
१८ साउन, काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोभिड-१९ महामारीका बीच पनि नेपालको अर्थतन्त्रमा २.३ प्रतिशत आर्थिक वृद्धि हुनु सुखद भएको बताएका छन्।
मन्त्री पुनले बजेट खर्च हुने समयमा भएको लकडाउनका बाबजुद आर्थिक वर्ष २०७५/०७६ मा २.३ प्रतिशत आर्थिक वृद्धि हासिल हुनु सरकारको उपलब्धी भएको उल्लेख गरे।
संसारका ठूला अर्थतन्त्र भएका मुलुकको अर्थतन्त्रसमेत ऋणात्मक अवस्थामा पुगेका बेला नेपालको अर्थतन्त्रमा थोरै भए पनि वृद्धि हुनु धेरै सकारात्मक पक्ष रहेको उनको भनाइ थियो।
मन्त्री पुनले कोभिड–१९ महामारीमा आर्थिक वृद्धि हासिल गर्ने संसारका १८ मुलुकमध्ये नेपाल पनि एक भएको चर्चा गरे। ठूला अर्थतन्त्र भएका अमेरिका, युरोपियन तथा छिमेकी मुलुकहरु ऋणात्मक अर्थतन्त्रको शिकार भएका बेलासेमत नेपालमा आर्थिक वृद्धि हुनु सकारात्मक रहेको उनले बताए।
‘कोभिड–१९ महामारीको चुनौतीपूर्ण अवस्थामा संसारका १८ मुलुकले मात्र आर्थिक वृद्धि गर्न सकेका छन्’, मन्त्रालयको तेश्रो चौमासिक र वार्षिक समीक्षा तथा विकास समस्या समाधान समिति बैठकमा आइतबार मन्त्री पुनले भने, ‘यस्तो अवस्थामा पनि २.३ प्रतिशत आर्थिक वृद्धि हुनु धेरै राम्रो हो । यो सरकारको सफलता हो ।’
प्रतिक्रिया 4