Comments Add Comment

तनहुँमा एकै परिवारका ५ जनामा कोरोना संक्रमण

३२ साउन, पोखरा । तनहुँको ब्यास नगरपालिका– १ मा एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ब्यास–१ भादगाउँ रतौली टोलमा एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रहरी दम्पत्तिको घरमा कोरोना संक्रमण देखिएको हो । श्रीमान लमजुङ र श्रीमती तनहुँमै कार्यरत प्रहरी हुन् ।

प्रहरी दम्पत्तिकी आमा आमाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्यमा कोरोना परीक्षण गरिएको थियो ।

‘आमालाई कोरोना संक्रमण पुष्टि भएपछि परिवारका अरु सदस्यलाई पनि स्वाब परीक्षणका लागि बोलाइएको थियो,’ ब्यास नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले भने, ‘घरका ४ र आफन्त तथा सवारी चालकसहित ८ जनाले पोखरा गएर स्वाब दिँदा थप ४ जनामा कोरोना पोजेटिभ देखियो ।’

महिला कार्यरत प्रहरी कार्यालय तनहुँका २७ जना प्रहरीको सम्पर्क पहिचान गरी स्वाब नमूना संकलन गरिएको छ ।

बागलुङमा दुई जनप्रतिनिधिमा कोरोना संक्रमण

बागलुङका एक वडाध्यक्षसहित दुई जना जनप्रतिनिधिमा  कोरोना  संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौका अनुसार २८ गते स्वाब दिएका उनीहरुमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुलाई हाल धौलागिरि अस्पतालको आइसोलेसनमा  राखिएको छ । संक्रमित वडाध्यक्ष गाउँपालिकाको क्वारेन्टिन व्यवस्थापनमा खटिएको र अर्का जनप्रतिनिधि पछिल्लो समय चितवन, काठमाडौं, पोखरालगायतका ठाउँ पुगेको पाइएको जिल्ला स्वास्थ्य प्रमुख गुरौले जानकारी दिए ।

पोखरामा १० संक्रमित थपिए

पोखरा महानगरपालिकामा एकै दिन १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकाका विभिन्न वडाका ३ महिला र ७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरामा ८६ वर्षीया वृद्धामा पनि कोरोना संक्रमण देखिएको छ ।

संक्रमण पुष्टि भएकामध्ये २ जना भारत र युएईबाट फर्किएकाहरु हुन् भने केही कन्टयाक्ट ट्रेसिङ र फिबर क्लिनिकबाट आएकाहरु छन् ।

पोखराको वडा नम्बर १६ मा १ महिला र ३ जना पुरुषमा संक्रमण देखिएको छ । त्यसमध्ये १ जना विदेशबाट आएका हुन् भने ३ जना यसअघि संक्रमित व्यक्तिको सम्पर्कमा आएका हुन् ।

वडा नम्बर ५ मा ५३ वर्षीय एक महिलालाई संक्रमण पुष्टि भएको छ । पोखराको वडा नम्बर ८ मा २ जना, वडा नम्बर २६, २८ र ३२ मा १÷१ जना संक्रमित भेटिएका प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । ८६ वर्षकी वृद्धा वडा नम्बर ३२ कि हुन् ।

भानुमा कर्मचारीमा कोरोना

तनहुँको भानु नगरपालिकाका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकामा कार्यरत ३० वर्षीय कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।

उनी भानुमा सुरुमा संक्रमण देखिएका ठेकेदारसँग सम्पर्कमा आएका थिए । उनलाई ज्वरो आउने तथा कोरोना संक्रमणको लक्षणसमेत देखिएको भानुका स्वास्थ्य प्रमुख ऐश्वर्यचन्द्र भट्टराई जानकारी दिए ।

भानुमा निर्माण व्यवसायी हुँदै एक दिन एकै वडाका २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरी, मासु पसल, वर्कसप हुँदै समुदायका विभिन्न क्षेत्रमा कोरोना संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १ का २० जनामा संक्रमण देखिएपछि भानु नगरपालिका ३ दिनदेखि सिल गरिएको छ ।

आइतबार नै पर्वतको बिहादी गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिएका छन् । आजमात्र प्रदेशमा १६ जनामा संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा अहिलेसम्म १ हजार ७ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १ हजार ५ सय २० जना निको भएर घर फर्केका छन् ।

अहिलेसम्म गण्डकी प्रदेशमा ३४ हजार ३ सय २५ जनाको स्वाब परीक्षण गरिएको छ । गण्डकी प्रदेशमा अहिले १ हजार २ सय २२ जना क्वारेन्टिनमा छन् भने १ सय ९९ जना आइसोलेसनमा छन् । अहिलेसम्म ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment