Comments Add Comment

इन्टरनेटमाथि नियन्त्रण, चीनकै बाटोमा अमेरिका !

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोका अनुसार अमेरिकी सरकार एक स्वच्छ इन्टरनेट चाहन्छ । उनको भनाइको अर्थ के हो भने ट्रम्प प्रशासन अमेरिकामा इन्टरनेटमाथि चीन तथा चिनियाँ कम्पनीहरुको प्रभाव अन्त्य गर्न चाहन्छ । तर आलोचकहरुका अनुसार अमेरिकाको यस्तो कदमले विश्व इन्टरनेट जगतलाई विभाजनको दिशामा लैजान सक्दछ ।

पछिल्लो समय स्प्लिन्टरनेट शब्दको प्रयोग हुन थालेको छ । आमरुपमा चीन तथा रुसका बारेमा कुरा गर्दा यो शब्द प्रयोग हुने गरेको छ ।

जो सरकारले मानिसहरुले इन्टरनेटमा के हेर्न पाउँछन् भन्ने कुराको नियन्त्रण गर्न चाहन्छ उसलाई नियन्त्रणको अर्थ थाहा हुन्छ ।

चीनको ग्रेेट फायरवाल यसको एक सटीक उदाहरण हो जसले कुनै देशले कसरी इन्टरनेटलाई आफ्नो वरीपरि एक पर्खालको रुपमा खडा गर्न सक्दछ भन्ने देखाउँदछ । चीनमा न त गुगल चलाउन सकिन्छ, न त फेसबुक नै ।

इन्टरनेट माथि चीनको यस्तो नियन्त्रणको बाटो अमेरिकाले पनि पक्रिएला भन्ने सायद कसैलाई पनि आशा थिएन । तर अमेरिकी विदेशमन्त्रीको पछिल्लो वक्तव्यले अमेरिका पनि अब चीनकै मार्गमा अगाडि बढिरहेको देखाउँदछ ।

पोम्पियोका अनुसार सरकार अमेरिकी मोबाइल एप स्टोरबाट विश्वास गर्न नसकिने खालका एप्लिकेसनहरुलाई हटाउन चाहन्छ । उनी भन्छन्, ‘चीनका एपहरु हाम्रो गोपनियताका लागि खतरा छन् । यिनले भाइरस, प्रोपोगाण्डा तथा भ्रामक सूचना फैलाइरहेका छन् ।’

प्रश्न उठ्दछ कि पोम्पियोले कुन चिनियाँ एपमाथि विश्वास गर्दछन् त त्यसोभए ? सायद उनले कुनैप्नि चिनियाँ एपमाथि विश्वास गर्दैनन् ।

युनिभर्सिटी अफ सरेका सेक्योरिटी विज्ञ एलन वुडवार्डका अनुसार यो निकै अनौठो कुरा हो र यो इन्टरनेटको बाल्कनीकरण जस्तै हो ।

उनका अनुसार अमेरिकी सरकार लामो समयदेखि इन्टरनेटमाथि नियन्त्रण गरेको भन्दै अन्य देशहरुको आलोचना गर्दै आएकोमा अबचाहिँ आफैले त्यस्तो काम गर्न थालेको छ ।

यद्यपि अमेरिकी सरकार र चीनले इन्टरनेटमाथि गर्ने नियन्त्रणको उद्धेश्य र प्रकृति समान नहोला । तर अमेरिका यदि इन्टरनेट नियन्त्रणको दिशामा अगाडि बढ्यो भने उसले आफ्नो दशकौँ पूरानो साइबर नीति बदल्नुपर्ने हुन्छ ।

वाक स्वतन्त्रताको संवैधानिक अधिकारसँगै निःशुल्क इन्टरनेट प्रदान गर्ने विषयमा यदि विश्वमा कुनै देश सबैभन्दा अगाडि छ भने त्यो अमेरिका नै हो, हालसम्म् ।

तर ट्रम्प प्रशासनले अमेरिकाको उक्त विद्यमान पहिचान भन्दा अलग बाटो रोजेको छ । त्यसको एउटा कारण अमेरिकामा क्रियाशील कतिपय चिनियाँ कम्पनीहरुसँग सम्बन्धित सुरक्षा चिन्तासँग पनि सम्बन्धित छ ।

टिकटकभन्दा विच्याट चिन्ताजनक ?

फेसबुकका पूर्वमूख्य सुरक्षा अधिकारी एलेक्स स्टेमासका अनुसार टिकटकका विषयमा अमेरिकामा यतिधेरै चिन्ता जाहेर गरिएको छ, जबकि यस्ता अन्य हजारौँ चिनियाँ एपहरु छन् । उनका अनुसार अमेरिकाले टिकटकभन्दा विच्याटबाट बढी चिन्तित हुनुपर्ने अवस्था छ ।

उनी भन्छन्, ‘विच्याट विश्वको सबैभन्दा लोकप्रिय मेसेजिङ एपमध्ये एक हो । मानिसहरु विच्याटमा कम्पनीहरु चलाइरहेका छन् । त्यसमा निकै संवेदनशील सूचनाहरु हुन्छन् ।’

उता पोम्पियोले पनि टिकटकपछि विच्याटलाई लक्षित गर्ने बताइसकेका छन् ।

नीति कि रवैया ?

यावत् गतिविधिहरुलाई आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय चुनावसँग जोडेर पनि हेर्नुपर्ने हुन्छ । त्यसैले ट्रम्पको चीन विरोधी गतिविधि केवल प्रविधिसम्म मात्र सिमित छैन ।

त्यसैले इन्टरनेट माथिको नियन्त्रण अमेरिकाकै नीति हो कि केवल चिनियाँ कम्पनी विरुद्धको रवैया मात्र ? ट्रम्प सायद नोभेम्बरमा चुनाव हार्ने संघारमा पनि हुन सक्दछन् । यदि विपक्षी दलले चुनाव जितेमा उसले चिनियाँ प्रविधि कम्पनीका विषयमा उदार नीति अख्तियार गर्ने विश्वास गरिन्छ ।

तर अमेरिकी इन्टरनेटलाई चीनबाट मुक्त राख्ने ट्रम्पको दृष्टिकोणले विश्वलाई विभक्त गरिदिने देखिएको छ । सबैभन्दा ठूलो तथ्य त यो छ कि यदि अमेरिकाले त्यस्तो कदम उठाउने हो भने त्यसपछि इन्टरनेट अधिक रुपमा चीनकै भिजनको रुपमा देखा पर्नेछ ।

टिकटकलाई नै हेरौँ न । यदि माइक्रोसफ्टले टिकटकको अमेरिकी शाखा खरीद गर्यो भने दुनियामा ३ वटा टिकटक हुनेछन् । एउटा चिनियाँ टिकटक, जसलार्य डोइन भनिन्छ ।

त्यस्तै अमेरिकामा एउटा छुट्टै इन्टरनेट र बाँकी विश्वको लागि अर्को आम टिकटक । के अब विश्वमा इन्टरनेटको भविष्य यसैगरी विभक्त हुने हो त ?

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment