Comments Add Comment

वीरगञ्ज कारागारमा जेलरसहित २९ जनामा कोरोना संक्रमण

२१ साउन, वीरगञ्ज । वीरगञ्ज कारागारमा बुधबार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साउन १८ गते संक्रमित भेटिएकाहरुसँगको सम्पर्क भएका १ सय १८ जनाको स्वाब परीक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको हो ।

कारागार कार्यालयका प्रमुख श्रवण पोखरेलसहित २९ जनामा कोरोना देखिएको वीरगञ्ज कारागार कार्यालयले जानकारी दिएको छ । कार्यालय प्रमुखसहित २ जना कर्मचारी, ३ जना नेपाली सेना र २४ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालय प्रमुख पोखरेलले कर्तव्य पालनाको क्रममा कोरोना संक्रमण पुष्टि भएको बताए ।

‘कन्ट्याक्ट ट्रेसिङका क्रममा स्वाबको नमुना दिएका थियौं’ उनले भने, ‘मसहित २९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । आफू आइसोलेसनमा बस्नुका साथै कारागारका कैदीबन्दीलाई पनि आइसोलेसनमा राख्न प्रबन्ध मिलाउँदैछु ।’

वीरगञ्ज कारागारमा १ हजार २ सय ५० जना भन्दा बढी कैदीबन्दी छन् । कारागारमा स्वाब संकलन भइरहँदा कारागार बाहिरका पनि केहीले स्वाब परीक्षणका लागि दिएको पाइएको छ । उनीहरुमध्ये पनि केहीमा संक्रमण देखिएको छ । संक्रमितमध्ये प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत २३ वर्षकी स्वास्थ्यकर्मी र ५३ वर्षका पुरुषलगायतले कारागारमै गएर नमुना दिएका थिए ।

यसअघि २२ वटा स्वाब नमुना परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । १ महिला कैदीसहित ८ जना कैदीबन्दी, नेपाल प्रहरी तर्फका ३ जना सुरक्षाकर्मी र २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कारागार परिसरमा कैदी र कर्मचारीका लागि बेग्ला बेग्लै आइसोलेसन कक्षमा राखिएको छ । स्वास्थ्यकर्मीबाट नियमित निगरानी र उपचार चलिरहेको छ । १ जना महिला बन्दीका लागि भने कारागारभित्र नै अलग कक्षको ब्यवस्था गरिएको छ ।

कैदीबन्दीलाई न्यायिक प्रक्रियाका लागि अदालत र उपचारका लागि अस्पताल ओहोर–दोहोर गराइरहनुपर्ने बाध्यता र नयाँ थुनुवालाई धेरै पुरानो पीसीआर रिपोर्टका आधारमा राख्नुपर्दा संक्रमण फैलिएको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment