Comments Add Comment

नेपालमै प्लाज्माथेरापीबाट सफल उपचारः कोरोनाका गम्भीर संक्रमितलाई सुखद समाचार

१८ साउन, काठमाडौं । महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचाररत नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमित ६५ वर्षीय पुरुषमा ‘प्लाज्माथेरापी’बाट सफल उपचार भएको छ ।

विराटनगर स्थायी घर भएका संक्रमितलाई २६ वर्षीय पूर्व संक्रमितले ‘प्लाज्मा’ दिएपछि स्वास्थ्य लाभ गरेका हुन् । ९० प्रतिशतसम्म अक्सिजन चाहिएका उनलाई अहिले जनरल वार्डमा सारिएको छ ।

उनी नेपालमा ‘प्लाज्माथेरापी’ बाट कोभिड-१९ को उपचार गराउने पहिलो व्यक्ति हुन् ।

गत असार अन्तिम साता राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले कोभिड-१९ बाट निको भएकाहरूलाई ‘कन्भेलेसमेन्ट प्लाज्मा’ दिन आव्हान गरेको थियो । एनएचआरसीका सदस्य सचिव डा. प्रदीप ज्ञवाली भन्छन्, ‘अनुसन्धानका लागि रगत दान गर्न आव्हान गरेको तीन हप्तामै सफल उपचारबारे जानकारी दिन पाउँँदा एकदमै हर्षित छौं ।’

एक दर्जन दाता इच्छुक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजारबढी संक्रमितमध्ये आइतबारसम्म १४ हजार ६०३ जना निको भइसकेका छन् । उनीहरूलाई स्वेच्छिक रुपमा प्लाज्मा दान गर्न एनएचआरसीले आग्रह गरेको छ ।

आइतबारसम्म ‘कन्भेलेसमेन्ट प्लाज्मा’ दिन इच्छुक १२ जनाले एनएचआरसीमा नाम दर्ता गराइसकेको डा. ज्ञवालीले जानकारी दिए । उनी भन्छन्, ‘दाताको प्लाज्मा स्क्रिनिङ गरेर म्याच भएपछि गम्भीर विरामीलाई दिन्छौं ।’

प्लाज्मा दिएपछि लक्षण कति घट्यो ? साइड इफेक्ट देखियो कि देखिएन ? प्लाज्मा नदिएका विरामीको तुलनामा प्लाज्मा पाउने विरामीको स्वास्थ्य कति छिटो सुधार भएको छ भन्ने जस्ता विषयमा आफूहरू अनुसन्धान गरिरहेको ज्ञवाली जानकारी दिए ।

लक्षण नभएका वा गम्भीर विरामी बाहेक र १८ वर्ष भन्दा कम उमेरका संक्रमितका लागि भने प्लाज्मा थेरापी विधि प्रयोग नगरिने डा. ज्ञवाली बताउँछन् ।

विकल्प नहुँदाको विकल्प

संसारभर एक करोड ८० लाख भन्दा बढीलाई संक्रमित बनाइसकेको कोभिड-१९ को उपचार अझै पत्ता लाग्न सकेको छैन । चिकित्सक तथा वैज्ञानिकहरू निरन्तर यसको उपचारको उपाय खोजिरहेका छन् ।

सन् १८९० मा पहिलो पटक बिरामीहरूमा प्रयोग गरिएको यो विधि विभिन्न उपाय मध्येको एउटा विकल्प हो ।

कोरोना संक्रमितको उपचारमा संलग्न डा. शेरबहादुर पुन भन्छन्, ‘प्लाज्मा थेरापीको सफलता दर १०० प्रतिशत छैन, यद्यपि यो अर्को विकल्प नहुँदा प्रयोग गरिने उत्तम विकल्प हो ।’

सरुवा रोग विशेषज्ञ डा. बाबुराम मरासिनी संक्रमितको संख्या बढ्दै जाँदा प्लाज्मा थेरापीको सफल उपचार गम्भीर विरामीका लागि उपयोगी हुने बताउँछन् । ‘नेपालमा पहिलो विरामीकै सफल उपचार हुनु भनेको कोरोनाका गम्भीर विरामीका लागि सुखद समाचार हो’ उनी भन्छन्, ‘मृत्युदर न्यूनीकरणमा यसले महत्वपूर्ण भूमिका खेल्न सक्दछ ।’

‘कमजोर देशले सेना पाए जस्तै’

रोग प्रतिरोधी क्षमता कमजोर बनेपछि नै नोवेल कोरोना भाइरसको संक्रमण देखिन्छ । कोरोना जितिसकेका व्यक्तिको शरीरमा रोग प्रतिरोधी क्षमता (एन्टीबडी) विकास भइसकेको हुन्छ ।

प्लाज्मा थेरापी विधिबाट उपचार गर्दा पहिल्यै कोरोना लागेर निको भइसकेको व्यक्तिबाट रगत लिइन्छ । र, सो रगतमा रहेको प्लाज्मा कोरोना संक्रमित व्यक्तिलाई दिइन्छ । निको भएको व्यक्तिको रगतमा कोरोनासँग लड्ने एन्डीबडी विकास भएको हुनाले त्यो प्लाज्मा बिरामीको रगतमा मिसिएपछि त्यसले कोरोना भाइरससँग सहजै प्रतिरोध गर्ने चिकित्सकहरु बताउँछन् ।

‘रोज प्रतिरोध गर्ने क्षमता नभएका विरामीको शरीरमा एन्टीबडीको प्रवेश गराउनु नै प्लाज्मा थेरापी हो’ डा. मरासिनी भन्छन्, ‘साधारण भाषामा भन्दा यो सेना कमजोर भएर लडाईँ हार्न लागेको देशमा बलियो देशबाट सेना ल्याएर लडाई जिते जस्तै हो ।’

बलियो सेनाले मद्दत गरे जस्तै प्लाज्मा थेरापीबाट विरामीको रोग प्रतिरोधी क्षमता विकासमा मद्दत गर्दछ । एनएचआरसीका सदस्य सचिव ज्ञवाली सबैको प्लाज्मा सबैका लागि सधैं उपयोगी भने नहुने बताउँछन् । उनी भन्छन्, ‘निको भएर गएको दुई हप्ताभित्र प्लाज्मा निकाल्नु सबैभन्दा उपर्युक्त मानिन्छ ।’

हुन त यसअघि भारतमा पनि त्यहाँका चिकित्सकहरुले कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापी विधिको प्रयोग गरेका थिए । तर, यसबाट केही बिरामीको अवस्थामा सुधार आएता पनि खासै प्रभावकारी नभएको भारतीय चिकित्सकहरुको अनुभव छ ।

यो पनि पढ्नुहोस भारतमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार प्रयास यो पनि पढ्नुहोस भारतका प्लाज्मा दाताको कहानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment