Comments Add Comment

सुरक्षा मापदण्ड पालना नगर्ने रेष्टुरेन्ट बन्द गराउने तयारी

१९ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) को बैठकले व्यवस्थित रुपमा सञ्चालन नभएका उपत्यकाभित्रका खाजा घर तथा रेष्टुरेन्ट बन्द गराउने निष्कर्षमा पुगेको छ ।

उपत्यकामा सञ्चालित धेरै खाजा घर तथा रेष्टुरेन्ट न्युनतम स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरी सञ्चालन भएको जानकारी आएको भन्दै स्वास्थ्य मन्त्रालयले यसमा सुधार नगर्नेहरुलाई बन्द गराउनुपर्ने निष्कर्षमा पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीकाअनुसार यो निर्णय कार्यान्वयन गराउन कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिलाई (सीसीएमसी) पत्राचार गरिसकेको छ। उनले भने, ‘अब सीसीएमसीले सम्बन्धित मन्त्रालय र विभागलाई यो निर्देशन दिन्छ ।’

यस्तै आइतबारकै बैठकले उपत्यकाभित्र परीक्षण मापदण्डअनुसार जाँच गर्नुपर्ने व्यक्तिहरुको नमूना संकलन गर्नका लागि ठाउँ ठाउँका अस्पताललाई बुथ तोक्नेसमेत निर्णय गरेको छ । अहिले केही अस्पतालमा मात्रै नमूना लिने गरिएको छ ।

कोरोना परीक्षण मापदण्ड पुगेका व्यक्तिहरु आफ्नो पायक पर्ने ठाउँबाट नमूना दिन नपाउँदा जोखिम झन् बढ्न पुगेको मन्त्रालयको निष्कर्ष छ ।

यस्तै मन्त्रालयले अहिलेसम्म गरेका कामहरुको स्वतन्त्र अडिट गर्ने गरी एउटा स्वतन्त्र प्राविधिक निकायलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment