Comments Add Comment

तीजका लागि छोरीको ‘डिमाण्ड’

मान्छेलाई योबेला न बारको याद छ, न गतेको । सब होस उडाएको छ कोरनाले । तर, सबैको मनमा कोरोना मात्रै छैन । तपाई घर बाहिर हुनुहुन्छ र घरमा साना-साना नानीहरु छन् भने अहिले पक्कै पनि फरक कुराले तपाईलाई तरंगित बनाएको हुनुपर्छ । तोते जस्तो लाग्ने पि्रय बोलीमा तपाईका बच्चाहरुको डिमाण्ड आउन थालेको छ “बाबा तीजमा घर आउनुहुन्न ?”

हो, हिजो बेलुकी पाँच बजेतिर मलाई अनायासै म्यासेन्जरमा एउटा चिट आयो । सँगसँगै भ्वाइस म्यासेज पनि । चिट त्यति राम्रोसँग बुझिनँ । तर, सँगै आएको भ्वाइस म्यासेजले चिटका कुरालाई बुझ्न सहयोग गर्‍यो ।

भ्वाइस म्यासेजको पहिलो वाक्य थियो- ‘तीजको लहर आयो बरिलै …।”

चिटमा १२ वटा बुँदामा १६ वटा आइटमको डिमाण्ड थियो । सँगै, अर्को ५ सेकेण्डको अडियो म्यासेज पनि थियो- बाबा यी सामान लिएर आजै घर आउनु है ?”

बच्चाहरुमा स्कुल बन्द हुनु, पढ्न नपर्नु, दिनभरि मन लागेको खेलेर बस्नु, सँगसँगै आमा दिदीहरुले तीजका बारेमा गाइँगुइँ कुरा गर्नु, तीजमा आफूभन्दा ठूलाहरुले खाने र लाउने विषयका कुरा गर्नु लगायतका कुराहरुले बाल मनोविज्ञानमा निकै उर्जाशील र उत्सुक पनि बनाएको छ । त्यसैले होला, बाबाविना खाना पनि नखाने छोरीसँग आज भोलि डिमाण्डहरुमा मात्रै सम्पर्क हुने गरेको छ । किनकि ग्रामीण परिवेश र रहन-सहन उनीहरुका लागि मन परेको छ । तर, पनि अनलाइन, युट्युब र अन्य डिजिटल माध्यममा देखिने चहल-पहल भने उनीहरुले निकै मिस गरेको भान भएको छ । त्यसैले त अनायासै म्यासेन्जरको माध्यमवाट डिमाण्ड आयो ।

धार्मिक परम्पराअनुसार चिताएको पूरा गर्ने ब्रतका रुपमा परिभाषित भएको तीज आजभोलि केही परिवर्तित भएको छ समयसँगै । तीज अब व्रत बस्ने मात्रै होइन, रमाईलो र दुःख पीडा बिर्सेर रमाउने चाड हो । तर, बच्च्ााको दिमागमा न पीडा, न दुःख, उनीहरुको तीज भनेको देखासिकी नै जस्तो लागेको छ । त्यसैले त एक पेज लामो तीजको डिमाण्ड छ ।

आजभोलि हामीलाई पनि लागेको छ, फेरि बच्चा हुन पाए ? आफ्नो बच्चाकालको सम्झनाले सताउने गरेको छ भने अहिलेका आफ्ना बच्चाहरुको डिमाण्ड र रहन-सहनले हामीलाई रोमाञ्चित पनि बनाएको छ । हो, आज मलाई त्यस्तै रोमाञ्चित बनाएको छ र त आफ्नै छोरीको चाहनालाई सार्वनिक गरेको छु ।

उनलाई मनपर्ने मेरो सबै भन्दा पि्रय कुरा चुप्प -मायाले गर्ने किस) आज कुनै डिमाण्डमा छैन । उल्टै भन्छिन्- “बाबा चुप्प ल्याउन पाइँदैन है ।”

सायद समयले परिवर्तन गरिदियो उनीहरुको डिमाण्ड ।

टोलटोलका गल्ली गल्लीमा कोरना संक्रमितको संख्या दिनानुदिन बढ्नुले पनि अहिले सबै जना जहाँ, जस्तो अवस्थामा छन्, त्यस्तै रहन सरकारले उर्दी जारी गरेको छ । त्यसैले घरमा भएकाहरुले घर बाहिर हुनेहरुसँग डिमाण्ड गरेर घरको परिसरभित्र चाड मनाउनु स्वभाविकै पनि हो । अहिले गर्नुपर्ने पनि यही हो । तीजका नाममा देखाइने तडक-भडक र सामुहिक खानपिनलाई निरुत्साहित नै गर्नु पर्नेछ ।

सायद यो कुरा ६ वर्षकी छोरीले राम्ररी बुझि्छन् कि के हो, आफ्नै घर-परिवारलाई आवश्यक सामाग्री मात्रै अर्डर गरिन् । जबसम्म मासु खाइँदैन, तबसम्म हामी नेपालीलाई चाड र रमाइलो मनाएजस्तो लाग्दैन । त्यसैले छोरीको अर्डर पनि यस्तैखालको छ ।

एक नम्बरमा उनको डिमाण्ड छ- तीन किलो चिकेन रोष्ट । सायद प्रायः घरमा रोष्ट बनाएर नखाने चलनले गर्दा पनि होला, चाड र रमाइलोका लागि रोष्ट पहिलो नम्बरमा परेको ।

त्यसपछि पुलाउ ३ केजी, च्याउ २ केजी । सायद आमाछोरीको हजुरआमा भेजिटेरियन भएर हजुरआमाको तीजका लागि पनि भनेर च्याउ अर्डर भएको । खसीको मासु २ केजी, पनिर, लड्डु, रसवरी, दही, घिउ । यी त नियमित खानेकुराहरु भए ।

तीज नेपाली समाजमा खाने चाडका रुपमा मात्रै स्थापित छैन, सँगसँगै देखाउने चाडका रुपमा पनि स्थापित छ । बाल मनोविज्ञानमा यसको पनि निकै राम्रो प्रभाव परेको रहेछ । उनले २ सय रुपैयाँको साडी पनि डिमाण्ड गरेकी छन् । मलाई थाहा छैन, यो मुल्यमा उनका लागि मिल्ने साडी पाइन्छ कि पाइँदैन । तर, पनि उनले पाइन् । सायद युटुवहरुमा साना-साना उनकै उमेरका नानीहरुले लगाएको साडी देखेर होला । कपाल सम्हाल्ने हेडवीन, पुतली काँटा, चुरा, टीका, गाजल अनि लिपिस्टिक ।

छोरीका सबै डिमाण्ड पूरा गर्न १५ हजार जतिले पयाप्तै हुन्छ । तर, पनि उनीहरुले जुन आशयमा यो डिमाण्ड गरे, त्यो भने अनावश्यक र तीजकै भाषामा भन्दा भड्किलो नै हो ।

आफ्ना सन्तान हुन्, भनेको मान्छन्, त्यसैले उनीहरुको डिमाण्ड पूरा गर्नभन्दा आवश्यकता र संस्कृतिको महत्वका बारेमा भनांै, भलै उनीहरुले अहिले नै यसको महत्व नबुझ्लान् ।

हिजो हामी जे गरिरहेथ्यौं, त्यही कुरा हाम्रा सन्ततिले सिके । वर्तमान नै भविश्य हो र भविश्यको जग राख्ने नै वर्तमानले हो । हाम्रा परम्परा र संस्कृतिको जगेर्ना र रक्षा गर्न वाल मनोविज्ञानमा परेको प्रभावलाई यथोचित तरिकाले समाधान र व्यवस्थापन गर्न सकेनौ भने भोलि विकराल अवस्था आउन सक्छ ।

तीजलाई फेसन बन्नबाट बचाउनुपर्छ । तीजलाई विशिष्ट संस्कृतिका रुपमा अगाडि बढाउनुपर्छ । तीजको खास अर्थ र महत्वलाई मार्नुहँुदैन, संस्कार र संस्कृतियुक्त तीजलाई भडि्कलो र उत्ताउलो बनाउनुहुँदैन ।

कतै तपाईको घरमा पनि मेरो घरमा जस्तै भड्किलो तीज बन्दै छैन ? विचार गरौं है, आफ्ना बच्चाहरु मुटुका टुक्रा हुन् । तर, पनि उनीहरुलाई माया गर्ने नाममा विकृति त भित्र्याउँदै छैनौं ? एकपटक सोचौं । आज हामीले गर्ने अनावश्यक माया ८/१० वर्ष पछि मदिरा, नशा र चरम विकृतिका लागि खुडि्कलो नबनोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment