News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको संवैधानिक इजलासका चार न्यायाधीश वरिष्ठताक्रम वा गोला प्रक्रियाबाट चयन गर्न माग गरेको छ।
- बारले जबराको मध्यराति पक्राउलाई ‘रहस्यात्मक र सन्देहात्मक’ भन्दै विरोध गरेको छ।
- बारले आधार र कारणबिना नागरिक पक्राउ नगर्न तथा न्यायपालिकाको स्वच्छता र स्वतन्त्रतामा हस्तक्षेप नगर्न चेतावनी दिएको छ।
१२ असोज, काठमाडौं । नेपाल बार एशोसिएसनले वरिष्ठताक्रम वा गोला प्रक्रियाबाट सर्वोच्च अदालतको संवैधानिक इजलासका चार न्यायाधीश चयन गर्न माग गरेको छ ।
न्यायिक स्वच्छता र शुद्धताका लागि भन्दै बारले जबरा पक्राउको घटनासँग जोडेर संवैधानिक इजलास गठनको प्रक्रियामा प्रश्न उठाएको हो ।
सेवा निवृत्त प्रधानन्यायाधीश, न्यायाधीश वा कसैले पनि विचाराधिन मुद्दालाई हस्तक्षप गर्न छलफल गर्न नसक्ने भन्दै बारले त्यस्ता गतिविधिहरूलाई कुनै स्थान नदिन न्यायाधीशहरूको ध्यानाकर्षण गराएको हो । उसले कानूनी व्यवस्था र न्यायाधीशहरूको आचारसंहिताको पालना गर्न पनि सबैसँग अनुरोध गरेको छ ।
बारले जबराको पक्राउको भने विरोध गरेको छ । सुरक्षा चुनौती भन्दै जबरालाई मध्यरातमा पक्राउ गरिएको भन्दै बारले विज्ञप्तिमा त्यसलाई ‘रहस्यात्मक र सन्देहात्मक’ भनेको छ ।
बारले विज्ञप्तिमा भनेको छ, ‘जो सुकै नागरिक उपर पर्याप्त आधार र कारण बिना नियन्त्रणमा लिइनु र छाडिनु मौजुदा संविधान, कानुनको शासन र लोकतान्त्रिक शासन प्रणाली विपरीत रहेको छ ।’
पक्राउपछि राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिहरुलाई समेत भेटन नदिएको भन्दै बारले सरकारको कदमलाई ‘स्वेच्छाचारी र अनुदारवाद’ तर्फ ढल्किएको भनी टिप्पणी गरेको छ ।
न्यायपालिकामा हुने विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध आवाज उठाइरहने भन्दै बारले सरकार, नेता वा न्यायपालिकाका पूर्व पदाधिकारीबाट न्यायपालिकाको स्वच्छता र स्वतन्त्रता विरुद्ध हुने हस्तक्षेपको प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
केही समयदेखि विचार तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध गैरसंवैधानिक घटनाहरू बढेको भन्दै बारले आकार, कारण र प्रमाणविना नागरिकलाई पक्राउ गर्ने लगायतका काम नगर्न र नगराउन सुरक्षा निकायको ध्यानाकर्षण गराएको हो ।
प्रतिक्रिया 4