Comments Add Comment

अर्कै समूहको रगत चढाउँदा सुत्केरीको मृत्यु, दुई चिकित्सक पक्राउ

२३ साउन, जनकपुरधाम । रेडक्रस सोसाइटी र चिकित्सकको चरम लापरवाहीका कारण जनकपुरधाममा एक सुत्केरीको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका ६ स्थित रामजानकी अस्पतालमा प्रसुति गराउन आएकी महोत्तरी गौशाला नगरपालिकाकी २२ वर्षकी गंगादेवी महतोको शुक्रबार विहान मृत्यु भएको हो । शल्यक्रियामार्फत बिहीबार राति ९ बजे छोरी जन्माएपछि उनलाई रगत अभाव भएका थियो ।

तर महिलाको रक्तसमूह ओ पोजेटिभ रहेकामा अस्पतालले बी पोजेटिभ रगत चढाउँदा मृत्यु भएको आफन्तले बताएका छन् । महिलाको रगतको स्याम्पल दिएर अस्पतालका चिकित्सकले रगत ल्याउन रेडक्रसको रक्तसंचार केन्द्रमा पठाएको थियो । रक्तसंचार केन्द्रले ओ पोजेटिभको सट्टा बी पोजेटिभ रगत दिएर पठाएको र चिकित्सकले चेक नगरी सोही रगत चढाउँदा ती महिलाको मृत्यु भएको हो ।

‘हामीले घटनाबारे बुझेलगत्तै दुई जना चिकित्सकलाई पक्राउ गर्न लगाएका छौं’ धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने, ‘दुबैलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।’

यसबारे गम्भीर छानबिन हुने बताउँदै प्रजिअ भट्टराईले दोषी देखिनेलाई कारवाही हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment