+
+

एक पराजित ‘सेनापति’को अलिखित इतिहास !

कुलबहादुर खड्का, जो ‘कटवाल प्रकरण’ को कोपभाजनमा परे

गौरव पोखरेल गौरव पोखरेल
२०७७ साउन २४ गते २०:२८

२४ साउन, काठमाडौं । सम्भवतः नेपाली सेनाको इतिहासमै पहिलो र दुर्लभ घटना हुनुपर्छ, २० वैशाख २०६६ मा एकै दिन ‘दुई प्रधानसेनापति’ जंगीअड्डामा थिए ।

तत्कालीन प्रधानमन्त्री एवं नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसँग टकरावका बीच सेना प्रमुख रुक्मांगद कटवाललाई बर्खास्त गरिएको पत्र थमाइएको थियो ।

कटवाललाई वर्खास्त गरेर प्रचण्ड सरकारले दोस्रो वरियताका बलाध्यक्ष रथी कुलबहादुर खड्कालाई सैनिक नेतृत्व सुम्पिएको थियो । सरकारी आदेश पालना नगरेर सेनापति कटवाल नागरिक नियन्त्रणबाट बाहिर जान खोजेको आरोप सत्तारुढ दलको थियो भने कटवालले पनि माओवादीले सत्ता कब्जा गर्न खोजेको आरोप लगाए । र, विपक्षी दलको समर्थन आफ्नो पक्षमा जुटाए ।

निमित्त सेनापतिको जिम्मेवारी पाएका खड्काले नियुक्तिको पत्र पाएर पनि कुर्सीमा बस्न भने पाएनन् । बर्खास्तीको पत्र नआएको बताउँदै कटवालले ब्यारेक छाडेनन्, जंगीअड्डाका अधिकृतहरुले पनि खड्कालाई साथ दिएनन् ।

बेलुकी राष्ट्रपति रामवरण यादवले समेत कटवाललाई पत्र लेखेर पद नछाड्न र प्रधानमन्त्रीले दिएको निर्देशनको उल्लंघन गर्न भनेपछि प्रकरण उत्कर्षमा पुगेका थियो ।

पछि सेना प्रमुखमा कटवाल नै पुर्नवहाली भए भने खड्का जंगीअड्डाभित्रै एक्लिए । तत्कालीन सरकार प्रमुख प्रचण्ड र रक्षामन्त्री रामबहादुर थापा ‘बादल’ले यही प्रकरणका कारण राजीनामा दिनुपर्‍यो । घटनापछि सरकार, विपक्षी र जंगीअड्डाबाट समेत एक्लिएका खड्काले तीन महिनापछि १५ असारमा अनिवार्य अवकाश पाए ।

तर, जंगीअड्डाले उनको विदाइमा अन्य उच्च अधिकृतलाई जस्तो औपचारिक कार्यक्रम राखेन । अनौपचारिक कार्यक्रममा पनि सेना प्रमुख कटवाल गएनन् । प्रकरणका एक पात्र खड्काको गत १३ साउनमा निधन भयो ।

प्यानक्रियाजको क्यान्सरबाट पीडित खड्काले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा ६८ वर्षको उमेरमा प्राण त्यागे ।

पशुपति आर्यघाटमा खड्काको सैनिक सलामीका साथ भएको अन्त्येष्टिमा हालका प्रधानसेनापति पूर्णचन्द्र थापा त सहभागी भएनन् तर, उनका उत्तराधिकारी हालका बलाध्यक्ष रथी प्रभुराम शर्मासहित जंगीअड्डाका वरिष्ठ सैन्य अधिकारीहरु सहभागी थिए ।

किसानका छोराको फौजी यात्रा 

खड्का लमजुङको साबिक भलायखर्क गाविस–४, साहिलटारमा २००८ असार ८ गते जन्मिएका हुन् । उनका बुबा सुकबहादुर गाउँमै खेती किसानी गर्थे भने आमा भक्तिकुमारी गृहणी थिइन् ।

खड्काले प्रारम्भिक शिक्षा भलायखर्ककै ज्ञानोदय प्राथमिक विद्यालयबाट लिएका थिए भने माध्यमिक शिक्षा मिसन स्कुल, आँप पिपल गोर्खाबाट लिएका थिए । उनले एसएलसी परीक्षा भने जुद्धोदय पब्लिक हाई स्कुल, काठमाडौंबाट दिए ।

खड्काका समकालीनहरुका अनुसार त्यसवेला अब्बल विद्यार्थीका रुपमा गनिने उनले प्रथम श्रेणीमा एलएलसी उत्तीर्ण गरेका थिए । त्यसपछि अमृत साइन्स क्याम्पस (अस्कल) बाट खड्काले आईएससी पूरा गरे भने त्रिभुवन विश्वविद्यालयबाट एमए पूरा गरेका थिए ।

पछि काइदे आजम विश्वविद्यालय, इस्लामावादबाट एमएस्सी पनि गरेका थिए । खड्काको सैनिक यात्रा भने २८ भदौ २०२८ मा अधिकृत क्याडेट (सहायक सेनानी) बाट सुरु भएको हो । त्यसवेला उनले बेलायतको स्यान्डहर्ष्टबाट अधिकृत आधार तालिम पूरा गरेका थिए ।

धेरैका गुरु बा

सैनिक अधिकृतहरु खड्कालाई असल प्रशिक्षकका रुपमा पनि चिन्छन् । शिवपुरीमा रहेको सैनिक कमाण्ड एण्ड स्टाफ कलेजको स्थापनामा खड्काको महत्वपूर्ण भूमिका रहेको अधिकृतहरु बताउँछन् ।

‘स्थापना हुने वेला नीति निर्माण, योजना र सेनाबाहिरका सरोकारवालासँग समन्वय पनि उहाँले नै गर्नु भएको थियो’, एक अवकाश प्राप्त उपरथी सम्झन्छन्, ‘चित्रबहादुर गुरुङ सा’बको मातहतमा बसेर लेफ्टिनेन्ट कर्णेल हुँदा उहाँले धेरै राम्रो काम गर्नु भएको थियो ।’

स्टाफ कलेज स्थापनापछि उनी धेरै समय प्रशिक्षक भएर बसे । अधिकृतहरुका अनुसार उनी सैन्य कलामा महत्वपूर्ण मानिने ट्याक्टिस सम्बन्धी विषयमा प्रशिक्षण दिन्थे ।

यो युद्धको समयमा विपरीत शक्तिसँग कसरी लड्ने ? कुन अवस्थामा के गर्ने ? भन्ने कला हो । जुन सैनिक जवानदेखि माथिल्लो दर्जासम्ममै अति महत्वपूर्ण हुन्छ । अधिकृतहरुलाई यसको अझ धेरै महत्व हुन्छ ।

प्रशिक्षक खड्का २२ असोज २०५५ मा महासेनानीबाट सहायक रथीमा बढुवा भए । र, त्यहीँ कमान्डेट बनेर कलेजको नेतृत्व गरे ।

उनले बेलायतबाट स्टाफ कलेजको कोर्श पूरा गरेका थिए । अवकाश प्राप्त जीवनमा पनि खड्का आफूले जानेका सीप, कौशल अरुलाई सिकाइ रहेका थिए । उनी समाजसेवा पनि उत्तिकै सक्रिय थिए । २०७२ सालमा भूकम्प गएका बेला उनी लमजुङ र गोरखामा राहत वितरणमा सक्रिय थिए ।

अवकाश प्राप्त सहायक रथी दिपक गुरुङका अनुसार अमेरिकाका विश्वविद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थी उनीसँग प्रशिक्षण लिन आउँथे । गुरुङका अनुसार अहिले सेनाको उच्च तहमा धेरै अधिकृतहरु छन्, जसले कुनै समय खड्काबाट प्रशिक्षण लिएका थिए ।

कुलबहादुर खड्का भन्थे- अरुले जस्तो आत्मकथा लेखेर म आफूलाई महान् त देखाउँदिनँ तर, कटवाल प्रकरणको तथ्य कथाचाहिँ लेख्छु । तर, प्रकरणबारे लेख्न नपाई पूर्वजर्नेल खड्का ब्रम्हलीन भएको आज शनिबार १३ दिन पुगेको छ

द्वन्द्वकालमा सैनिक अपरेशन प्रमुख

कटवाल प्रकरणपछि खड्कालाई माओवादी भएको आरोप लगाइयो । तर, उनले सधैँ प्रतिवाद गरिरहे ।

‘उहाँ प्रधानसेनापतिमा बसिरहेको मान्छे खोसुवामा पर्नुभो । त्यो कुर्सीमा मलाई नियुक्ति दिएपछि ममाथि टार्गेट भएको हो’, खड्का भन्थे, ‘त्यसैले मलाई झुठो लाञ्छना लगाएर चरित्र हत्या गर्न खोजिएको हो ।’

आफू माओवादी निकट भएको भए, अवकाश पछि पनि कतै न कतै नियुक्ति पाउने उनी बताउँथे । तर, आफूलाई कुनै वेला पनि सुरक्षा सम्बद्ध विषयमा सल्लाह, सुझाव लिन समेत सम्पर्क नगिरएको उनी सुनाउँथे ।

उनलाई नजिकबाट चिन्नेहरु पनि खड्का तत्कालीन सरकार र सेना प्रमुखबीच रहेको द्वन्द्वको शिकार बनेको बताउँछन् । तर, सेना प्रमुख बन्ने प्रस्ताव आए पनि खड्काले अस्वीकार गर्नुपर्ने तर्क गर्नेको जमातमा पनि जंगीअड्डामा छ ।

खड्काले पदको लोभमा गल्ती गरेको उनीहरुको भनाइ छ । यद्यपि, सरकारले पत्र दिएपछि आफूले लिन्न भन्न नमिल्ने खड्काले बताउने गरेका थिए ।

कटवाल प्रकरण अघि उनीको छवि एक कुशल र बौद्धिक सैन्य अधिकृतका रुपमा थियो । अवकाश प्राप्त सहायक रथी विज्ञेन्द्र गौतम सम्झन्छन्, ‘उहाँ सरल, सहयोगी, संगठनप्रति समर्पित, उच्च बौद्धिक स्तर र सिपाहीको पिरमर्का बुझ्ने र पल्टनमा भिज्न सक्ने स्वभावकको अधिकृत हुनुहुन्थ्यो ।’

माओवादी द्वन्द्व उत्कर्षमा रहेका बेला खड्का सेनाको महत्वपूर्ण युद्धकार्य निर्देशनालयको निर्देशक थिए । यो सेनाको अपरेशनल नेतृत्व गर्ने विभाग हो । प्रमुख सेनानी हुँदा २५ कात्तिक २०४४ मा उनले सैनिक गुप्तचरी निर्देशनालय डाइरेक्टरी अफ मिलिट्री इन्टलिजेन्स (डीएमआई) मा पनि काम गरे ।

कम्ब्याट इञ्जिनियर

जुनियर र सिनियर कमाण्ड कोर्स भारतको उत्तरप्रदेशस्थित कलेज अफ कम्ब्याट, माहुबाट गरेका खड्का कम्ब्याट इञ्जिनियर पनि हुन् । लडाइँका बेला हुने विष्फोटनसम्बन्धी उनको विज्ञता थियो ।

खड्काले १४ नं. विग्रेड एयरपोर्टको कालिप्रसाद गणको पनि नेतृत्व गरेका छन् । सुनकोशीमा आएको बाढीका कारण ०४५ सालमा अरनिको राजमार्गको लामो साँघु बाह्रविसे सडकखण्ड भत्किएपछि विशेष काज पाएर उनी एक वर्ष पुननिर्माणमा खटिए ।

अन्य दैवी प्रकोपका बेला पनि उद्दार तथा पुनर्निमाणमा उनले महत्वपूर्ण भूमिका खेलेका छन् । पाकिस्तानबाट नेश्नल डिफेन्स कोर्स गरेको खड्का संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि दुई पटक लेवनान गएका छन् ।

वि.सं. २०३५ कात्तिकदेखि २०३६ असारसम्म सह–सेनानी हुँदा इञ्जिनियर स्टाफ अफिसरका रुपमा युनिफिल मिसनमा उनले काम गरे भने कालिबहादुर गणको गणपति हुँदा १ फागुन २०४६ देखि २५ भदौ २०४७ सम्म पनि सोही मिसनमा खटिए ।

खड्का चिफ डिफेन्स सेमिनारका लागि नेपालबाट प्रतिनिधिका रुपमा अमेरिकाको हवाई र इण्डोनेसियाको बालीमा दुई पटक सहभागी भएका छन् भने सैनिक कार्यकै दौरान ५० मुलुकमा भ्रमण गरेका छन् । खड्काले सुदुरपश्चिम पृतनाको कमाण्ड पनि गरेका थिए भने राष्ट्रिय सुरक्षा परिषदमा बसेर पनि काम गरिसकेका थिए ।

उनका छोरा प्रवीण पनि सेनाका पूर्वमेजर हुन् । कटवाल प्रकरणको केही समयपछि उनले राजीनामा दिएका थिए । संयुक्त राष्ट्र संघमा जागिर पाएपछि उनले राजीनामा दिएको भनिएको थियो, उनले अमेरिकाको न्युयोर्क युनिभर्सिटीबाट अर्थ राजनीतिसम्बन्धी विषयमा विद्यावारिधि गरेका छन्।

खड्काकी छोरी विशखा एक अन्तर्राष्ट्रिय कम्पनीमा काम गर्छिन् ।

कटवाल प्रकरणको सत्य कथा लेख्ने इच्छा अधुरै    

पूर्वसेनापति कटवाल र छत्रमानसिंह गुरुङले लेखेको आत्मकथामा खड्का खलपात्रको रुपमा चित्रित छन् । कटवालको ठाउँमा सरकारले उनलाई स्थापित गर्न खोजेकाले कटवालले उनलाई राम्रो नजरले हेर्ने कुरै भएन । खड्काको पनि कटवालप्रति रिस थियो तर, संगठनलाई भने उनले सधैँ माया र सम्मान गरेको निकटस्थहरु बताउँछन् ।

गुरुङ र खड्का सहपाठी पनि हुन् । त्रि–चन्द्र कलेजमा उनीहरुले सँगै अध्ययन गरेको ‘जनताको छोरो’ नामक पुस्तकमा उल्लेख छ । रथी हुनु अघिसम्म खड्काको सम्मानित छवि कटवाल प्रकरणले धुमिल बनायो । उनले कोपभाजनमा पारेर आफूलाई आरोपित बनाइएको भन्दै सधैँ गुनासो गरिरहे ।

उनी भन्थे, ‘अरुले जस्तो आत्मकथा लेखेर म आफूलाई महान् त देखाउँदिन तर, कटवाल प्रकरणको तथ्य कथाचाहिँ लेख्छु ।’ तर, प्रकरणबारे लेख्न नपाई पूर्वजर्नेल खड्का ब्रम्हलीन भएको आज शनिबार १३ दिन पुगेको छ ।

भनिन्छ, इतिहास जित्नेहरुको लेखिन्छ ! इतिहासको कोपभाजनमा परेर ‘पराजित’ बनेका खड्काको इतिहास अब कसले लेख्ला ?

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?