+
+
Shares

चीनद्वारा विश्वकै ठूलो जलविद्युत आयोजना निर्माण सुरु, भारत र बंगलादेशलाई चिन्ता

भारत र बंगलादेशले बाँध निर्माणपछि नदीको पानी नियन्त्रण वा मोडिने सम्भावनालाई मध्यनजर गर्दै चिन्ता व्यक्त गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते २१:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनले तिब्बतको यारलुङ त्साङ्पो नदीमा विश्वकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना निर्माण सुरु गरेको छ।
  • प्रधानमन्त्री ली छ्याङले यसलाई ‘प्रोजेक्ट अफ द सेन्चुरी’ भनेका छन् र चीनले वार्षिक ३० करोड मेगावाट विद्युत उत्पादन लक्ष्य राखेको छ।
  • भारत र बंगलादेशले नदीको पानी नियन्त्रण र मोडिने सम्भावनाले चिन्ता व्यक्त गरेका छन् भने तिब्बती धार्मिक समूहले विरोध जनाएका छन्।

५ साउन, काठमाडौं । चीनले विश्वकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना निर्माण थालेको घोषणा गरेको छ । आयोजना निर्माणको घोषणा गर्दै चिनियाँ प्रधानमन्त्री ली छ्याङले यसलाई ‘प्रोजेक्ट अफ द सेन्चुरी’ भनेका छन् ।

तिब्बतको यारलुङ त्साङ्पो नदीमा निर्माण हुन लागेको यो जलविद्युत् परियोजनालाई निकै महत्वका साथ हेरिएको छ ।

आयोजनास्थलमा शनिबार एक विशेष समारोहका चीनको १४औँ पञ्चवर्षीय योजनाअन्तर्गतको यो परियोजना निर्माणको घोषणा भएको गार्जिएनले जनाएको छ । चीनले सन् २०२० मै १४औँ पञ्चवर्षीय योजना अन्तर्गत यो परियोजना निर्माणको घोषणा गरेको थियो ।

प्रधानमन्त्री छ्याङले दिर्घकालीन महत्व राख्ने आयोजना निर्माणको घोषणा गरेपछि चिनियाँ सेयर बजार समेत बढेको छ ।

तिब्बतको यारलुङ त्साङ्पो नदी भारतको अरुणाञ्चल प्रदेशको सियाङ र दियाङमा गएर मिसिन्छ । नाटकीय रुपमा धार लिएको तिब्बती यारलुङ त्साङ्पो नदी असाम भएर अन्य साना खोलाहरु मिसिँदै ब्रह्मपुत्रमा मिसिन्छ । ब्रह्मपुत्र बंगलादेश हुँदै बग्छ । बंगलादेशमा मिसिएपछि जमुना नदी बन्छ । त्यसै कारण भारत र बंगलादेशले चीनको यो परियोजनाको विरोध गर्दै आएका छन् ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार यारलुङ त्साङ्पो नदीको तल्लो तटीय क्षेत्रमा आयोजना निर्माण हुनेछ ।

तुलानात्मक रुपमा चीनकै थ्री गर्जेज बाँध निर्माणमा २५ खर्ब ४२ अर्ब युआन खर्च भएको थियो । थ्री गर्जेजबाट वर्षेनी ८ करोड ८२ लाख मेगावाट विद्युत उत्पादन हुँदै आएको छ ।

निर्माण सुरु भएको यो नयाँ परियोजनाबाट चीनले वर्षेनी ३० करोड मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको सिन्ह्वाले उल्लेख गरेको छ । चिनियाँ अधिकारीका अनुसार आयोजनाको कूल निर्माण लागत एक खर्ब २० अर्ब युआन अनुमान गरिएको छ ।

निर्माण घोषणा भएपनि चीनले समयसीमा र लागतबारे अझ स्पष्ट पारेको छैन । सन् २०२० को घोषणालाई परिमार्जन गरेर यसपटक आयोजनाको तथ्यांकहरु सार्वजनिक भएका छन् ।

विश्वमै धेरै कार्बन उत्सर्जन गर्ने गरेको भन्दै चीनको आलोचना हुँदै आएको छ । त्यसै कारण पनि चीनले पछिल्लो समय नवीकरणीय उर्जामा लगानी बढाउँदै गएको छ  । अन्य देशको तुलनामा चीनका जलविद्युत् परियोजनाहरु ठूलो उत्पादन क्षमताका समेत छन् ।

यारलुङ त्साङ्पो नदी साँघुरो उपत्यका हुँदै करिब २ किलोमिटर उचाइबाट तल झर्ने कारण यसको उर्जा क्षमता अत्यधिक हुने विज्ञहरुको अनुसन्धान गरेका थिए । नदीको जल प्रवाहलाई मध्यनजर गर्दै चीनले विशाल बाँध निर्माण गर्न लागेको हो ।

भारत र बंगलादेश चिन्तित

भारत र बंगलादेशले बाँध निर्माणपछि नदीको पानी नियन्त्रण वा मोडिने सम्भावनालाई मध्यनजर गर्दै चिन्ता व्यक्त गरेका छन् ।

‘चीनले यो पानीलाई आवश्यकता अनुसार रोक्ने र मोडेर हतियारका रूपमा प्रयोग गर्न सक्छ’, पार्ले पोलिसी इनिसिएटिभका दक्षिण एशिया सल्लाहकार नीरज सिंह मनहासले बीबीसीसँग भनेका छन् ।

सन् २०२३ डिसेम्बरमा भारतले आयोजना निर्माणप्रति असन्तुष्टि व्यक्त गर्दै चीनसँग आपत्ति जनाएको थियो । सन् २०२४ मा पनि विदेशमन्त्रीस्तरीय छलफलमा भारतले चीनसँग यो आयोजनाबारे कुरा उठाएको थियो ।

तर, चीनले भने ‘पानीको प्रभुत्व नचाहेको’ बताउँदै छिमेकीहरुलाई नोक्सानी पुर्‍याउने मनसाय नभएको प्रतिक्रिया दिँदै आएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चीनले नदीको तल्लो प्रवाहमा रहेका देशहरूसँग सञ्जाल कायम र विपद् व्यवस्थापनमा सहकार्य बढाउने बताएका छन् ।

नदी आसपास तिब्बती धार्मिकस्थलहरु समेत भएको तिब्बतीहरुबाटै पनि विरोध भइरहेको गार्जिएनले उल्लेख गरेको  छ । नदी आसपास रहेका धार्मिक स्थलहरू र कुन कुन क्षेत्र प्रभावित हुने हुन् भन्ने अधिकारीले जानकारी नदिएको भन्दै तिब्बती धार्मिक समूहले चिन्ता जनाएका छन् ।

गत वर्ष पनि याङ्त्से नदीको माथिल्लो क्षेत्रमा बनाइएको काम्तोक बाँधको विरोधमा भएको प्रदर्शनमा सयौं तिब्बती पक्राउ परेका थिए ।

बाँध निर्माणसँगै त्यसक्षेत्रमा भूकम्पीय जोखिम, भूस्खलन, जैविक विविधता र वन्यजन्तु संरक्षणमा गम्भीर चुनौती खडा गर्ने भन्दै पर्यावरणविद्हरूले पनि प्रश्न उठाएका छन् ।

तर, चीन सरकारले भने परियोजनाले स्थानीयस्तर रोजगारी सिर्जना गर्ने, ऊर्जा आपूर्ति सुदृढ हुने र नवीकरणीय ऊर्जा क्षेत्रमा यसले ठूलो टेवा पुर्‍याउने भन्दै आयोजनाको बचाउ गरेके छ ।

‘पर्यावरणीय क्षति नहोस् भनेर विशेष ध्यान दिनुपर्छ’, चिनियाँ प्रधानमन्त्री ली छ्याङले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?