Comments Add Comment
काठमाडौं- १४ को स्थलगत रिपोर्ट :

राजधानीमै यस्तो हाल ! संक्रमितलाई छैन अस्पताल

वडाध्यक्षको प्रश्न- हामीमात्रै जिम्मेवार हुने हो कि सिंहदरबार पनि ?

३० साउन, काठमाडौं । ३९ जनामा कोरोना संक्रमण देखिएपछि काठमाडौं महनगरपालिका वडा नं १४ ले बुधबारदेखि आफ्नो वडा सिल गरेको छ । सिल भएको वडाको भित्री कथाचाहिँ अलि फरक देखिएको छ ।

यस वडामा ७ हजार ८४६ घरपरिवारको बसोबास छ (भाडामा बस्नेबाहेक) । यही १४ नम्बर वडाभित्रै कालिमाटी तरकारी बजार, बल्खु तरकारी मण्डी, फलफूल मण्डीका साथै कलंकी नाकादेखि खाद्यान्नका ठूल्ठूला होलसेलहरु छन् । त्यसैले, काठमाडौंको यो वडा उपत्यकाभरिका मानिसको अत्यधिक आवत-जावत हुने क्षेत्र हो ।

सिल गरिएको यस वडामा सवारी साधन आवत-जावत निरन्तर छन् । तर, खाद्यान्न, फलफुल तरकारी, दूध, ग्यास, खानेपानीलगायत सम्पूर्ण व्यवसाय बिहान पाँच बजेदेखि नौ बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिइएको छ । कपडा पसल, रेस्टुरेन्ट, होटेलदेखि ठेलागाडासम्म रोक लगाइएको छ ।

यसो गर्नुको अर्थ वडा कार्यालयले जारी गरेको विज्ञप्तिमै प्रष्ट किटान गरेको छ कि कोरोना भाइरस अब समुदाय स्तरमा पुगिसक्यो ।

एक हप्ता पहिले कुलेश्वरको आवास क्षेत्रकी ४२ वर्षे गृहिणीमा कोरोना संक्रमण देखिएको थियो । ती गृहिणीको परिवारका सदस्यहरु लकडाउन शुरु भएदेखि नै तरकारी पसलबाहेक कतै गएका थिएनन् ।

वडाध्यक्ष शोभा सापकोटा

संक्रमणपछि उनका श्रीमान र छोराको पीसीआर टेस्ट गरियो । दुवैको रिपोर्ट पोजेटिभ आयो ।

त्यस्तै, लिकमार्गका २६ वर्षीय युवक पनि कोरोना संक्रमित भए । वडाध्यक्ष शोभा सापकोटा आफ्नो वडा सिल गर्नुपर्ने कारणबारे बोल्छिन्, ‘पूर्णरुपमा लकडाउन पालना गरेर घरमै बसेका गृहणी र बृद्धासमेतमा कोरोना देखिएपछि समुदायस्तरमा पुगेको निष्कर्षमा निकाल्यौँ ।’

साउन १२ देखि २९ गतेसम्मको आँकडा हेर्दा यस वडामा ३९ जना संक्रमित देखिन्छन् । तर, विडम्वना के छ भने एक हप्तादेखि कोरोना संक्रमितको परिवारकै पीसीआर परीक्षण हुन नसकेको अध्यक्ष सापकोटा नै स्वीकार गर्छिन् ।

संक्रमितलाई न अस्पताल, न परिवारको ट्रेसिङ

आफ्नो वडाका एकतिहाइ संक्रमित मात्र अस्पताल जान पाएको अध्यक्ष शोभा बताउँछिन् । ‘दुईजना एक/दुई दिनअघि नै अस्पताल भर्ना गर्नुपर्ने संक्रमित छन्’, शोभाले भनिन्, ‘तर, अस्पतालमा बेडको अभाव छ, केहीलाई बेलुकासम्म भर्ना गरौंला भनेर खबर आएको छ ।’

अस्पताल भर्ना गर्न नसकिएका ती दुई संक्रमितलाई छुट्टै होम आइसोलेसनमा बस्नका लागि पर्याप्त कोठा पनि छैनन् । वडाध्यक्ष सोभाले थपिन्, ‘एउटै कोठामा दुरी कायम गरेर बसेका छन्, एउटै ट्वाइलेट प्रयोग गरिरहेका छन् ।’

ती बिरामीलाई शोभाले आश्वासन दिनुबाहेक थप केही गर्न सकेकी छैनन् । संक्रमितकै परिवारको पनि पीसीआर परीक्षण हुन सकेको छैन ।

वडाध्यक्ष सापकोटाका अनुसार संक्रमितका परिवारको समेत पीसीआर परीक्षण भएको छैन । ‘संक्रमितको १५० जना परिवारका सदस्यको परीक्षण गर्नका लागि हामीले एक हप्ताअघि नाम पठाएका थियौँ । तर, अहिलेसम्म परीक्षण हुन सकेको छैन’, उनी भन्छिन्, ‘संक्रमितका परिवारले कहिले परीक्षण हुन्छ भनेर फोन गर्नुहुन्छ, महानगरपालिका र अस्पतालबाट भोलि पर्सितिर आउँछौँ भन्ने जवाफ आउँछ ।’

यो नजिरले पनि संक्रमितहरु सामान्य उपचार र परीक्षणविनै मृत्युवरण गर्नुपर्ने अवस्था आउन सक्ने देखिन्छ । सोभा प्रश्न गर्छिन्, ‘पीसीआर टेस्ट एकदमै ढिला भयो । अब हामीले कसलाई गएर भन्ने ?’

छ दिनदेखि वडा कार्यालय पनि सिल गरिएको छ । कार्यालयका घरबेटीलाई कोरोना संक्रमण भएपछि कार्यालय आवत-जावत गर्न बन्द गरिएको थियो । बैठकहरु कार्यालय बाहिरै भएका छन् । शोभा भन्छिन्, ‘यसरी कार्यालयमा सम्पर्क भएपछि २८ जनै वडा सदस्य र कर्मचारीहरुको परीक्षण हुनुपर्ने हो । तर, दुई/तीनजना बाहेकको परीक्षण नै हुन सकेको छैन ।’

वडामात्रै जिम्मेवार हुने हो कि सिंहदरबार पनि ?

आफूहरुले आफ्नो वर्कतले भ्याएसम्म व्यवस्थापन गर्न खोज्दा पनि प्रदेश र केन्द्रले सहयोग नगरेको वडाध्यक्ष सापकोटाको गुनासो छ ।

‘हामीले सिल गर्‍यौँ । बाटोमा दैनिक स्यानिटाइजर छर्किएका छौँ’, वडाअध्यक्ष शोभाले भनिन्, ‘तर, चार महिनासम्म एकपटक पनि केन्द्र र प्रदेशले कसरी काम भइरहेको छ, के सहयोग गर्नुपर्छ भनेर सोधिखोजीसमेत गरेको छैन ।’

गरिब देशका गरीब जनतालाई मर्न लागेको बताउँदै उनले केन्दि्रय सरकारलाई सचेत हुन आग्रह गर्छिन् । ‘यो क्षेत्रबाट जितेका सांसदहरुको भूमिका हुन्छ कि हुँदैन ? फेरि चुनाव लड्न पर्छ की पर्दैन’, शोभाको आक्रोश छ, ‘स्थानीय तहले काम नगरेको भए अहिले लुटालुट र मारामार भैसक्थ्यो । यत्रो समयसम्म सरकारले अस्पताल बनाउनुपर्दैन ?’ उनले पीसीआर टेस्ट गर्न र आफ्ना संक्रमितलाई अस्पतालमा उपचार गर्नका लागि आग्रह गर्छिन् । यसबाट स्वाभाविक प्रश्न जन्मिन्छ – काठमाडौंमै त यो हालत छ, दुरदराजको अवस्था कस्तो होला ?

बल्खुको तरकारी मण्डी खुल्लै

१४ नम्बर वार्डका तरकारी मन्डीदेखि कुलेश्वरका मुख्य सडकका पसलहरु शुक्रबार बन्द देखिन्थ्यो । तर, कलंकी र कालमाटीस्थित मुख्य सडकका अधिकांश पसलहरु भने खुला थिए ।

बल्खुको तरकारी मण्डीमा कारोनाको कुनै गुञ्जायस थिएन । मण्डीका तरकारी पसलहरु चकाचक थिए । मास्क लगाएर तरकारी पसलेहरु निर्धक्क व्यापार गरिरहेका थिए भने मोटरसाइकल र पोलिथिनमा तरकारी लानेहरुको भीड थियो । तरकारी पसल सञ्चालिका अञ्जली श्रेष्ठले भनिन्, ‘कोरोनाका डर त छ तर, खानका लागि पसल गरिरहेका छौँ ।’

मण्डीमै फलफूल बच्ने पार्वती बोलाखेले अरु सबैले बन्द गरेपछि आफूले पनि बन्द गर्ने बताउँछिन् । उनीहरु बिहानै तीनबजे तरकारी पसल थाप्न आइपुग्छन् भने साँझ सात बजे मात्र घर फर्किन्छन् ।

कतिपयले सरकारले नभनिकन वडाले भनेर कहाँ पसल-पसल बन्द गर्छौँ भन्दै घुर्की देखाउने गरेको पनि शोभाले बताइन् । ‘हामीले चोक-चोकमा पुगेर बन्द गर्न लगाएका छौँ र नगरे कारवाही गर्छौँ पनि भनेका छौँ’, उनले भनिन्, ‘हामीले जनतालाई कोरोनाको महामारी फैलाएर मार्न सक्दैनौँ । त्यसैले सरकारले सिल गर्नमा सहयोग गर्नुपर्‍यो ।’

कुन ठाउँमा कति संक्रमित ?

गत साउन १२ देखि २८ गतेसम्म काठमाडौं महानगरपालिका १४ को ९ ठाउँमा कोरोना संक्रमित भेटिएका छन् । लकडाउन अवधिसम्म कोरोना संक्रमित नभेटिएका उक्त क्षेत्रमा साउन १२ गतेपछि भने धमाधम संक्रमित देखिन थालेका छन् । यो क्रम अझै बढ्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment