Comments Add Comment

ओली–प्रचण्ड छलफल आज पनि जारी, होला त सहमति ?

१९ साउन, काठमाडौं । नेकपाभित्र उत्पन्न संकट समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच आज पनि बालुवाटारमा छलफल जारी छ ।

आइतवार करिव तीन घण्टाको छलफल सकारात्मक रहेको र आजको छलफलपछि सहमतिको प्रस्ताव तयार हुने कतिपय नेताको दावी छ ।

ओलीसँग वार्ता गर्न प्रचण्ड आज पनि बरिष्ठ नेता झलनाथ खनाललाई लिएर बालुवाटार पुगेका छन् । । ओलीले पनि प्रचण्डसँगको वार्तामा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई राखेका छन् ।

खनाल र नेम्वाङ दुवैजना आइतवारको वार्तामा पनि सहभागी थिए ।

नेकपा नेता सुवास नेम्वाङले भने- आइतवार ग्रीन टी पिएर अघि बढेको छलफल आज जेरी खाएर टुंगोमा पुग्छ

आइतवारको छलफलपछि दुवै पक्षले आ–आफ्ना नेताहरुलाई जानकारी गराएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा ओली पक्षधर नेताहरुको बैठक आइतवार साँझ बसेको थियो । त्यस्तै प्रचण्ड निवास खुमलटारमा माधव नेपाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुबीच छलफल भएको थियो ।

नेकपा स्रोतका अनुसार दुई अध्यक्षबीच समझदारीपछि सचिवालय बैठकमा लगेर त्यसलाई अनुमोदन गरिनेछ । सचिवालय बैठकले प्रस्ताव तयार पारेर स्थायी कमिटी बैठकमा लगिने र पार्टीलाई बिभाजनबाट जोगाउने प्रयास भइरहेको वार्तामा सहभागी नेताले बताएका छन् ।

वार्तामा सहभागी हुनुअघि नेकपा नेता नेम्वाङले आजको छलफल निष्कर्षमा पुग्ने अपेक्षा आफूले गरेको बताए । उनले भने, ‘आइतवार ग्रीन–टी पिएर अघि बढेको छलफल आज जेरी खाएर टुंगोमा पुग्छ ।’ कसरी समझदारी हुँदैछ भन्नेबारे भने उनले बताउन चाहेनन् ।

प्रधानमन्त्री केपी ओलीले महाधिवेशनबाट अध्यक्ष पद छाड्ने भन्दै प्रचण्डलाई महाधिवेशनमै अघि बढ्न आग्रह गरेका छन् । प्रचण्डले भने ओलीले नै अहिलेको गतिरोधको निकास दिनुपर्ने भन्दै दुईमध्ये एक पद छाड्न आग्रह गरेका छन् । तर ओलीले सो कुरा ठाडै अस्वीकार गरिसकेका छन् ।

प्रचण्ड निकटकै नेताहरुले पनि ओलीले स्वेच्छाले राजिनामा नदिएको अवस्थामा महाधिवेशनमै जानु उपयुक्त हुने भन्दै पार्टी बिभाजन हुने गरी समीकरण बनाएर ओली हटाउनेतर्फ नलाग्न दबाव दिएका छन् । अध्यक्ष प्रचण्ड अर्कोतिर माधव नेपाल पक्षको पनि दबावमा छन् ।

साउन १३ गते निर्धारित स्थायी समिति बैठक पहिलो बरियताका अध्यक्ष केपी ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि नेकपा विवाद नयाँ मोडमा पुगेको थियो । सोही दिन प्रचण्डको अध्यक्षमा प्रचण्ड–माधव पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक बालुवाटारमा बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment