Comments Add Comment

प्रदेश ५ मा ४७ जना कोरोना संक्रमित थपिए 

३० साउन, बुटवल । रुपन्देहीका १४ सहित शुक्रबार प्रदेश ५ मा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालाहरूमा गरिएको पीसीआर परीक्षणमा रूपन्देहीका १४ जनासहित प्रदेश ५ मा कुल ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश ५ अन्तर्गत शुक्रबार रूपन्देहीका १४, कपिलवस्तुका ५, बाँकेका २२, बर्दियाका ५ र दाङका एक जना गरी कुल ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमणका कारण प्रदेश ५ मा १४ जनाको मृत्यु भएको छ भने ४ हजार २ सय ७९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । हाल प्रदेशभर २ हजार १ सय १५ जना क्वारेन्टिनमा छन् ।

प्रदेश ५ मा पीसीआर परीक्षणका लागि संकलन गरिएका स्वाब मध्ये ९६ प्रतिशत परीक्षण गरिसकेको र ४ प्रतिशत जाँच्ने प्रक्रियामा रहेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशाशक डा. उमाशंकरप्रसाद चौधरीले जानकारी दिए ।

यसैबीच शुक्रबार पुष्टि भएका रुपन्देहीका कोरोना भाइरस संक्रमितहहरु मध्ये ७ जना बुटवल उपमहानगरपालिका र ७ जना सिद्धार्थ नगर नगरपालिका भैैरहवाका हुन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार बुटवल उपमहानगरको वडा नम्बर ११ का ४ जनामा संक्रमण पुष्टि भएको छ भने वडा नम्बर १६ मा १ जना र ठेगाना नखुलेका २ जना छन् । सिद्धार्थ नगर नगरपालिकाको वडा नम्बर ४ का ४ जना र वडा नम्बर १२ का ३ जना छन् ।
रुपन्देहीमा कोभिड–१९ संक्रमितको संख्या ४ सय २० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment