Comments Add Comment

जलविद्युतको सेयर मूल्य– सावाँभन्दा पनि कम

२४ साउन, काठमाडौं । सेयर बजारमा किन लगानी गरिन्छ ? यसको सामान्य जवाफ हो, प्रतिफल राम्रो पाउनका लागि । सेयर बजारमा मात्रै होइन, जुनसुकै क्षेत्रमा पनि प्रतिफलकै लागि लगानी गरिएको हुन्छ । तर सेयर बजारकै कुरा गर्ने हो भने जलविद्युत्मा गरिएको लगानीले प्रतिफल पाउने होइन, पुँजी जोगाउनसमेत मुश्किल पर्ने गरेको छ ।

उसो त सेयर बजारमा लगानी गर्नेहरुले राम्रै कमाएका पनि छन् । एक सय रुपैयाँमा किनेको साधारण सेयर हजारौं मूल्यमा बिक्री गरेका ताजा घटनाहरु अहिले पनि छन् । पछिल्लो समय च्याउसरी उम्रिएका लघुवित्तहरुकै सेयर मूल्य हेर्ने हो भने पनि आईपीओको मूल्यभन्दा २ हजार प्रतिशत अर्थात् २० गुणासम्म बढेका छन् ।

पछिल्लो समय आईपीओ जारी गरेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ गुणा अर्थात ९ सय प्रतिशतसम्मले उकालो लागेर अहिले ओरालो लाग्न शुरु गरेको छ । पछिल्लो मूल्य यसको ७ सय ६३ रुपैयाँ रहेको छ ।

अन्य क्षेत्रको सय रुपैयाँ लगानीले यति धेरै हुँदा जलविद्युत्को साधारण सेयर चिठ्ठामा हात पार्नेलाई भने त्यही सय रुपैयाँ जोगाउन नै निकै धौ–धौ परेको छ । त्यसैले त धेरै लगानीकर्ताहरु ‘जलविद्युत्मा लगानी, बालुवामा पानी’ भन्ने गरेका छन् ।

यसको अर्थ सबै जलविद्युत् आयोजनाहरुको हालत उस्तै भने होइन । केही कम्पनीहरु राम्रै पनि छन् । जसको सेयर मूल्य पनि राम्रै छन् । तर राम्रा कम्पनी एकदमै कम छन् भने एक सय रुपैयाँ बीउ पुँजी जोगाउन मुश्किल पर्ने कम्पनीहरु धेरै छन् ।

जलविद्युत्को आईपीओ भरेर चिठ्ठामा पाएका लगानीकर्ताहरुले अहिले ५० प्रतिशतसम्म सावाँ नै गुमाइसकेका छन् । कतिपयको सेयर मूल्य ५० रुपैयाँसम्म झरेको छ । किन जलविद्युत्को सेयर मूल्यको यस्तो हविगत छ त ? सेयर बजारका जानकारहरु खराब कम्पनीहरु धेरै भएका कारण क्षेत्रकै बदनाम भएको बताउँछन् ।

नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिका प्रसाद पौडेल जलविद्युत्मा लगानी बालुवामा पानी भनेसरह नभएको बताउने गरेका छन् । केही खराब कम्पनीका कारण यो क्षेत्र नै नराम्रो जस्तो देखिएको उनको तर्क छ । ‘नराम्रा कम्पनी छैनन्, केही नराम्रा कम्पनीहरु आए जसका कारण समग्र जलविद्यत् क्षेत्रमा नै वितृष्णा पैदा भएको छ,’ उनी बताउँछन् ।

उसो त हिजो चिमिले हाइड्रोपावरको सेयर प्रतिकित्ता २ हजार ८ सयसम्म पुगेको थियो । हिजो २८ सय रुपैयाँमा सेयर किनबेच भएको थियो चिलिमेले प्रिमियममा सेयर निश्कासन गरेको थियो । आजका मितिमा केही जलविद्युत् आयोजनाहरु धेरै राम्रा छन् ।

लगानीकर्ताहरुलाई राम्रै प्रतिफल दिन सक्ने कम्पनीहरु पनि छन् । एकदमै धेरै लागतका आयोजनाहरुको सेयर मूल्य ठीकै छन् । माथिल्लो तामाकोशी आयोजनाकै उदाहरण हेर्न सकिन्छ । अहिले पनि सय रुपैयाँ तल झरेको छैन । तर साना आयोजनाहरुको अवस्था ठीक नभएको उनी बताउँछन् ।

पूर्ब बैंकर अनलराज भट्टराई लगानीकर्ताहरु नबुझेर हतारिएका कारण पनि त्यसको नकारात्मक असर परेको बताउँछन् । प्रतिफल आउन ढिला भयो, अर्को क्षेत्रमा लगानी गर्छु भनेर १ सय रुपैयाँको शेयर ७० रुपैयाँमै बिक्री गरिएको हुनसक्ने उनको बुझाइ् छ । हाइड्रोपावर भनेको लामो अवधिका लागि गरिने लगानीको क्षेत्र भएकाले हाइड्रोपावरमा रिटर्न आउन समय लाग्ने उनी बताउँछन् ।

अब हेरौँ जलविद्युतको सेयर मूल्यको अवस्था

  • खानीखोला हाइड्रोपावर– रु. ५०
  • नेशनल हाइड्रोपावर कम्पनी– रु. ५२
  • दिव्येश्वरी हाइड्रोपावर कम्पनी– रु. ५३
  • आँखुखोला जलविद्युत– रु. ५३
  • घलेम्दी हाइड्रो– रु. ५६
  • युनियन हाइड्रोपावर– रु. ५६
  • जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी– रु. ५६
  • युनिभर्सल पावर कम्पनी– रु. ७०
  • पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड– रु. ७६
  • रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी– रु. ८३
  • माउन्टेन हाइड्रो नेपाल– रु. ८४
  • बरुण हाइड्रोपावर– रु. ८५
  • छ्याङ्गदी हाइड्रोपावर– रु. ८६
  • हिमाल दोलखा– रु. ९०
  • रैराङ हाइड्रोपावर डेभलपमेन्ट– रु. ९३
  • अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट– रु. ९४
  • हिमालयन ऊर्जा विकास कम्पनी– रु. ९४
  • सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड– रु. ९८
  • युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड– रु. १०३
  • कालिका पावर कम्पनी– रु. १०६
  • अपी पावर कम्पनी– रु. १०८
  • पााचथर पावर कम्पनी– रु. ११३
  • अरुण काबेली पावर कम्पनी– रु. ११३
  • ङादी ग्रुप पावर लिमिटेड– रु. ११५
  • हाइड्रो इलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट– रु. १२८
  • नेपाल हाइड्रो डेभलपर्स लिमिटेड– रु. १३०
  • साञ्जेन जलविद्युत्– रु. १३५
  • हिमालयन पावर पार्टनर लिमिटेड– रु. १४१
  • रसुवागढी हाइड्रोपावर– रु. १४४
  • राधी विद्युत् कम्पनी– रु. १७१

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment