Comments Add Comment

देउवाले गठन गरेका विभाग खारेज गर्न १२ केन्द्रीय नेताको माग

'मनोगत चाहनामा पार्टी चलाउने विशेषाधिकार सभापतिलाई छैन'

२७ साउन, काठमाडौं । नेपाली कांग्रेसका १२ जना केन्द्रीय नेताले सभापति शेरबहादुर देउवाले हालै गठन गरेका पार्टीका विभिन्न विभाग खारेज गर्न माग गरेका छन् ।

मंगलबार विज्ञप्ति निकालेर नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाइँ, रामकृष्ण यादव र किरण यादवले गठन गरेका विभाग खारेज गर्न र नयाँ गठन नगर्न सभापति देउवालाई आग्रह गरेका छन् ।

पार्टीका सबै तहको महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विभाग गठन र विभिन्न नियुक्ति गर्नुले महाधिवेशनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको भन्दै उनीहरुले यो काम आचारसंहिताको ठाडो उलंघन भएको पनि बताएका छन् ।

पार्टी सभापति विधानको संरक्षक, पालक र कार्यान्वयनकर्ता हो भन्दै नेताहरुले कस्तो कांग्रेस बनाउने, विधिको पालनाको सुनिश्चितता कसरी गर्ने र नयाँ पुस्तालाई आन्तरिक लोकतन्त्रको पूर्ण अभ्यास स्थापित भएको पार्टी हस्तान्तरण कसरी गर्ने भन्ने दायित्व देउवाकै भएको बताएका छन् ।

‘सभापति व्यक्ति होइन, संस्था हो, उहाँसँग पार्टीलाई गुट उपगुटमा विभाजित रहन दिएर कांग्रेसको इतिहास, बिरासत, परिम्परा र पद्धतिलाई उल्लंघन गर्ने सुविधा छैन’ नेताहरुले भनेका छन् ।

अस्वस्थ भागवण्डालाई संस्कृति बनाएर पार्टीका संघर्षशील नेता कार्यकर्तालाई समान अवसर र न्यायबाट वञ्चित गर्ने अधिकार पनि सभापति देउवासँग नभएको उनीहरुले बताएका छन् ।

‘सिद्धान्त र व्यवहारको पटक्कै तालमेल नहुने गरी मनोगत चाहनामा पार्टी चलाउने विशेषाधिकार पनि छैन, आफ्ना समकालीन साथीहरु र पार्टीको ठूलो पंक्तिको चित्त दुखाएर एक्लै हिँड्ने सहुलियत पनि छैन,’ नेताहरुले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment