Comments Add Comment

गोरखामा ३ हजार भूकम्पपीडित अनुदान लिन आएनन्

२२ साउन, गोरखा । गोरखाका भूकम्पबाट घर क्षतिग्रस्त भई सरकारबाट अनुदान पाउने सूचीमा रहेका लाभग्राहीमध्ये तीन हजार ६ सय ९२ जनाले हालसम्म अनुदान सम्झौता गरेका छैनन् ।

सम्झौता नगर्नेमा सबैभन्दा बढी पालुङटार नगरपालिकाका लाभग्राही रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएके छ ।

लाभग्राही कायम भएर पनि सम्झौता नगर्ने पालुङटार नगरपालिकामा मात्रै ८ सय २४ जना रहेको कार्यालय प्रमुख रामशरण आचार्यले बताए । उनका अनुसार सबैभन्दा थोरै भीमसेन थापा गाउँपालिकाकामा १ सय ६ जना रहेका छन् ।

गण्डकी गाउँपालिकाका ६०९, गोरखा नगरपालिकाका ५३१, सिरानचोक गाउँपालिकाका ३४३ र चुमनुव्री गाउँपालिकाको ३०४ जना लाभग्राहीले सम्झौता नगरेको उनले बताए ।

त्यस्तै शहीद लखन गाउँपालिकाका ३०३, बारपाक सुलिकोट गाउँपालिकाका २१०, आरुघाट गाउँपालिकाका १८९, धार्चे गाउँपालिकाका १५१ र अजिरकोट गाउँपालिकाका १२२ जना लाभग्राहीको सम्झौता हुन बाँकी रहेको उनको भनाइ छ ।

‘सम्झौता नगर्ने आधाजसो मध्य केहीको डुब्लिकेसन भएको छ र केही लाभग्राहीको मृत्यु भएको तर नजिकको हकवाला नभएर पनि सम्झौता हुन सकेको छैन,’ आचार्यले भने । घर बनाउन आवश्यक नभएका कारण कतिपय लाभग्राहीले सम्झौतामा चासो नदिएको उनको भनाइ छ ।

स्थानीय तहमा सम्झौताको काम भइरहेको तर कार्यालयसम्म आइनपुगेको कार्यालयका वित्तीय व्यवस्थापन बिज्ञ अम्विका पौडेल बताउँछन् । उनका अनुसार जिल्लामा हालसम्म लाभग्राहीको संख्या ७२ हजार ५८४ रहेको छ ।

जसमध्ये ६६ हजार ८९९ पूर्ण लाभग्राही हुन् भने ५ हजार ६८५ प्रबलीकरणका लाभग्राही हुन् । जसमध्ये ७९ हजार १६२ जनाले पहिलो, ६२ हजार १२७ ले दोस्रो र ५८ हजार ३२३ जनाले तेस्रो किस्ता लगिसकेको पौडेलले जानकारी दिए ।

कार्यालय प्रमुख आचार्यका अनुसार लाभग्राही कायम भएर पनि सम्झौता नगर्नेहरुले २०७७ साल भदौ मसन्तसम्म सम्झौता गरेर अनुदानको पहिलो किस्ता लिइसक्नुपर्नेछ ।

त्यस्तै पुस मसान्तभित्र दोस्रो किस्ता र चैत्र मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने उनले बताए । ‘राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट प्राप्त परिपत्र अनुसार किस्ता लिने समयसीमा यो हो, यो समयमा पनि किस्ता नलिनेहरुलाई लाभग्राही सूचीबाट हटाइने र किस्ता लिएकाहरुबाट सरकारी बाँकी सरह किस्ता रकम असुल गरिने भनिएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment