Comments Add Comment

कोभिड-१९को असर : उद्योगलाई चालु पुँजीको समस्या

२१ साउन, काठमाडौं । कोरोना भाइरसको कारण उद्योगहरु अप्ठेरो अवस्थामा पुगेका छन् । बुधबार नेपाल राष्ट्र बैंकले कोभिडको असर सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै उद्योग क्षेत्रमा उद्योगहरु अप्ठेरो अवस्थामा पुगेको र चालु पुँजीको समेत समस्या हुने बताएको हो ।

राष्ट्र बैंकका अनुसार उद्योग/व्यवसायहरुको कुल खर्चमा स्थिर खर्च र चालुखर्चको हिस्सा क्रमशः ३७.६ प्रतिशत र ६२.४ प्रतिशत रहेको छ । चालु खर्चको हिस्सा अधिक रहनुले बिषम परिस्थितिपश्चात् उद्योग/व्यवसायहरुलाई चालुपूँजीको समस्या हुनेतर्फ संकेत गरेको अध्ययन प्रतिवेदनको निष्कर्ष छ ।

राष्ट्र बैंकका अनुसार सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरुमध्ये ७४.३ प्रतिशत उद्योग/व्यवसायहरुले बैंक तथा वित्तीय संस्थाबाट र ८.७ प्रतिशतले बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएका छन् ।

बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी ४ प्रतिशत उद्योग/व्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेको, ३५ प्रतिशत उद्योग/व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेको र ६१ प्रतिशत उद्योग/व्यवसायहरु पूर्णरुपमा बन्द रहेको रिपोर्टमा उल्लेख छ ।

यसरी अधिकांश उद्योग/व्यवसायहरु पूर्णरुपमा बन्द रहनुले बन्दाबन्दीले अर्थतन्त्रमा गहिरो असर पारेको राष्ट्र बैंकको निष्कर्ष छ ।

राष्ट्र बैंकले शिक्षा, होटल तथा रेष्टुरेन्ट, रियल स्टेट, भाडा तथा व्यावसायिक क्रियाकलापहरु र यातायात तथा भण्डारण क्षेत्रमा अधिक असर परेको समेत उल्लेख गरेको छ । अध्ययन प्रतिवेदन अनुसार बन्दाबन्दी अवधिमा ठूला र मझौैला उद्योग/व्यवसायको तुलनामा घरेलु उद्योग, लघु उद्यम/साना खुद्रा व्यापार र साना उद्योग/व्यवसायहरु बढी प्रभावित भएको समेत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment