकले बजेट पास गर्नेछ ।

सीईओ रेग्मीका अनुसार यसवर्ष खुद्रे आयोजनामा भौतिक पूर्वाधारतर्फ छुट्याइने सबै रकम कटौती भएको छ । ‘अब मन्दिरको रंगरोगनका नाममा भन्दै खुद्रे कार्यक्रममा जाने रकम कटौती भएको छ,’ सीइओ रेग्मीले भने ।

अब बोर्डले नतिजा आउने गरी पूर्वाधारमा लगानी गर्ने भन्दै उनले यो वर्ष भने पूर्वाधारमा लगाउने गरी बजेट नै नहुने स्पष्ट पारे । १ भदौमा अन्तर्राष्ट्रिय उडान खोलेपछि केही यात्रु आउने आशमा आम्दानी बढ्छ कि भन्ने अनुमानसहित बोर्डको बजेट बनाइएको छ ।

बजेटको आकार भने गत आव २०७६/७७ को भन्दा झण्डै आधाले घट्नेछ । गत आवमा बोर्डको बजेट १ अर्ब ६३ करोड रुपैयाँ थियो । ०७५/७६ मा भने बजेट १ अर्ब ७३ करोड रुपैयाँ रहेको थियो । गत आवमा सगरमाथा क्षेत्रको टिम्सकार्ड गाउँपालिका आफैंले उठाउन थालेपछि बोर्डको आम्दानी घटेको थियो ।

विदेशमा हुने विज्ञापन रद्ध

यो वर्ष बोर्डले विदेशमा विज्ञापनका लागि गर्ने खर्च समेत रद्द गरेको छ । बीबीसीसहितका विदेशी सञ्चार माध्यममा गन्तब्य प्रवद्र्धनका लागि छुट्याइएको बजेटले यस वर्ष निरन्तरता नपाएको बोर्डले जनाएको छ ।

यो वर्ष डिजिटल माध्यमलाई प्रयोग गरेर प्रवद्र्धनको कामलाई प्राथमिकता दिइने भएको छ । नेपाललाई सुरक्षित गन्तब्यका रुपमा स्थापित गर्न बजेट केन्द्रित रहेको सीईओ डा. रेग्मीले बताए । आन्तरिक गन्तब्य स्थापित गर्न समेत बजेटले प्रयास गरेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment