Comments Add Comment

सिन्धुपाल्चोक पहिरो : मृतकका परिवारले १ लाख राहत पाउने

दुवै अभिभावक गुमाएका बालबालिकालाई १२ कक्षासम्म निःशुल्क शिक्षा

३२ साउन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी ज्यान गुमाएकाका परिवारले १ लाख रुपैयाँ राहत पाउने भएका छन् ।

विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई १ लाख रुपैयाँको दरले राहत रकम दिने निर्णय गरेको हो ।

काजकिरिया खर्चका लागि मृतकका परिवारलाई तत्काल २५ हजार रुपैयाँ पनि दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

यस्तै दुवै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय पनि भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हालसम्म १८ जनाको मृत्यु भएको पुष्टि भएको छ । शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो । यस्तै शनिबार थप सात जनाको शव फेला परेको थियो ।

तामाङ कलाकार संघले दियो एक लाख २५ हजार

यसैबीच जुगल गाउँपालिका–२ लिदीका पहिरोपीडितका लागि तामाङ कलाकार संघले एक लाख २५ हजार आर्थिक सहयोग गरेको छ ।

संघले शनिबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङलाई उक्त रकम हस्तान्तरण गरेको हो । संघको तर्फबाट एक लाख र व्यवसायी पूर्ण लिम्बुबाट २५ हजार सहयोग गरिएको संघका अध्यक्ष सञ्जीव वाइबाले जानकारी दिए ।

लिदीमा शुक्रबार बिहान खसेको पहिरोले ३५ घर पुरिएका थिए । घरसँगै ३९ जना बेपत्ता भएका थिए । पहिरोमा बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

राससको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment