Comments Add Comment

बारामा महिलामाथि कुटपिट गर्नेविरुद्ध प्रहरीले कारबाही नगरेको गुनासो

२८ साउन, वीरगञ्ज । साउन ९ गते राति साढे ७ बजे कलैया उपमहानगरपालिका–९ रामपुर पूर्व टोलस्थित सार्वजनिक सडकमा स्थानीय ३४ वर्षीया जयनब खातुनमाथि कुटपिट भयो । जग्गा विवादमा  छिमेकीले नै जयनबलाई घरको ढोकाबाट तानेर सडकमा लगि निर्घात कुटपिट गरेको पीडित परिवारको आरोप छ ।

जयनब चिच्याउन थालेपछि देउरानी फतमा खातुन र छोरी जयनुब नेसा बचाउन गएका थिए । केही व्यक्तिहरुले जयनबलाई कुटिरहेका थिए ।

छुट्याउन गएका व्यक्तिहरुलाई समेत उनीहरुले कुटपीट गरेकाे पीडित परिवारको आरोप छ । जयनबका श्रीमान वैदेशिक रोजगारीका क्रममा बाहिर छन् । गाउँलेले उनीहरुमाथि कुटपिट भइरहेको देखेपछि छुटाएर जयनबलाई उपचारका लागि कलैया अस्पताल पठाए ।

कुटपिटबाट गम्भीर घाइते उनको त्यहाँ उपचार हुन सकेन । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा थप उपचारका लागि ल्याइयो । जयनबको टाउको, संवेदनशील अंगलगायत शरीरका विभिन्न भागमा चोट लागेको परिवारका सदस्यहरुले बताएका छन् । अस्पतालमा दुई हप्ता बसेपछि उनी घर फर्केकी छन् ।

स्थानीय २५ वर्षीय अब्दुल रहमान अन्सारी, २३ वर्षीय कलाम अन्सारी र २२ वर्षीय भोला भन्ने अरवाज अन्सारीले जयनबलाई कुटपिट गरेको जयनब पक्षको आरोप छ ।

कुटपिटमा संलग्न आरोपीहरुले जयनबको सानु तिलहरी, चार आना सुनको नाकको फुली र कानमा लगाइएको सुनको टप समेत गरी १ लाख १७ हजार ५ सय रुपैयाँ बराबरको सामान समेत लुटेको आरोप उनीहरुले लगाएका छन् ।

जयनबको जेठाजु जन्मदिन मियाँले घटनाबारे सबै विवरण खुलाएर जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिँदा प्रहरीले दर्ता गर्न नमानेको गुनासो उनीहरुले गरेका छन् । प्रहरी राजनीतिक प्रभावमा परेर आरोपीहरु विरुद्ध अभद्र व्यवहार मुद्धामा जाहेरी लिन नमानेको जन्मदिन बताउँछन् ।

प्रहरीले जाहेरी लिन नमानेपछि साउन १६ गते हुलाक सेवाबाट जाहेरी दर्खास्त दिइएको छ । आरओ ७७०२८३२३७ एनपी नम्बरको पत्र बुझे पनि कारबाही प्रक्रिया अगाडि बढाएको छैन ।

जिल्ला सरकारी वकिलको कार्यालय बाराले पनि साउन २१ गते जाहेरी दर्खास्त जिल्ला प्रहरी कार्यालय बारामा पठाएको छ । जिल्ला न्यायधिवक्ता महेन्द्रबहादुर थापाले जन्मदिन मियाँले कलैया–९ बस्ने सिकिन्दर अन्सारीको छोरा २२ वर्षीय भोला भन्ने अरवाज अन्सारी समेतलाई प्रतिवादी बनाई दिएको अभद्र व्यवहार मुद्धाको जाहेरी कारबाहीका लागि पठाएका हुन् ।

कलैया अस्पतालबाट कुटपिटबाट गम्भीर घाइते भएकी जयनब, सामान्य फतमा र जयनुबको घाउ जाँच रिपोर्ट कलैया अस्पतालले प्रहरीकोमा पठाइसकेको छ । तर प्रहरीले अभियुक्तहरुलाई पक्राउ गरी कारबाही गर्नुको साटो मिल्न दबाव दिइरहको जन्मदिनले गुनासो गरे ।

‘साउन ९ गतेको घटना हो, घाइते अझैपनि अस्पतालमा उपचाररत नै छन् । आरोपीहरु विरुद्ध किटानी जाहेरी दिँदा पनि कारबाही गर्नुको साटो प्रहरीले मिलेर जानुपर्छ भनेर दबाव दिइरहेको छ,’ उनले भने, ‘ मुद्धा दर्ता गरेर अनुसन्धान गर्नुस, दोषीलाई कारबाही गरेर हामीलाई न्याय दिनुस् भनेका छौं । उनीहरु सुनिरहेका छैनन् ।’

तर प्रहरीले भने घटनामा महिलालाई कुटपीट मात्रै गरेको भन्दा पनि दुवैपक्षबीच झडप भएको बताएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले कलैया–९ मा दुई पक्षबीच भएको झै-झगडाको घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।

‘आपसी विवादमा दुवैपक्षबीच झडप भएको हो । कुनै एउटा पक्ष निर्दोष र अर्को पक्ष दोषी भन्ने छैन । दुवैतिरका महिला पुरुष सामान्य घाइते छन्,’ उनले भने, ‘ उनीहरुबीच पहिलेदेखि नै जग्गा विषयमा पनि विवाद रहेछ । दुवैतिरबाट एक अर्को पक्षविरुद्ध उजुरी आएको छ । घाउ जाँच केस फारम संकलन गरेर थप अनुसन्धान गरिरहेका छौं ।’

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले प्रहरीले उजुरी नै नलिएको भन्ने आरोपमा सत्यता नभएको बताए ।

‘प्रहरीले उजुरी लिएन भन्ने आरोपमा सत्यता छैन, प्रहरीले उजुरी लिएर नै अनुसन्धान र कारबाही गर्ने हो,’ एसपी पंगेनीले भने, ‘विविध कारणले कारबाही प्रक्रियामा समय लागेको हुन सक्छ । दोहोरो झडपको विषय छ । दुवै पक्ष बराबरी दोषी छन् भने छलफलबाट समस्याको समाधान निकाल्न आग्रह गर्ने गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment