Comments Add Comment

लक्षणसहितका संक्रमित देखिए एक महिना लकडाउन : मुख्यमन्त्री शाही

प्रदेश छिर्न पीसीआर अनिवार्य गरिने

२० साउन, सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशमा लक्षणसहितका कोरोना भाइरस संक्रमित देखिए कम्तीमा २५ दिन लकडाउन गर्ने बताएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गरी उनले देशमा लक्षणसहितको कोरोनाको संक्रमण हुदै गएको भन्दै कर्णालीलाई सुरक्षित राख्न २५ दिनदेखि एक महिना कडा लकडाउन गर्ने बताएका हुन् ।

कोरोना संक्रमण रोकथामका लागि प्रदेशले पनि विकल्पसहितको योजना बनाइरहेको मुख्यमन्त्री शाहीको भनाइ छ । देशका अन्य प्रदेशमा लक्षणसहितको कोरोना संक्रमित बढ्दै गएमा कर्णालीले फेरि पनि नाका सिल गर्ने उनले बताए । ‘अब कर्णाली प्रवेश गर्ने नाकामा नै पीसीआर मेसिन राखेर कोरोना परीक्षण गरेपछि मात्रै प्रदेशमा प्रवेश पाइने अवस्था पनि आउन सक्छ’ मुख्यमन्त्री शाहीले भने ।

राहत एकद्वार प्रणालीबाट

मुख्यमन्त्री शाहीले प्रदेशमा एकद्वार प्रणालीबाट राहत बा“डिने पनि बताएका छन् । ‘यसअघि राहत बा“ड्नेहरुमा पनि संक्रमण देखिएको थियो, अब कडा खालका लक्षणसहितको कोरोनाको संक्रमण बढेमा समस्या हुन्छ, त्यसो भएमा पहिले जस्तो राहत बा“ड्ने कामले समस्या आउन सक्छ’ उनले भने ।

मुख्यमन्त्री शाहीले प्रदेशमा घरबाहिर निस्कदा मास्क अनिवार्य गरिने पनि बताए । ‘आफैं किन्न सक्नेले आफैं किन्छन्, किन्न नसक्नेलाई सरकारले दिन्छ’ उनले भने, ‘जसरी ट्राफिक नियम अनुसार मोटरसाइकल चालकलाई अनिवार्य हेल्मेट हुन्छ, त्यस्तै सबैलाई अनिवार्य मास्क लगाउने पर्ने अवस्था आउन सक्छ ।’

परीक्षणमा समस्या छैन

मुख्यमन्त्री शाहीले सकेसम्म प्रदेशका १० वटै जिल्लामा अक्सिजन प्लान्ट राख्ने, त्यो सम्भव नभए केही जिल्लाहरुको सेन्टर पर्ने स्थानमा राख्ने बताएका छन् ।
अहिले कर्णालीमा पिसीआर परीक्षण गर्ने प्रयोगशालाको कमी नभएको भन्दै शाहीले बरु किटको अभाव हुनसक्ने जनाएका छन ।

यस्तै आइसोलेसन बेडको संख्या पनि बढाउने गरी सरकारले योजना बनाइरहेका मुख्यमन्त्री शाहीले सुनाए । तत्कालै ५० वटा भेण्टिलेटर थपेर गम्भीर प्रकृतिका बिरामीको उपचार गर्न सहज बनाउन सरकार प्रयत्नशील रहने उनको भनाइ छ ।

वडा स्तरमा उद्धार समिति

विपद व्यवस्थापनका लागि प्रदेशभित्रका सबै पालिकाका वडाहरुमा उद्धार समिति बनाई परिचालन गर्न लागिएको शाहीले बताएका छन् । टिम गठनका लागि पालिकाहरुलाई सर्कुलर गरिसकेको समेत उनले जानकारी दिए ।

‘प्रत्येक वडामा उद्धारका लागि एउटा टिम निर्माण हुन्छ, कतिपय ठाउँमा निर्माण भइसकेको छ, कतिपय वडामा बा“की होला’ मुख्यमन्त्री शाहीले भने, ‘त्यो टिमलाई उद्धारका लागि नेपाल प्रहरीले तालिम दिन्छ ।’

समयमा राहत उपलब्ध गराउनु मुख्य चुनौती रहेको उनले जनाए । ‘कर्णालीको भूगोल र विकटताले अहिले पनि समयमा उद्धार तथा राहत दिने कुरामा समस्या भइरहेको छ’, शाहीले भने, ‘कर्णाली सरकारको मातहतमा कम्तीमा एउटा हेलिकप्टर तयारी अवस्थामा हुन आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment