Comments Add Comment

नियात्रा : जनै फेर्न जटापोखरीको यात्रा

बुबा–आमाले २०५४ सालमा गरेको जटापोखरी यात्राको वर्णन मेरा लागि सधैं रोमाञ्चकारी रहरको विषय बनेर रहेको थियो । यसपटक जनै पूर्णिमा (१९ साउन) मेलाको अवसरमा मैले पनि त्यो रहर पूरा गर्ने निधो गरेँ ।

दोलखाको तामाकोशी गाउँपालिका– ६, च्यामाबाट बाटो लाग्नुअघिका केही दिन टिम बनाउन र आवश्यक तयारी गर्नमा बित्यो । यात्रामा चाहिने टेन्ट, म्याट र ब्लांकेटदेखि नौ जनालाई चार दिन पुग्ने खानेकुरासम्मको व्यवस्था गरियो ।

१७ गते विहान ७ बजे घरबाट दुई घण्टा हिँडेर वडा नम्बर ७ स्थित मेरी दिदीको घर खाना खान पुगियो । त्यहाँबाट झाक्रेखोला पुल तरेर, ओरालै ओरालो झरेर दोलखा र रामेछाप छुट्याएर सुसाइरहेको खिम्ति खोला पुग्यौँ । यही खिम्तिको उद्गम स्थल हाम्रो यात्राको गन्तव्य थियो ।

खिम्ति पुग्दा बाटामा तीर्थयात्रीको संख्या बाक्लिन थालेको थियो । हामी हाँसखेल गर्दै, धेरैलाई उछिन्दै अघि बढिरह्यौँ । केही घन्टामै हामी रामेछापको गोकुलगंगा गाउँपालिकाको रस्नालुमा थियौँ ।

रस्नालुको उकालो काटेपछि तेर्सैतेर्सो धारापानी भन्ने ठाउँ पुग्यौँ । त्यहाँ केहीबेर सुस्ताएर रामेछापको ठोसेतर्फ लाग्यौं । ठोसे बजारमा खाजा खाइयो । त्यहाँ पढाइ कस्तो छ कुन्नि, तर ठोसेको शारदा माध्यमिक विद्यालयको भौतिक संरचना भने मन लोभ्याउने किसिमको रहेछ ।

ठोसेमा घाम विस्तारै ओरालो लाग्दै थियो, हामी गफिदै खिम्तिको किनारै किनार केहीबेर हिँडेर शिवालय पुग्यौं । सानो र सफासुग्घर शिवालय बजारले हामीलाई केहीबेर रोक्यो । खिम्तिको नामले चिनिने खोला त्यहाँबाट ‘गोकुल’ कहलिन थाल्यो । हामी रामेछापको गोकुलगंगा गाउँपालिका–१, चुचुरे प्रवेश गरिसकेका रहेछौँ ।

हरिया फाँट र चरिचरनले भरिएको चुचुरे हेर्दै हामी समुद्री सतहबाट १२१७ मिटर उचाइमा रहेको गर्जाङ बजार पुग्यौं । गर्जाङ पनि फाँटको बिचमा रहेछ । हामीलाई गर्जाङले लोभ्याइरहेको थियो, तर भोलिको बाटो छोट्याउनु पर्ने हुनाले पाँच बजिसकेको भएपनि अघि बढ्यौँ ।

गर्जाङ छाडेको ठीक दुई घन्टामा खरेखोला पुगियो । त्यो नै हाम्रो गन्तव्य स्थलमा पर्ने अन्तिम मानव वस्ती थियो । धेरै तीर्थयात्री रहेका कारण त्यहाँ बास पाउन हम्मे थियो । धन्न, एउटा घर भेटियो, जसमा आफ्नै ओढ्नेओछ्याउने भएकालाई छानोको व्यवस्था थियो । जन्तिलाई खुवाउने बेहुली भतेर झैं तयार गरेको खाना खायौँ अनि त्यहीँ रात काट्यौँ ।

थकित ज्यान, गतिलै निन्द्रा लागेछ । विहान योजनाभन्दा १ घण्टा ढिला ५ बजे उठेर यात्रा सुरु गर्यौं  । अब भने साँघुरो बाटोमा धेरै भिडभाड हुने संकेत देखियो ।

निर्माणाधीन गर्जाङ हाइड्रोपावर लिमिटेडको पाइपलाइनको बाटो हुँदै घ्वाङखोलास्थित बाँध क्षेत्र पुग्दा बाटो पूरै उकालो हुने छाँट देखियो । अघिल्लो दिनदेखि साथ दिइरहेको विभिन्न नामले चिनिने खोला अब हामीलाई जटापोखरीमै भेटौंला है भन्दै हात हल्लाउन थाल्यो ।

हामीभन्दा अघि र पछि हजारौँ तीर्थालुको लस्कर छ । जति माथि पुग्यो त्यति सुन्दर ठाउँ आइरहेको छ । यात्रा भने विस्तारै कष्टकर बन्दै गयो । यहाँबाट मानेडाँडा पुग्न ६ घण्टा उकालो चढ्नु पर्नेछ । करिव ३ घण्टा उकालिएपछि ३,१८० मिटर उचाइको पानीपाखा पुगियो । विहानदेखि उकालै उकालो ८ घण्टाको हिँडाइपछि ३,९३७ मिटरको मानेडाँडा पुगियो ।

मानेडाँडाको चौँरी गोठहरुमा चिया र थुक्पा खान पाइँदोरहेछ । हामीले भने चौँरीको दूध पियौं ।

मानेडाँडाबाट तेर्सैतेर्सो, तर निकै साँघुरो बाटो रहेछ । परिदृष्य भने झन् रमाइलो । हामी ५ बजेतिर पुग्दा ४,२५० मिटर उचाइमा रहेको जटापोखरीलाई कुहिरोले लुकाएको थियो । हामी जति नजिक पुग्दै गयौं, उती नै कुहिरो फाट्दै गयो । कुहिरो जति फाट्दै गयो, उती नै हामीले आँखाको लेन्सबाट सम्पूर्ण सौन्दर्यसहित जटापोखरीलाई मस्तिष्कमा उतार्दै गयौं ।

माथिल्लो भूभागको पत्रे चट्टानको थुम्का–थुम्काले घेरिएर बसेको जटापोखरी दर्शनले दुईदिने यात्राको थकानलाई हावाले कुहिरोलाई जसरी हटाइदियो । हाम्रो तनमन रमाइरहेको थियो ।

विस्तारै रात पर्दै थियो । हामीले टेण्टका तानावाना मिलाएर त्यसभित्रै भोजनको मेसो मिलायौं । रातभरजस्तो झरी परिरह्यो । साउन शुक्ल पूर्णिमामा जनै फेर्न आएका तीर्थालुहरु सिमसिमे व्रह्ममुहूर्तदेखि नै पोखरीमा पस्न थाले ।

हामी पनि नुहाएर विधिवत यज्ञपवित (जनै) धारण गरेर पोखरीमा सदबीउ छर्दै महादेवको पुकारामा लाग्यौं । यसरी धरतीको स्वर्ग हेर्ने वर्षौं पुरानो कामना पूरा भयो यो साउनमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment