Comments Add Comment

कोभिड –१९ का विविध आयाम

समग्र विश्व र सत्तिसाली भनिएका मुलुकहरूनै हाल कोभिड सङ्क्रमणबाट थिलथिलो भएका छन् । विश्वभरि २ करोड ८ लाख भन्दा बढी संक्रमित भएका छन् भने ७ लाख ४७ हजार भन्दा बढीको ज्यान गइसकेको तथ्यांकले देखाउँछ ।

अमेरिकामा सबैभन्दा धेरै अर्थात् १ लाख ६९ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने सबैभन्दा बढी संक्रमित पनि सोही मुलुकमा रहेका छन् । अमेरिका पश्चात् ब्राजिल दोश्रो तथा छिमेकी मुलुक भारत तश्रो बढी संक्रमित हुने मुलुक हुन् । यसरी विश्लेषण गर्दा यस संक्रमणले दिन प्रतिदिन भयावह रूप लिँदै गइरहेको देखिन्छ ।

अर्को तथ्यांकलाई हेर्दा समग्र विश्वमा कोभिड-१९को संक्रमणबाट निको हुने औषत दर ६५.८८ प्रतिशत छ भने सार्क मुलुकको निको हुने औषत दर ७१.६१ प्रतिसत छ । सार्क मुलुकमध्ये पाकिस्तानको सबैभन्दा राम्रो अर्थात् निको हुने दर ९२.०५ प्रतिसत र भारतमा ७०.७९ प्रतिसत छ भने नेपालको निको हुने दर ६८.४७ प्रतिशत छ ।

अब यस माहामारीसँग जोडिएका अन्य सुक्ष्म कारणहरूले उत्पन्न आत्महत्या सम्बन्धी पक्षलाई पनि विश्लेषण गरौं ।

नेपाल प्रहरीको आर्थिक बर्ष २०७५/७६ को तथ्यांक अनुसार ५७८५ (३१२३ पुरुष, २२०३ महिला, १८९ बालक २७० बालिका) त्यसैगरी आर्थिक बर्ष २०७६/७७ को तथ्यांक अनुसार ४६०६ (२५५३ पुरुष, १६०९ महिला, १५९ बालक २८५ बालिका) जनाले आत्महत्या गरेको देखिन्छ ।

विगत सात आर्थिक वर्षको औषत दर हेर्ने हो भने लगभग ५००० को हाराहारी प्रत्येक वर्ष आत्महत्या गरेको पाइन्छ । यसलाई आधार मान्दा नेपालमा बन्दाबन्दीपछि साउनको पहिलो हप्तासम्म चार महिनाको अवधिमा मात्र आत्महत्याबाट मृत्यु हुने संख्या२२१८ भन्दा माथि पुगिसकेको तथ्यांकले देखाउँछ । कोभिड -१९ का कारणले मानसिक स्वास्थ्यमा बृहत रूपमा प्रभाव पारेको देखिन्छ । यसले आत्महत्याको संख्या अझ बढ्ने आंकलन गर्न सकिन्छ ।

कोभिड -१९ का कारणले सामाजिक, आर्थिक, राजनैतिक पक्षमा गम्भीर असर पारिरहेको छ । उध्योग, ब्यापार व्यवसाय ठप्प छन् । विदेशमा रहेका नेपालीहरूले रोजगारी गुमाउनुपरेका कारण स्वदेश फर्कने क्रम बढ्दो मात्रामा रहेको देखिन्छ, जसले रेमिट्यान्समा धेरै कमी आइरहेको छ । स्वदेश फर्कने युवाहरूमा भविष्यप्रति चिन्ता तथा रोजगारीसम्बन्धी अन्यौल छ ।

राज्यले केही गरेन मात्र भन्ने भन्दा पनि जनता पनि सचेत हुनु उत्तिकै आवश्यक छ । त्यसैले यसलाई गहिरिएर मनन् गरौं । व्यवहारमा परिवर्तन ल्याऊँ । हामीले हाम्रो अधिकारसँगै दायित्व पनि नबिर्सौं ।

यस्तो अवस्थामा दैनिक ज्याला गरेर हातमुख जोड्नुपर्ने अवस्था भएका धेरै मानिसहरू त झन् मारमा परेका छन् । विद्ध्यालय बन्द भएका कारण आफ्ना बालबालिकाहरूलाई रेखदेख गर्नुपर्ने र उनीहरूको भविष्यको चिन्ता पनि उत्तिकै छ । यस अवस्थामा घरेलु तथा लैङ्गिक हिंसाका घटनाहरूमा पनि वृद्धि भइरहेको विभिन्न तथ्यांक यवं प्रतिवेदनहरूले देखाएको छ । माथिका यी सबै कारणहरूले आत्महत्यालाई थप बढावा दिएको पाइन्छ ।

कोरोना माहामारीले निम्त्याएको बिपद्झैं अर्को अत्यन्तै प्राथमिकताको विषय प्राकृतिक विपद्सम्बन्धी तथ्यांकलाई पनि हेरौं । राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणको अनुसार वैशखदेखि श्रावण १२ सम्मको तथ्यांकअनुसार बाढी पहिरो र चट्याङ्बाट मृत्यु हुनेको संख्या १८४ छ भने १२६ जना बेपत्ता भएका छन् ।

माथिका ३ वटा पक्षर यसको तथ्यांकलाई बिश्लेषण गर्दा राज्यले एउटा पाटोलाई मात्र ध्यान दिई यससँग जोडिएका अन्य विविध पक्षहरूलाई पनि सँगसँगै नलग्ने हो भने कोभिड माहामारीबाट त केही समयपछि पार पाइएला । तर, कोभिडले जन्माएका अन्य विविध समस्यालाई सम्बोधन गर्न हाम्रो क्षमताले धान्ने देखिन्न । त्यसैले तलका केही न्युनीकरणका उपायहरू अपनाउन सकेमा समय सापेक्ष र प्रभावकारी हुने देखिन्छ ।

आत्महत्यामा न्युनीकरण तथा रोकथामका लागि समुदाय स्तरदेखि नै सबै सचेत हुनु र सचेत गराउनु आवश्यक देखिन्छ । आत्महत्याको प्रमुख कारण उदासीनता, जीवनमा असफलता, तनाव आदि भएकाले आफूलाई के कुराले तनाव दिएको छ, सोबारे आफ्नो मन मिल्ने व्यक्तिसँग आफ्नो मनको कुरा भन्ने बानीको बिकास गर्ने । नियमित खानपान तथा दिनचर्यामा ध्यान दिने ।

घरमै बसी नियमित ब्यायाम गर्ने, आफूलाई रमाइलो लाग्ने तथा खुसी हुने कार्य हरू गर्ने । यसो हाम्रो दिमागमा सकारात्मक सोच ल्याउने हर्मोनहरू सेरोटोनिन, डोपामाईन, इन्डोर्फिन आदि जस्ता हर्मोनहरू सक्रिय हुने हुँदा आत्महत्यासम्बन्धी सोचमा कमी आउने तनाव तथा अन्य भावनात्मक समस्यामा कमी आउँछ ।

त्यसैगरी आफूले आफ्नो संवेगलाई कम गर्न कोशिस गर्दा गर्दै पनि नसकिएमा मनोसामाजिक परामर्शदाताकोमा सम्पर्क गर्ने । अन्त्यमा यतिले पनि नभएमा वा आत्हत्याको सोच आइरहेमा मनोचिकित्सककोमा तुरुन्त सम्पर्क गर्ने गर्नुपर्दछ ।

साथै राज्यले पनि हालको प्रतिकुल अबस्थामा आत्महत्या नियन्त्रणको लागि विविध कार्यक्रमहरू मानसिक स्वास्थ्यका कार्यक्रममा जोड्दै लानुपर्ने देखिन्छ । यदि आवश्यक परेमा यसै क्षेत्रमा कार्य गर्दै आएका विज्ञहरू तथा संघसंस्थाहरूसँग छलफल गरी संयुक्त रूपमा कार्यक्रम को निर्माण गरी समुदाय स्तरमा कार्यन्वयन गर्नुपर्ने देखिन्छ ।

त्यसैगरी जनताका समग्र राज्यको आर्थिक स्तर माथि उकास्नका लागि आधुनिक कृषि प्रणालीका लागि ज्ञान सीपका साथै आर्थिक अनुदान सम्बन्धी कार्यक्रम, कृषि तथा घरेलु उद्ध्योगको प्रबर्धन, युवा लक्षित रोजगारमुलक कार्यक्रम लगायत वर्षैपिच्छे भोगिँदै आएको विपदलाई सम्बोधन गर्नका लागि विपदले गर्दा पार्ने जोखिमलाई कम गर्ने कार्यक्रमहरू जस्तैतटबन्ध निर्माण, दुरगामी असर पर्नेखालका उपकरणहरू जस्तैः डोजर, स्काभेटर आदिमा सकेसम्म कम गरी वातावरणमा असर नपर्ने गरी सडक निर्माण गर्ने, पहिरो जाने स्थानमा बढी जरा भएको र माटो पक्रन सक्नेखालको बृक्षारोपण गर्ने । कुनै पनि संरचना निर्माण गर्दा विपदबारे पहिलेनै विश्लेषण गरी थोरै थप लगानी गर्ने हो भने ठूला ठूला क्षतिहरू कम गर्न सकिन्छ ।

कोभिड-१९ का लक्षण ज्वरो आउने, खोकी लाग्ने, स्वास फेर्न गाह्रो हुने, गन्ध थाहा नहुने, स्वाद थाहा नहुने र हाल झाडापखाला लाई पनि मानिएको छ । अनिवार्यरूपमा मास्कको प्रयोग, नियमित साबुन पानीले हात धुने, स्यनिटाइजरको प्रयोग र भौतिक दुरी कायम गर्नुनै हालको लागि कोभिड-१९ बाट बच्ने अचुक उपाय हो । यदि तपाईले टेस्ट गरेर यदि पोजेटिभ आएमा यसलाई लुकाउने भन्दा आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई जानकारी दिई परीक्षण गर्न सुझाब दिऊँ, यसले थप सङ्क्रमण फैलनबाट जोगाउँछ ।

यदि माथि भनिएका लक्षणहरूमध्ये कुनै लक्षणहरू देखिएमा आफैं सजग भई तुरून्तै आइसोलेसनमा बस्ने र सास फेर्न अत्यन्तै कठिनाई भएमा वा आफूलाई अत्यन्तै असहज महसुस भएमा तुरुन्त स्वास्थ्य संस्थामा जाने । यति गरेमा कोरोनाबाट डराउनुपर्ने आवश्यक छैन ।

हामीले याद गर्नुपर्ने कुरा मास्क लगाउने, साबुनपानीले राम्ररी हात धुने र भौतिक दुरी कायम गर्नाले कोभिड सर्ने सम्भावना अत्यन्तै न्यून हुन्छ । मानौं तपाईंले मास्क लगाउने, भौतिक दुरी कायम गर्ने तथा हात धुने कार्य नगर्दा माथि भनिएका लक्षणहरू देखिई परीक्षण गर्नुपरेको अवस्थामा टेस्ट गर्ने किट, मानव श्रोत लगायत सम्पूर्ण खर्च जोड्दा कम्तिमा १० हजार रूपैयाँ खर्च हुन्छ।

यदि एक जनाको १० हजारका दरले १००० जना व्यक्तिको मात्र हिसाब गर्दा राज्य कोषको १ करोड खर्च बढ्ने देखिन्छ । जुन ऋणको भार भविष्यमा फेरि तपाईं हाम्रै हिस्सामा पर्न जाने त छँदैछ । साथै यस कोभिड -१९ को संक्रमण नियन्त्रणभन्दा बाहिर जान पनि कत्ति समय लाग्ने छैन ।

राज्यले केही गरेन मात्र भन्ने भन्दा पनि जनता पनि सचेत हुनु उत्तिकै आवश्यक छ । त्यसैले यसलाई गहिरिएर मनन् गरौं । व्यवहारमा परिवर्तन ल्याऊँ । हामीले हाम्रो अधिकारसँगै दायित्व पनि नबिर्सौं । सबै सचेत बनौं र आ-आफ्नो जिम्मेवारी पुरा गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment