+
+
Shares

देवघाट क्षेत्र विकास समितिका अध्यक्षमा कोरोना देखिएपछि देवघाट गाउँपालिका सिल 

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २८ गते १८:१३

२८ साउन, चितवन । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई कोरोना संक्रमण देखिएपछि तनहुँको देवघाट गाउँपालिका सिल गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले अनलाइनखबरसँग कुरा गर्दै गाउँपालिका क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने देखिएकाले गाउँपालिका क्षेत्र एक साताका लागि सिल गर्ने निर्णय गरिएको बताए ।

अध्यक्ष थापाका अनुसार बिहीबारदेखि एक साता गाउँपालिका क्षेत्र सिल गर्ने निर्णयको जानकारी जिल्ला प्रशासन कार्यालयमा लेखेर पठाइएको छ ।

चितवनको भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलसहित दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

गाउँपालिकामा दुई जना मात्रै संक्रमित छन् । दुई जनालाई संक्रमण हुँदैमा गाउँपालिका नै सिल गर्नुपर्ने अवस्था किन आयो भन्ने प्रश्नमा अध्यक्ष थापाले भने, ‘क्षेत्र विकास समितिको अध्यक्ष सामाजिक व्यक्तित्व हुनुहुन्छ उहाँ धेरै बैठकहरुमा भाग पनि लिनुभएको देखिन्छ, थप संक्रमण फैलिन नपाओस् भनेर सिल गरिएको हो, विद्यालय लगायतका सबै कुरा बन्द नै छन् के भयो र ?’

क्षेत्र विकास समितिका अध्यक्ष पौडेलसँग सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङको काम भइरहेको उनले बताए ।

पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए । उनले आफ्नो स्वास्थ्यमा कुनै समस्या नआएको र आफू ठिक अवस्थामा रहेका बताएका छन् ।

आफ्नो स्वास्थ्यलाई लिएर चिन्ता नलिन आग्रह गर्दै आफूसँग पछिल्ला केहीदिन यता सम्पर्कमा आएकाहरुलाई क्वारेन्टिनमा बसिदिन र कोरोना परीक्षण गराउन आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?