Comments Add Comment

ओली- प्रचण्ड वार्ता वामदेवकै प्रस्ताव वरिपरि

कार्यदल गठन गर्ने तयारी

२९ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच फेरि सम्वाद सुरु भएको छ । र, सहमति खोज्न कार्यदल गठन गर्ने तयारी छ ।

नौ दिन लामो सम्वादहीनता तोड्दै प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई भेट्न बिहीबार बालुवाटार पुगेका थिए । दुई नेताबीच झण्डै चार घण्टा कुराकानी भएको छ ।

केहीबेर महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र नेता जनार्दन शर्मा पनि सहभागी थिए ।

स्रोतका अनुसार ओलीले अध्यक्ष र प्रधानमन्त्री पद बाहेकका विषयमा सहमति गर्न प्रस्ताव गरेका छन् । ‘बामदेव गौतमकै प्रस्ताव परिपरि कुराकानी भएको छ’ स्रोतले भन्यो, ‘चैतमा सहमतिका महाधिवेशन गर्ने, प्रचण्डले कार्यकारी अध्यक्षका रुपमा पार्टी चलाउने, मन्त्रिपरिषद् र आवश्यक भए प्रदेशका मुख्यमन्त्रीहरु पनि हेरफेर गर्ने प्रस्ताव आएको छ ।’

१३ साउनमा ओलीले एकतर्फी रुपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि गौतमले ६बुँँदे प्रस्ताव अघि सारेका थिए । जसमा ओलीलाई बाँकी कार्यकाल सरकार चलाउन दिने, प्रचण्डले कार्यकारीका रुपमा पार्टी चलाउने, मन्त्रिपरिषद् पुनगर्ठन गर्ने जस्ता विषय छन् ।

स्रोतका अनुसार ओली र प्रचण्डबीच बिहीबार बैचारिक राजनीतिक विषयमा भने छलफल भएको छैन । तर पार्टीको समग्र विषयमा सहमति खोज्न कार्यदल बनाउन दुबै नेता सकारात्मक देखिएका छन् ।

बालुवाटारको भेटबारे प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु परामर्श गरेका छन् । ‘उहाँले अर्का अध्यक्षको प्रस्ताव सुनाउनुभयो, तर मैले सहमति जनाएको छैन भन्नु भएको छ’ एक नेताले अनलाइनखबरलाई भने ।

साथै कुनै प्रस्ताव नदिई खुला छलफल गर्ने गरी कार्यदल गठन गर्न प्रचण्डले सहमति मागेका छन् । त्यसमा सबै सकारात्मक छन् । तर गौतमले राखेकै प्रस्तावमा सहमति जुटाउन भूमिका खेलेका नेताहरुलाई राखेर त्यसलाई नै अघि सार्ने त होइन भन्ने आशंका नेताहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment