Comments Add Comment
कोभिड-१९ :

भारतदेखि काठमाडौं आइपुग्छन् संक्रमित, अस्पतालमा बेड छैन

२३ साउन, काठमाडौं । बुधबार काठमाडौं जिल्लामा ७७ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भयो । संक्रमितमध्ये २६ जना मात्र स्थानीय थिए, ४५ जना हालै विभिन्न जिल्लाबाट आएका र ६ जना भारतबाट आएकाहरु थिए ।

जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंको तथ्यांकअनुसार ५ जना विहार र एक जना कोलकत्ताबाट आएका हुन् ।

पछिल्ला दिनमा उपत्यकामा भेटिएका धेरै संक्रमित उपत्यकाबाहिरबाट र केही भारतबाट आएकाहरु छन् । टेकुस्थित शुक्रराज ट्रापिकल तथा सरुवा रोग अस्पतालका एक चिकित्सक भन्छन्, ‘लकडाउन खुकुलो हुँदा कार्यालयमा काम गर्नेहरु आए । सरकारले लकडाउन हट्यो भनेपछि कामको खोजीमा आउनेहरु पनि छन् ।’

टेकु अस्पतालमा पीसीआर टेष्टका लागि आउने धेरै जना रोजगारीका लागि उपत्यका प्रवेश गर्नेहरु नै छन् । घरबेटी, छरछिमेकीले ‘पीसीआर टेष्ट गर’ भनेका कारण दैनिक केही सय मानिस टेकु अस्पताल पुग्छन् । उनीहरुमध्ये ट्राभल  हिस्ट्रीका आधारमा केही व्यक्तिको मात्र स्वाब संकलन गरिन्छ त्यसमध्ये केहीमा कोरोना संक्रमण पुष्टि हुने गरेको छ ।

शुक्रबार मात्र काठमाडौंमा ८८ सहित उपत्यकामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै उपत्यकामा कुल संक्रमितको संख्या ९८२ पुगेको छ । काठमाडौं जिल्लामा मात्र सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ ।

साउन १८, २० र २२ गते काठमाडाैंमा भेटिएका संक्रमितको विश्लेषण

गते संक्रमितको संख्या स्थानीय अन्य उपचारका लागि अस्पताल पुग्दा कोरोना पहिचान लक्षण भएका होम आइसोलेसनमा

 

१८ साउन २४ १८ १०
२०  साउन ४७ २४
२१साउन ७७ २६ १२ २७ १२

जनस्वास्थ्य विज्ञहरुका अनुसार उपत्यकामा संक्रमितको संख्या अझ बढ्ने देखिन्छ । किनकी संक्रमण फैलिएका क्षेत्रहरुबाट आएकामध्ये निकै कमको मात्र परीक्षण भएको छ, जनस्वास्थ्यका मापदण्ड पनि राम्रोसँग पालना भएको छैन ।

यस्तो बेला काठमाडौं उपत्यकामा कोरोना संक्रमण राज्यको नियन्त्रण बाहिर जानसक्छ । त्यसलाई स्वीकार गर्दै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डे भन्छन्, ‘बाहिरबाट आएकाहरुको नियन्त्रण गर्न सकिएन भने उपत्यकाको अवस्था हाम्रो नियन्त्रणमा नहुनसक्छ ।’

कोभिड अस्पतालहरु भरिए

उपत्यकामा कोभिड–१९ संक्रमितको उपचारका लागि सरकारले सातवटा अस्पताल तोकेको छ, तीमध्ये अधिकांश संक्रमितले भरिएका छन् । ती अस्पतालमा आईसीयू र भेल्टिलेटर मात्र होइन, आइसोलेसन बेडसमेत पाउन मुस्किल भइसकेको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको उपचारका लागि ६ आइसोलेसन, २० आईसीयू र १५ भेन्टिलेटर बेड छुट्याएको छ । ती सबै भरिएका छन् । ‘उपचाररत कोही डिस्चार्ज नभई नयाँ संक्रमितलाई भर्ना गर्न गाह्रो छ’ अस्पतालका निर्देशक प्रा. डा. विष्णुप्रसाद शर्माले अनलाइनखबरसँग भने ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको कोभिड सेन्टरमा आईसीयूमा एउटा बेड मात्र खाली छ । त्यहाँ ११ आइसोलेसन, ५ आईसीयू र ५ भेन्टिलेटर बेड छुट्याइएको थियो । ‘आईसीयूमा एक जनालाई भर्ना गर्न सकिन्छ, अन्त्रय बेड छैन’ अस्पतालका कोभिड कोअर्डिनेटर डा. सन्तकुमार दासले भने .

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि ३० आइसोलेसन र २० आईसीयू बेड छन् । दुबैमा गरेर ३ वेड मात्र खाली रहेको अस्पतालका निर्देशक डा. सागरराज भण्डारी बताउँछन् ।

बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड अस्पतालको अवस्था पनि यो भन्दा फरक छैन । त्यहाँ १२० आइसोलेसन, २० आईसीयू र २ भेन्टिलेटर बेड छन् । तर नयाँ संक्रमितलाई राख्न सक्ने अवस्था नरहेको त्यहाँका कोभिड इन्चार्ज डा. महेन्द्र श्रेष्ठ बताउँछन् ।

भक्तपुरको दुवाकोटमा केएमसीको कोभिड अस्पतालमा बच्चाका १० सहित १०० आइसोलेसन बेड छ । ‘अहिले ८२ जना संक्रमित उपचाररत हुनुहुन्छ । अधिकांश माइल्ड सिल्टम भएकामात्र हुनुहुन्छ’ कोभिड इन्चार्ज डा. चन्दा कार्कीले भनिन्, ‘आईसीयू र भेन्टिलेटर खाली छ ।’ त्यहाँ दुई भेन्‍टिलेटर र १० आईसीयू बेड छन् ।

यस्तै आयुर्वेद अस्पताल, कीर्तिपुरमा १२० बेडको आइसोलेसन सेन्टर छ, जहाँ ४० जना संक्रमित छन् ।

क्वारेन्टिनलाई आइसोलेसन सेन्टर बनाउने तयारी

संक्रमित बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी सुरक्षा प्रमुख लगायतको बैठक बसेर क्वारेन्टिन स्थलहरुलाई आइसोलेसन सेन्टरमा स्तरोन्नती गर्ने प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा पठाएको छ ।

हाल इचंगुनारायण, मनमोहन अस्पताल हलचोक, रारा स्वामी सतरंग नेपालको क्वारेन्टिन छन्, तिनलाई आइसोलेसन सेन्टर बनाउने प्रस्ताव छ ।

निजी अस्पतालहरुमा आइसोलेसन सेन्टर बनाउने प्रस्ताव पनि सीसीएमसीमा पठाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताए ।

बैठकले उपत्यकाका स्थानीय तहहरुलाई क्वारेन्टिन स्थलहरु बनाउन समेत आग्रह गरेको छ । ‘स्थानीय तहले क्वारेन्टिन स्थल बनाउनुपर्ने हो, तर काठमाडौं महानगरपालिकाले नै बनाएको छैन भने गुनासो आएको छ’ प्रजिअ दाहालले अनलाइनखबरसँग भने, ‘आज हामीले सीसीएमसीमार्फत सबै स्थानीय तहलाई क्वारेन्टिन स्थल तयारी अवस्थामा राख्न आग्रह गरेका छौं ।’

संक्रमण बढे पनि उपत्यकामा पूर्ण लकडाउन र सिल गर्न सम्भव नभएको अधिकारीहरुले बताएका छन् । ‘अब अत्यावश्यक कामले आउनेहरुलाई केही दिन क्वारेन्टिनमा राख्ने र परीक्षण गरेर संक्रमण नभएकाहरुलाई समुदायमा जान दिने रणनीति अपनाउनुपर्ने हुनसक्छ’ प्रजिअ दाहालले भने, ‘त्यसका लागि अहिलेदेखि नै पूर्वाधारहरु तयार गरेर राख्नुपर्छ भनेर यो आग्रह गरेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका समाचार संयोजक हुन् ।

ट्रेन्डिङ

Advertisment