Comments Add Comment

बारामा स्थानीय तहहरुले पीसीआर मेसिन खरिद गर्ने

२७ साउन, वीरगञ्ज । बारामा स्थानीय तहले रकम उठाएर कोरोना संक्रमण परीक्षणका लागि पीसीआर मेसिन खरिद गर्ने भएका छन् ।

मेसिन खरिद तथा सञ्चालन व्यवस्थापनका लागि करिब २ करोड रुपैयाँ लाग्ने अनुमान गरी बैठकले उपमहानगरपालिकाले १४.५ प्रतिशत, नगरपालिकाले ७ प्रतिशत र गाउँपालिकाले ४ प्रतिशतका दरले रकम व्यहोर्ने सहमति पनि उनीहरले गरेका छन् । बारामा दुईवटा उपमहानगरपालिका, ५ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेका छन् ।

मंगलबार स्थानीय प्रशासन, जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख र प्रमुख राजनीतिक दलको संयुक्त बैठकले जिल्लामा नै कोरोना संक्रमण परीक्षण गर्नेसहितका ७ निर्णय गरेको छ ।

प्रयोगशालामा परीक्षण गर्नका लागि जनशक्ति व्यवस्थापन जिल्ला स्वास्थ्य कार्यालयले गर्ने, स्वाब परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्जसँग समझदारी गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सुरक्षा निकाय तथा सरकारी कर्मचारीक लागि २ हजार थान भीटीएम प्रदेश विपद व्यवस्थापन कोषबाट खरिद गर्ने, स्थानीय तहमा परीक्षण गर्न उपमहानगरपालिकाले४ हजार थान, नगरपालिकाले २ हजार र गाउँपालिकाले १ हजार थान भीटीएम खरिद गर्ने निर्णय पनि गरेको छ ।

सेल्फ पेड आइसोलेसन सेन्टरका लागि होटलहरुलाई अनुमति दिन प्रक्रिया शुरु गर्ने निर्णय पनि बैठकले गरेको छ ।

पथलैयामा प्रदेश स्तरीय आइसोलेसन

बैठकले पथलैयास्थित स्वास्थ्य तालिम केन्द्रको भवनमा प्रदेश स्तरीय आइसोलेसन निर्माण गर्ने निर्णय गरेको छ । पर्सा, बारा, रौतहट क्लस्टरका लागि आइसोलेसन पूर्वाधारका लागि प्रदेश सरकारले १ करोड ७० लाख दिने घोषणा यसअघि नै गरिसकेको छ ।

तालिम केन्द्रको भवनमा १ सय बेडको आइसोलेसन, चिकित्सक कक्ष, क्यान्टिन तथा सुरक्षाकर्मीका लागि आवास पूर्वाधार तयार गर्ने पनि निर्णय गरेको छ ।

त्यहाँ जीतपुर सिमरा २ मा सञ्चालन रहेको क्वारेन्टिन केन्द्रका मानिसलाई सारेर खाली भएको ठाउँमा ३ सय बेड क्षमताको आइसोलेसन सेन्टर बनाउने, ४ सय बेड आइसोलेसनका लागि आवश्यक स्वास्थ्यसम्बन्धी जनशक्तिको माग सामाजिक विकास मन्त्रालयसँग गर्ने, आइसोलेसन सेन्टर सञ्चालन र व्यवस्थापन लागि ४० लाख रुपैयाँ प्रदेश सरकारसँग माग गर्ने निर्णय बैठकले गरेको छ ।

बारामा पनि संक्रमित भेटिने क्रम शुरु भएपछि साउन १८ गतेदेखि निषेधाज्ञा जारी छ । सोमबारमात्रै १८ जना संक्रमित थपिएको बाराको कलैयास्थित गंगापुर आइसोलेसन केन्द्रमा ७२ जनालाई राखिएको छ ।

स्थान अभावका कारण २२ जना आइसोलेसन केन्द्र बाहिर छन् । पचारौता नगरपालिका, देवताल गाउँपालिका, कोल्हवी नगरपालिका, जीतपुर सिमरा तथा कलैया उपमहानगरपालिकामा एकैपटक ठूलो संख्यामा संक्रमित भेटिन थालेकाले सबै स्थानीय तहले आइसोलेसनको प्रबन्ध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment