Comments Add Comment

कोरोनामा लापरवाही : हामीलाई केको डर ?

युवाहरु चिया पसलमा भेट्छन्, एकै ठाउँ गुजुल्टा पर्छन् । मास्क उतार्छन् वा चिउडोमा तान्छन् । अनि एकअर्कासँग मुख जोडेर गफ गर्न थाल्छन् । उनीहरुलाई लाग्छ, साथीभाईको अगाडि किन मास्क लगाउने ? बालै भएन नि ।

पेशाकर्मी÷व्यवसायीहरु आफ्नो कार्यथलोमा पुग्छन्, मास्क उतार्छन् । सहकर्मीसँग आमने–सामने बसेर काम गर्छन् । गफ गर्छन् । उनीहरुलाई लाग्छ, आफ्नै सहकर्मी त हो किन मास्क लगाउने ?

कामधन्दा सकेर हामी जसै घर फर्कन्छौं मास्क उतार्ने हतार हुन्छ । त्यसपछि हामी आफ्ना बालबच्चा, आमाबुवा, परिवारका सदस्यसँग घुलमिल हुन थाल्छौं । हामीलाई लाग्छ, घरभित्र किन मास्क लगाइरहने ?

कोही चोकमा मस्त गफ गरिरहेका छन्, कोही घरमा भेला भएर निस्फिक्री नाचगान गरिरहेका छन्, कोही सभा–सम्मेलन गरिरहेका छन्, कोही मठ–मन्दिरमा पूजाआजा गरिरहेका छन्, कोही बाटोमा बातचित गरिरहेका छन् । उनीहरुले मास्क लगाउनुपर्ने खाँचो देख्दैनन्, भौतिक दुरी कायम गर्नुपर्छ भनी हेक्का राख्दैनन् ।

यसबाट हामीमा कस्तो भ्रामक मनोविज्ञान विकास भएको पाइन्छ भने, चिनेजानेको व्यक्तिबाट कोरोना भाइरस सर्दैन । त्यही कारण त साथीभाई, सहकर्मी, आफन्तका अगाडि अधिकांशले मास्क नै लगाउँदैनन् । मास्क लगाएपनि चिउडोमा तानेर गफ गर्न थाल्छन् ।

मास्क किन लगाइएको होला ? न यो अरुलाई देखाउने रहरले हो, न कसैका निम्ति बाध्यकारी हिसाबले नै । आफ्नै सुरक्षाका खातिर मास्क लगाउनुपरेको हो भन्ने सामान्य ज्ञान समेत भुलेर हामी लापरवाही गरिरहेका छौं । शारीरिक स्वास्थ्य सम्बन्धी यो अति सामान्य र आधारभूत कुरामा समेत कति लाचार ? कति उदासिन ? कति अविवेकी ?

अपरिचित व्यक्तिबाट मात्र कोरोना भाइरस सर्छ ? कि संक्रमित व्यक्तिको निधारमा कुनै स्पष्ट संकेत देखिन्छ ? यदि त्यसो होइन भने, साथी, सहकर्मी, घर परिवारका सदस्यबीच किन सावधानी अपनाइरहेका छैनौं ?

चिर–परिचित व्यक्ति, घनिष्ठ मित्र, शुभचिन्तक, मनकारी छिमेकी, प्रभावशाली मान्यजन, श्रीमान् वा श्रीमती जो कोहीबाट पनि एकअर्कामा कोरोना भाइरसको संक्रमण फैलन सक्छ । यो वैश्विक महामारीको स्थितिमा पृथ्वीमा रहेका हरेक व्यक्ति पूर्णत सुरक्षित नहुन सक्छन् । अपरिचित वा टाढाका व्यक्तिबाट मात्र कोरोना फैलन्छ कि भन्ने भ्रम किन पालिरहेका छौं ?

हामी आफु कोरोना संक्रमित हुनु भनेको आफुलाई जोखिममा राख्नु हो । तर, त्यती मात्र होइन, आफ्ना घर–परिवार, बालबच्चा, आमाबुवालाई जोखिममा पार्नु पनि हो । त्यती मात्र पनि होइन, हामी आफ्नो लापरवाहीले संक्रमित हुनु भनेको समुदायलाई समेत समस्यामा पार्नु हो । परीक्षण गर्नेदेखि उपचार गर्नेसम्मको स्थितिमा परिवार, स्वास्थ्यकर्मी सबैले दुःख पाउने हो । जानी जानी यसरी अरुलाई दुःख दिनु हाम्रो अमानविय चेत होइन र ?

अहिलेको अवस्थामा कोरोनाबाट बच्ने सरल विधी हो, मास्क लगाउनु, शारीरिक दुरी कायम गर्नु । यी काम आफैमा कठिन र अहसज होइनन् । यदि हामी सबैजना आफु आफैमा सर्तक हुने हो भने कोरोनाको भय एक प्रतिशत पनि रहँदैन । तर, हामी जानी जानी लापरवाही गरिहेका छौं । यही कारण कोरोनाले भयावह स्थिति ल्याउँदैछ ।

कोरोनाकै कारण धेरैको गाँस खोसिएको छ । कतिपय गहिरो चिन्ता एवं तनावमा छन् । कतिले रोजगारी गुमाएका छन्, कतिको कामधन्दा ठप्प भएको छ । आज यो स्थिति ल्याउनुमा हाम्रो लापरवाही, मुर्खता यसमा जिम्मेवार छैन ?

 

१. जो अगुवा, उही बाटो …..।

 

२. चिनजानकै साथीभाईबाट कोरोना सर्छ र ?

 

३. भलाद्मीहरुलाई कसरी कोरोना सर्छ ?

 

४.सार्वजनिक यातायातमा किन अरुको लागि मास्क लगाइदिने ?

 

५. आफ्नै बालबच्चा त हुन् नि, किन मास्क लगाउने ?

 

६. पार्टीका कार्यकर्ता पनि कोरोनासँग डराउँछन् त ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment