Comments Add Comment

मेयर पराजुली भन्छन्- असहयोग अति भो, पीसीआर गर्न क–कसको चाकडी गर्नुपर्ने ?

पहुँचवालाको रिपोर्ट तुरुन्तै, सर्वसाधारणको चार दिनपछि !

२७ साउन, विराटनगर । कोरोना परीक्षणमा प्रदेश सरकारले विभेद गरेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताएका छन् । महानगरपालिकाले संकलन गरेको स्वाब परीक्षण ढिलो भएपछि मेयर पराजुलीले विभेद गरेको बताएका हुन् ।

‘स्वाब संकलन गरेको चार दिनसम्म रिपोर्ट आँउदैन, छिटो गरौं न भन्न कतै बाँकी छैन,’ मेयर पराजुलीले भने, ‘पीसीआर चाँडो गराइदिनु पर्याे भनेर क–कसलाई चाकडी गर्नुपर्ने हो ? हरेक कुरामा असहयोग, यो त अति भो ।’

विराटनगर महानगरपालिकाले २२ गते संकलन गरेको स्वाबको रिपोर्ट आउन बाँकी रहेको उनको गुनासो छ । तर पहुँचवालाको रिपोर्ट भने तुरुन्तै आउँछ । अन्य क्षेत्रबाट आएको स्वाब परीक्षण प्राथमिकतामा परेपनि महानगरभित्र संकलन भएको स्वाब परीक्षणमा ढिलाइ भएको उनको गुनासो छ ।

‘हामीसँग प्रयोगशाला छैन, प्रयोगशाला प्रदेश र संघ मातहत छन्,’ उनले भने, ‘चाँडो गरिदिनुपर्याे भनेर मुख्यमन्त्रीज्यूलाई भनें, सीसीएमसीको बैठकमा पनि कुरा उठाएँ, सामाजिक विकास मन्त्री र आन्तरिक मामिला मन्त्रीलाई पनि आग्रह गरेको छु तर प्राथमिकतामा पर्दैन ।’

विराटनगरमा कोरोना संक्रमण दर उच्च छ । समुदायस्तरमा भेटिएको संक्रमण जाँचका लागि प्रदेश सरकारले असहयोग गरेको उनको गुनासो छ ।

पहुँचवालाको तुरुन्तै

केही दिनअघि प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कोरोना जाँचका लागि स्वाब संकलन गरे । उनको रिपोर्ट आउन २४ घण्टा पनि लागेन । लगत्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका कर्मचारीको जाँच हुँदा रिपोर्ट आउन धेरै समय लागेन । आइतबार जिल्ला अदालतका कर्मचारीको संकलन गरेको स्वाबको रिपोर्ट सोमबार बिहानै आइपुग्यो । तर सर्वसाधारणको कोरोना जाँचको रिपोर्ट आउन कम्तिमा चार दिन लाग्छ ।

विराटनगरका पत्रकार जितेन्द्र ठाकुरको रिपोर्ट चार दिनपछि मात्र आयो । तर चार दिनभन्दा धेरै भइसक्दा पनि वरिष्ठ पत्रकार मोहन भण्डारीको रिपोर्ट आएको छैन । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षणका लागि दिएका भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सरकारी सेवा कति प्रभावकारी । पीसीआर टेष्टको रिपोर्ट कि मानिस निको भएपछि आउँछ, कि मरेपछि आउँछ । योभन्दा कति राम्रो सेवा हुने ।’

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार महानगरले दैनिक सरदर १५० देखि २०० जनाको पीसीआर जाँचका लागि नमुना संकलन गर्दै आएको छ । महानगरले संकलन गरेको नमुना प्रदेश जनस्वास्थ्य प्रयोगशाला र कोशी अस्पताल विराटनगरमा परीक्षण हुन्छ । तर महानगरले संकलन गरेका १८ साउनदेखिका केही नमुनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए । ‘सरदर २५० नमुनाको रिपोर्ट आउन बाँकी छ,’ कार्कीले भने, ‘साउन १८ देखि थोरै–थोरै पेण्डिङ भएर बसेका छन् ।’

संकलन गरेको नमुना जाँचमा ढिलाइ हुँदा संक्रमणको जोखिम बढ्ने उनले बताए । पछिल्लो समय देखिएका सिम्टोमेटिक केसको रिपोर्ट पनि ढिलो आउँदा उपचारमा कठिनाइ भएको उनको गुनासो छ ।

थप २३ जनामा कोरोना संक्रमण पुष्टि 

विराटनगरमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार राति २३ जना संक्रमित थपिएका हुन् ।

योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ३१६ पुगेको छ । तीमध्ये ६९ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमणका कारण विराटनगरमा चार जनाको मृत्यु भइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment