Comments Add Comment

रुसको कोरोनाविरुद्धको खोपमा डब्ल्यूएचओको आशंका

२१ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंगलबार रुसले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपमा आशंका व्यक्त गरेको छ । रुसले आगामी अक्टोबर महिनाबाट कोरोना विरुद्धको खोप उत्पादन गर्न गइरहेको बताइसकेको अवस्थामा डब्ल्यूएचओले आशंका व्यक्त गरेको हो ।

डब्ल्यूएचओले खोप उत्पादनको लागि धेरै गाइडलाइन्स बनाइएको उल्लेख गर्दै यी सबै गाइडलाइन्स पार गर्नु आवश्यक रहेको बताएको छ । डब्ल्यूएचओका प्रवक्ता क्रिस्टियन लिंडमियरले भने, ‘यस्तो समाचार आइरहेको छ भने हामी सावधान हुनु जरुरी हुन्छ । यस्ता समाचारका तथ्यको जाँच सतर्कताको साथमा गरिनुपर्छ ।’

रुसका स्वास्थ्यमन्त्रीले अक्टोबरदेखि कोरोनाविरुद्धको खोपको ठूलो मात्रामा खोप अभियान चलाउने बताएका थिए । उनले सुरुमा यो खोप डाक्टर र शिक्षकहरुलाई दिइने बताएका थिए ।

डब्ल्यूएचओका लिन्डमियरले भने, ‘शोधकर्ताले कुनै खोज गरेको दाबी गर्नु राम्रो समाचार हो । तर, केही खोजी गर्नु वा खोप प्रभावकारी भएको संकेत मिल्नु र क्लिनिकल परीक्षणको सबै चरण पार गर्नुमा धेरै फरक हुन्छ । हामीले आधिकारिक रुपमा यस्तो केही पाएका छैनौं । यदि आधिकारिक रुपमा केही भएको भए युरोपको हाम्रो कार्यालयका सहयोगीले पक्कै पनि यस विषयमा ध्यान दिन्थे ।’

उनले थपे, ‘एक सुरक्षित खोप निर्माणको लागि धेरै नियम बनाइएको छ र यसको लागि गाइडलाइन्स पनि बनाइएको छ । यसको पालना गरिनु जरुरी छ,जसको कारण हामीले खोप वा कुनै उपचार कत्तिको प्रभावकारी छ र कुन रोगविरुद्ध काम गर्छ भन्ने थाहा पाउन सक्छौँ ।’

साथै सबै गाइडलाइन्सको पालना गर्दा कुनै उपचार वा खोपको साइड इफेक्ट भए/नभएको र यसको फाइदाको तुलनामा बेफाइदा बढी हुन्छ कि भन्ने कुराको पनि अधययन उक्त परीक्षणको क्रममा गरिन्छ ।

डब्ल्यूएचओले आफ्नो वेबसाइटमा क्लिनिकल परीक्षणको क्रममा रहेका २५ र प्रि–क्लिनिकल स्टेजमा रहेका १३९ खोपको सूची राखेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment