Comments Add Comment

११ वर्षपछि सूर्यमा ठूलो हलचल, पृथ्वीलाई खतरा !

काठमाडौं । कोरोना भाइरसका कारण अहिले संसारका धेरै देशहरु लकडाउनमा छन् । तर वैज्ञानिक भाषामा भन्नुपर्दा संसारलाई उज्यालो बनाउने सूर्य विगत ११ वर्षदेखि नै लकडाउनमा थियो । अन्ततः अहिले सूर्य लकडाउनबाट बाहिर निस्किएको छ, अर्थात् सूर्य जागेको छ ।

सूर्यमा एउटा विशाल धब्बा अर्थात् सौर्य धब्बा देखा परेको छ । उक्त धब्बा यति ठूलो छ कि यसबाट निस्कने सौर्य ज्वालाले पृथ्वीलाई समेत नोक्सान पुराउन सक्दछ ।

वैज्ञानिकहरुका अनुसार सौर्यज्वाला अर्थात् सोलार फ्लेयर्सका कारण पृथ्वीको भूउपग्रह जडित सञ्चार व्यवस्थामा बाधा उत्पन्न हुने खतरा छ । अर्थात् स्याटेलाइट कम्युनिकेसनमा असर पर्न सक्दछ । साथै नेभिगेसनमा समेत समस्या आउन सक्ने र यसले हवाई तथा समुद्री यातायातमा असर पर्नसक्ने वैज्ञानिकहरुको अनुमान छ ।

वैज्ञानिकहरुका अनुसार हरेक ११ वर्षमा सूर्यको सतहमा ठूलो परिवर्तन हुने गर्दछ । पछिल्लो ११ वर्षदेखि सूर्य शान्त थियो, जहाँ अहिले हलचल चलिरहेको छ । जसका कारण सूर्यमा ठूलो धब्बा देखा परेको हो ।

उक्त विशाल सनस्पट हाम्रो पृथ्वीतर्फ घुमेको देखिएको छ । सोही कारण यसबाट निस्कने सौर्यज्वाला पृथ्वीलाई हानिकारक हुनसक्ने अनुमान गरिएको हो ।

उक्त सनस्पटलाई AR2770 नाम दिइएको छ । आगामी दिनमा यसको आकार अझै ठूलो हुन सक्दछ । स्पेस वेदर डटकमको रिपोर्ट अनुसार उक्त सनस्पटबाट स–साना ज्वालाहरु पहिलेदेखि नै निस्किरहेका छन् ।

पृथ्वीतर्फ घुम्दा नै ती सनस्पटले पृथ्वीको वायुमण्डलमा आयनीकरणको लहर पैदा गरेको भए तापनि अहिलेसम्म कुनै ठूलो घटना भने भएको छैन । सनस्पटमा व्यापक चुम्बकीय शक्ति हुने हुनाले विशाल ऊर्जा पैदा हुन्छ र उक्त ऊर्जा सौर्य ज्वालाको रुपमा देखिन्छ । त्यसलाई कोरोना मास इजेक्सन पनि भनिन्छ । सूर्यको सबैभन्दा विशाल धब्बाको व्यास ५० हजार किलोमिटरसम्म हुने गरेको छ । त्यसभित्र बाट सूर्यको तातो प्लाज्मा बाहिर निस्कन्छ र त्यसको विस्फोटबाट सौर्यज्वाला पैदा हुन्छ ।

अमेरिकाको फ्लोरिडामा बस्ने खगोलविद मार्टिन वाइजले उक्त सौर्य धब्बाको तस्वीर खिच्न सफल भएका छन् । उक्त धब्बा मंगल ग्रहको आकार बराबर छ । उक्त धब्बाभित्र पनि अन्य कैयन् धब्बाहरु छन्, जो चन्द्रमाको सतहमा रहेका खाडलहरु जस्तै देखिन्छन् ।

वैज्ञानिकहरुका अनुसार सौर्य तुफानले अन्तरीक्षमा बहने विद्युत चुम्बकीय धारामा परिवर्तन ल्याइदिन सक्दछ । यसले पृथ्वीको चारैतर्फ विद्युत चुम्बकीय फिल्डमा इलेक्ट्रोन तथा प्रोटोनमा घटबढ गराउन सक्दछ । यसले विश्वको सञ्चार प्रणालीमा असर पर्न सक्दछ ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment