३२ साउन, चितवन । साउनको तेस्रो साताबाट चितवनमा कोरोना भाइरस संक्रमणको ह्वात्तै बढ्यो । यहाँका अस्पताल र सुरक्षा निकायहरु कोरोना संक्रमणको केन्द्र बन्न थालेका छन् । त्यसमा पनि भरतपुर अस्पताल सबैभन्दा बढी प्रभावित बनेको छ । भरतपुर अस्पतालका चिकित्सक पाँचजना र दुईजना नर्सहरु कोरोनाबाट संक्रमित भए ।
अस्पतालमा नै जचाउँन आएका बिरामीहरूमा गरिएको परीक्षणमा धमाधम कोरोनाको संक्रमण देखियो । अस्पताल र कोभिड–१९ प्रयोगशालाको दैनिक व्यवस्थापनमा निरन्तर खटिँदै आएका अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी, प्रसुती विभागका प्रमुख प्रा.डा. सुनीलमणि पोखरेलसहितका वरिष्ठ चिकित्सकहरूलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल कोभिड संक्रमणको केन्द्र बन्न थालेको हो कि भन्ने आशंका पैदा भएको छ ।
चितवनमा बनेको कोभिड म्यानेजमेन्ट कमिटीले पनि जिल्लाका अस्पतालहरु कोरोनाको सबैभन्दा बढी जोखिममा रहेको र कोभिड केन्द्र बन्न सक्ने खतरा औंल्याएको थियो । ‘सीएमसी’ले भनेको जस्तै, परिस्थिति अस्पतालमा तयार हुन थालेको हो कि भन्ने देखिएको छ ।
भरतपुर अस्पतालमा अलवा चितवनकै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ७ जना स्वास्थ्यकर्मी र ३ जना कार्यालय सहयोगीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । अस्पतालका स्वास्थ्यकर्मीलाई एकपछि अर्को कोरोना संक्रमण देखिन थालेपछि अस्पतालले आकस्मिक बाहेक सेवा रोकेको जनाएको छ । यस्तै, पूर्वी चितवनको रत्ननगरमा रहेको बकुलहर रत्ननगर अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट डा. विश्वबन्धु बगाले कोरोना संक्रमित भएर होम क्वारेन्टिनमा बसिरहेका छन् ।
साउन ७ गते लकडाउन खुलेसँगै भरतपुर अस्पतालमा बिरामीको चहलपहल बढ्यो । कोभिड संक्रमण भएका, नभए, आशंका भएका सबै बिरामीहरू अस्पताल आउन थाले । योबीचमा गएको चैंत्रमा भरतपुर महानगरपालिकाको पहलमा खुलेको भरतपुर कोरोना अस्थायी अस्पताल काण्डैकाण्डले विवादमा पर्यो । भरतपुर अस्पताल मातहतमा आएको अस्पताल मर्मतका लागि भन्दै बन्द गरियो । अस्पताल अहिलेसम्म खुल्न सकेको छैन । यहाँ जाने ओपीडी बिरामीसमेत भरतपुर अस्पताल आउन थाले ।
साउनको पहिलो हप्ता अस्पतालको ओपीडी खुल्यो । बिरामीको पुनः चाप बढ्यो । तर, बिरामीको ‘सेग्रिगेसन’ गर्न अस्पतालले मेसो पाएन । अर्कोतिर भरतपुर अस्पताल सरकारी अस्पताल भएकाले कुनै बिरामी राख्ने वा नराख्ने गर्न सक्दैन । निजी अस्पतालका संक्रमित, ज्वरो आएका अन्य बिरामीहरूसमेत उपचारका लागि भरतपुर अस्पतालमा नै आउने गर्दछन् ।
भरतपुर अस्पतालमा कसरी संक्रमण फैलियो त भन्ने प्रश्नमा अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले भने ‘तराईलगायत विभिन्न १८ जिल्ला बिरामी आउँछन्, गरिब विपन्न बिरामीहरुको पनि उपचार गर्ने ठाँउ यहीँ नै हो, पीपीई लगायतका सुरक्षा सामग्रीहरुको पनि उचित प्रयोग गर्न सकिएन, भएन, फार्मेसीको भिड पनि रोक्न सकिएन ।’
अधिकारीले भनेजस्तै अस्पतालमा सबै खालका बिरामीहरू एकैठाँउबाट सेवा लिने, टिकट काट्न, बिल तिर्न र फार्मेसीमा लाइनमा बस्ने अवस्था तयार भयो । अन्य रोग लिएर गएका बिरामी पनि कोरोना संक्रमितको सम्पर्कमा थाहै नपाई जाने अवस्था आयो ।
अर्कोतिर भरतपुर अस्पतालमा नै संक्रमणको आंशका भएकाहरु स्वाब दिन जाने तर, उनीहरूका लागि अलग्गै बाटोको प्रयोग गर्न दिन अस्पतालले सकेन । स्वाब संकलन गर्ने क्रममा समेत एकबाट अर्कोमा सर्ने खतरा उत्पन्न भएको अस्पतालकै चिकित्सक बताउँछन् ।
‘अस्पताल आउने बाटो पनि साँघुरो भयो, एकबाट अर्कोमा दूरी नजिक हुँदा सर्ने खतरा छ, सबैमा लक्षण देखिन्छ भन्ने पनि छैन, तर कमजोर भएकालाई त सार्ने खतरा हुन्छ’ अस्पतालका पूर्वमेसु डा. कृष्ण पौडेलले भने, ‘भरतपुर अस्पतालमा पनि स्टार्फको प्लानिङ राम्रोसँग भएन, सबै जसो एक्सपोज भैसकिएको छ ।’
कोरोना संक्रमितलाई राख्नका लागि अस्पतालको ‘ए’ ब्लकको भूईं तला खाली गराएको छ । संक्रमित पुष्टि भएकालाई राख्ने व्यवस्थापन अस्पतालले राम्रो गरे पनि आशंका भएकाहरु र ज्यानमा भाइरस बोेकेका तर परीक्षण नभएका व्यक्तिहरुका कारणले अन्यमा सर्ने खतरा आएको अर्का एक चिकित्सकले बताए ।
त्यति मात्रै नभई एउटै चिकित्सक वा नर्सले भाइरस संक्रमणको आशंका भएका, कोरोना भएका र नभएका विरामीको उपचार गर्दा स्वास्थ्यकर्मीहरुसमेत जोखिममा परे । यहीँ अस्पतालमा काम गर्ने चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुले बाहिरका निजी अस्पतालमा पनि काम गर्ने हुँदा यताबाट उता र उताबाट यता संक्रमण सार्ने अवस्था छ ।
कोरोना संक्रमितको उपचारमा न्यूनतम सावधानी नअपनाउँदा उच्च खतरा हुने अवस्था देखिएको छ । गएको साउन २७ गते खुट्टाको अप्रेसन गरिएको बिरामीको साउन २९ गते कोरोना संक्रमण भएको पुष्टि भयो । उनलाई अप्रेसन गरिएको टेबलमा नै निर्मलीकरणबिनै एक सुत्केरी महिलाको अप्रेशन गरेपछि अहिले चिकित्सकहरु आइसोलेनमा छन् ।
अस्पतालमा ६ वटा अप्रेशन कक्ष अलग–अलग छन् । तर, अस्पतालमा प्रसुती गराउने महिलाहरुको चाप निकै भएकाले खाली भएको अप्रेशन कक्षको टेवलमा नै अप्रेशन गर्ने गरिन्छ । अस्पतालमा दैनिक ४० जनाले प्रसुती सेवा लिर्दै आएकोमा १० जनाको अप्रेशन नै गर्ने गरिएको छ । कोरोना भएका र नभएकाहरुलाई अप्रेशन गर्न अब छुट्टै कक्ष हुनुपर्ने माग चिकित्सकहरुले गरेको डा. कृष्ण पौडेलले बताए ।
चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपाने कोभिड शंकास्पद र ननकोभिड भएका बिरामीलाई एकै ठाँउबाट सेवा दिनु सबैभन्दा ठूलो जोखिम हुने बताउँछन् । ‘अस्पताल त निको हुन पो आउने हो, रोग सार्नका लागि त हैन नी’ डा. न्यौपाने भन्छन्, ‘हामीले पटक–पटक भनेका छौं, जिल्लाको कुनै एक ठूलो अस्पताललाई डेडिकेटेड अस्पताल बनाऔं ।’
उनले जिल्लाका दुई निजी अस्पताललाई खाली गरेर माइल्ड र मोडेरेटको उपचार गर्ने र बाँकी एक ठूलो अस्पतालमा आईसीयूसहितको सर्पोट चाहिने कोभिड बिरामी राख्नुपर्ने बताए ।
सरकारले निजी अस्पताल २० प्रतिशत वेड तथा मेडिकल कलेजले एक तिहाइ वेड छुट्याउनु भनेर गरेको निर्देशन नै कोरोना फैलाउन उद्धत रहेको उनको आरोप छ । ‘कोभिड ननकोभिड सबै खालका बिरामीलाई सबै अस्पतालमा मिसमास हुने अवस्था हुँदैन ? खै सरकारले बुझेको ?’ डा. न्यौपानेले भने, ‘निजी अस्पताल तथा मेडिकल कलेज उम्किने खोजे भनेर यस्तो निर्देशन दिएको हो, हामी भाग्न खोजेको छैन, एउटा मेडिकल कलेज खाली गराएर उपचार गराए हुन्छ नि, जनरल अस्पताल पनि त चाहिएला, अन्य बिरामीलाई मर्न दिन त भएन’
निजी अस्पताल समन्वय समितिका सचिव विक्रम अधिकारीले प्रदेश नम्वर दुईमा कोरोना संक्रमण बढेसँगै त्यहाँका अस्पताल बन्द हुँदा अधीक बिरामीहरु चितवन आएका र संक्रमण बढेको बताए । उनी भन्छन् ‘अलिकति हामी स्वास्थ्यकर्मीबाट पनि लापर्वाही भयो, समय हुँदा पनि प्लानिङ गरिएन, दोष सबैको छ ।’
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दीपकबाबु तिवारीले लकडाउन खुकुलो भएसँगै कृषि र उद्योग क्षेत्रमा आएका कामदार र विदेशबाट आएका नेपालीले समुदायमा कोरोना फैंलाएको बताए ।
‘पहिला को मान्छे विदेशबाट आयो सबै थाहा हुन्थ्यो, क्वारेन्टाइनमा बस्थ्यो, लकडाउन खुकुलो भएपछि को आयो कता गयो पत्तो भएन, क्वारेन्टाइनमा पनि बसेन, कसैलाई मतलव पनि भएन’ जनस्वास्थ्य प्रमुख तिवारीले भने, ‘संक्रमित क्षेत्रबाट आएका कामदारसँग किसानहरुको सम्पर्क भयो, उद्योग सञ्चालकसँग कामदारको भयो ति मान्छे अस्पताल पुगे, अस्पतालमा स्वास्थ्यकर्मीसम्म फैलियो ’ उनी चितवनमा कोरोना चौथो चरणमा पुगेको र ‘हाइ ट्रान्समिसन’ हुने अवस्था आएको बताउँछन् ।
लकडाउनलाई अझै केही समय कायम नगर्ने हो भने कोरोनाले प्राकृतिक कोर्ष पुरा गर्ने र त्यसले क्षति ठूलो गराउने तिवारीको भनाइ छ । यसबाट ६० प्रतिशत जनसंख्या प्रभावित हुने आंकलन गरिएको छ ।
कोरोना तथ्यांकमा चितवन : स्वास्थ्यकर्मी र सुरक्षाकर्मी संक्रमित
चितवनमा अहिलेसम्म १९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ती मध्ये ११३ जना संक्रमण मुक्त भएर घर गएका छन् भने, बाँकी ८५ जना सक्रिय संक्रमितहरु उपचाररत छन् ।
तीमध्ये भरतपुर अस्पतालको आईसीयूमा तीन र पुष्पाञ्जली अस्पतालको आईसीयूमा एकजना उपचाररत छन् । यो अवधिमा भरतपुर महानगरपालिकाका मात्रै १२१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, कालिकामा ५, रत्ननगरमा ९, माडीमा ४१, खैरहनीमा ७, राप्तीमा १५ र इच्छाकामनामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए ।
पौडेलका अनुसार भरतपुर अस्पतालमा १३७ जनाले हालसम्म सेवा लिएकोमा अहिले ४२ जना सक्रिय संक्रमित छन् । बाँकी ९३ जना उपचारपछि घर फर्किसकेका छन् ।
भरतपुर अस्पतालमा १० बेड आईसीयू र ७५ बेड कोरोना संक्रमितका लागि आइसोलेसन बेड छुट्टाइएको छ । अहिले अस्पतालको आईसीयूमा तीनजना र पुष्पाञ्जली अस्पतालको आईसीयूमा एकजना संक्रमित उपचाररत छन् ।
भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत संक्रमितमध्ये भरतपुर–११ का एक जना र कैलाली एकजनाको उपचारको क्रममा मृत्यु भएको थियो ।
स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई समेत भाइरसको संक्रमण देखिन थालेको छ । फ्रन्टलाइनमा रहेका २६ जना स्वास्थ्यकर्मी र १४ जना सुरक्षाकर्मीमा अहिलेसम्म कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ८ जना सशस्त्र प्रहरी छन् । उनीहरू तराईका विभिन्न जिल्लामा पुगेर फर्किएकाहरु हुन् । शनिबार मात्रै क्वारेन्टिनमा रहेका ३ जना सुरक्षाकर्मीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत वैशाखको पहिलो साता कोरोना संक्रमण देखिएको चितवनमा त्यसयता करिब पाँच महिना बित्दै गर्दा संक्रमितको संख्या १९९ पुगेको छ । भरतपुर अस्पतालमा हालसम्म ३ हजार ५ सय भन्दा बढी नमुना संकलन गरी परीक्षण गरिएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा अहिलेसम्म १४ जिल्लाका १४ हजार ५ सय भन्दा बढी नमूना परीक्षण गरिसकेको छ । जसमा ४ सय ८४ जना संक्रमित पुष्टि भइसकेका छन् ।
प्रतिक्रिया 4