Comments Add Comment

क्वाटी : कति स्वादिलो, कति पोषिलो ?

हरेक पर्व अनुसार हाम्रो भान्सामा भिन्न भिन्ने खानेकुरा पाक्ने गर्छ । असार पन्ध्रमा दही चिउरा, साउन पन्ध्रमा खीर भनेजस्तै जनै पूर्णिमाको दिन खाइने विशेष खान्की हो, क्वाटी । क्वाटीमा मास, मुँग, भटमास, चना, सीमी, बकुल्ला, बोडी, सानो केराउ, ठूलो केराउ जस्ता गेडागुडी मिसाइएको हुन्छ । क्वाटीलाई भिजाएर अंकुराउन थालेपछि यसको झोल बनाएर खाने परम्परा छ । त्यसैले क्वाटी खानु चार दिनअघि नै यसलाई भिजाएर राख्ने गरिन्छ ।

क्वाटीको खास अर्थ तातो झोल पदार्थ भन्ने हुन्छ । धार्मिक मान्यता अनुसार नौ थरीका गेडागुडीको मिश्रण गरी, त्यसको टुसा उमारेर प्रत्येक श्रावण शुक्ल पूर्णिमा अर्थात जनै पूर्णिमाको रातमा क्वाटी खाने गरिन्छ । क्वाटी जनै पूर्णिमाको विशेषता नै हो ।

खासगरी वर्षायाममा खेती किसानी गर्नेहरुलाई बढी पौष्टिक आहार चाहिने भएकाले पनि क्वाटीको प्रचलन सुरु भएको मानिन्छ । क्वाटीबाट पूर्ण प्रोटिन पाइने पोषणविदहरुको भनार्ए छ । यसलाई शक्तिवर्दक खान्कीको रुपमा लिइन्छ ।

क्वाटी खाँदा पेट प्राकृतिक रुपले नै सफा हुन्छ । ठूला मान्छेलाई नै यसले कब्जियतबाट जोगाउँछ भने बालबालिकालाई त यो राम्रो डाइट नै हुन्छ । क्वाटी रेसादार खानाको स्रोत हो ।
क्वाटीले मधुमेह, पायल्स जस्ता समस्या भएकाहरुलाई समेत फाइदा गर्ने वताइन्छ । क्वाटीमा भिटामिन ए, भिटामिन वि, भिटामिन सि, भिटामिन इ तथा खनिज पदार्थ पर्याप्त मात्रामा पाइन्छ । यसले रोगी, बालबालिका तथा बृद्धमा हुने कुपोषणबाट समेत बचाउँछ । टुसाएको गेडागुडीमा क्षरीय गुण बढी हुन्छ । त्यसैले क्वाटी खानाले एसिडिटी तथा मूत्रनलिको संक्रमण जस्ता समस्याबाट पनि छुटकारा मिल्छ । यसले पाचन शक्तिमा सुधार ल्याउँछ । गेडागुडीमा हुने सबै पौष्टिक तत्व शरीरले लिने भएकाले यसले शक्ति र सौन्दर्य दुबै दिन्छ । क्वाटी खानाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment