Comments Add Comment

पर्सामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

२६ साउन, वीरगञ्ज । पर्सामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै पर्सामा कोरोना संक्रमितको संख्या १ हजार ५० पुगेको छ ।

संक्रमितमध्ये ६ जना महिला छन् । गण्डक अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको वीरगञ्ज-१५ भेडियाहीकी ४५ वर्षीया महिला पनि संक्रमितको सूचीमा छिन् ।

आइतबार राति संक्रमण पुष्टि भएकामध्ये मगनुस फर्मामा कार्यरत ३६ र ४० वर्षीय पुरुष तथा ४८ वर्षीया महिला छन् ।

पर्साको पोखरिया नगरपालिका-१ का ५२ वर्षीय पुरुष, पोखरिया अस्पतालमा कार्यरत २५ वर्षीय चिकित्सक र २३ वर्षीय पुरुष तथा २२ वर्षीया महिला स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ ।

छाती दुखेर पीसीआर गराउन गएका वीरगञ्ज ओम आश्रम श्रीपुरका १८ वर्षीय युवक र ज्वरो आएर पीसीआर गराएका वीरगञ्ज-२ छपकैयाका ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

वीरगञ्ज रेल्वेरोड बस्ने ५० वर्षीय पुरुष, वीरगञ्ज-११ श्रीपुरका २२ र २७ वर्षीय पुरुष तथा ५० वर्षीया महिलामा कोरोना देखिएको छ ।

वीरगञ्ज-१२ का ३५/३५ वर्षका पुरुष र महिला तथा वीरगञ्ज-१६ नगवाका ५० वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत २२, २९, २६ र ३५ वर्षीय पुरुषमा कोरोना देखिएको छ । बारा घर भई वीरगञ्जको नारायणी अस्पतालको मेडिकल वार्डमा कार्यरत २० वर्षीया युवतीमा समेत कोरोना देखिएको छ ।

अस्पतालमा १४६ जनाको उपचार जारी, अस्पताल बाहिर ३९०

नारायणी अस्पतालअन्तर्गत स्थापना गरिएका दुई वटा अस्थायी कोभिड अस्पतालमा १ सय ४६ जना संक्रमित उपचाररत छन् । जसमध्ये ३३ जनालाई आईसीयुमै राखेर भइरहेको छ ।

वीरगञ्जको त्रिजुद्ध स्कुलमा १५ जना, कारागार आइसोलेसनमा ३८ जना, सिद्धार्थ स्कुल आइसोलेसनमा ३६ जना, विजयज्योती होटलमा ४ जना, वीरगञ्ज कलवार धर्मशालामा ३५ जना, पटेर्वासुगौलीमा ५ जना, नारायणी बयोधा अस्पतालमा १५ जना, रानी पोखरी होटलमा ३५ जना, राणीसती धर्मशालामा ४९ जना गरी २ सय ३२ जना संक्रमितलाई राखिएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार अझै ७ सय ८८ जनाको रिपोर्ट आउन बाँकी छ । अस्पतालको आइसोलेसन बाहिर ३ सय ९० जना छन् ।

वीरगञ्ज महानगरपालिकामा ३ सय ५१ जना, बहुदरमाई नगरपालिकामा २९ जना, पर्सागढीमा ५ जना, छिपहरमाईमा २ र भारतीय महावाणिज्य दूतावासभित्र ३ जना संक्रमित छन् । स्थानीय प्रशासनले उनीहरुलाई होम आइसोलेसनमा राखेको भनेपनि उनीहरुले होम आइसोलसनको मापदण्ड प्रभावकारी रुपमा पालना गरे-नगरेको निगरानी हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment