Comments Add Comment

अस्पतालको चक्कर काट्दाकाट्दै ज्यान गुमाएकी महिलामा कोरोना संक्रमण पुष्टि

Photo Credit : अजित भुजेल

२५ साउन, वीरगञ्ज । वीरगञ्जमा अस्पतालको चक्कर काट्दाकाट्दै मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मृतक वीरगञ्ज–२ छपकैया बस्ने २० वर्षीया महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

योसँगै साउन महिनामा मात्रै पर्सामा कोरोनाले ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । यीबाहेक एउटा बेवारिसे शवमा पनि कोरोना पुष्टि भएको थियो । यसैगरी बाराका २ जना र रौतहटका १ जनाको पनि कोरोना संक्रमणबाट वीरगञ्जमै मृत्यु भएको थियो ।

स्वास्थ्यमा समस्या भएपछि २० वर्षीया ती महिलालाई उपचारका लागि आफन्तजनले अस्पतालमा शुक्रबार रातभर वीरगञ्जका विभिन्न अस्पताल डुलाएका थिए । आधा दर्जन अस्पतालको ढोका ढकढकाउँदा समेत कुनै पनि अस्पतालले विरामी भर्ना गर्न नमानेपछि अन्त्यमा शनिबार बिहान २ बजेतिर नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो । अस्पतालमा उपचार शुरु गरिएको केहीबेरमै मृत घोषणा गरिएको थियो ।

वैदेशिक रोजगारीमा गएका श्रीमानले बेवास्ता गरेपछि उनी ज्याला मजदुरी गरेर ४ वर्षीया छोरीसहित वीरगञ्ज बस्दै आएकी थिइन् ।

नारायणीसहित वीरगञ्जका अधिकांश निजी अस्पतालले भर्ना नलिएकै कारण उनको मृत्यु भएको आरोप आफन्तजनले लगाएका छन् । कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंह अस्पतालमा आइपुग्दा नै उनी अन्तिम अवस्थामा पुगेकाले बचाउन नसकिएको बताउँछन् ।

पछिल्लो समयमा वीरगञ्जको नारायणी लगायत निजी अस्पतालले कोभिडको आशंकामा ज्वरो आएको र स्वास प्रश्वासमा समस्या देखिएका विरामीका विभिन्न बहानामा उपचार नगरी फर्काउने गरेका छन् । पछिल्लो तीन दिनमा मात्रै यस्ता चार वटा घटना सार्वजनिक भएका छन् ।

शनिबार वीरगञ्ज राधेमाईका ७५ वर्षीय वृद्धको पनि उपचार नपाएरै मृत्यु भएको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment