Comments Add Comment

नेकपा सचिवालय बैठक : कार्यदललाई कार्यादेश र समय तोकिने

१ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । दुई अध्यक्षबीच असमझदारी बढेपछि एक महिनादेखि बस्न नसकेको सचिवालय बैठकमा हालै गठित ६ सदस्यीय कार्यदलको कार्यदेशबारे छलफल हुने बताइएको छ ।

साउन ४ गतेपछि नेकपा सचिवालय बैठक बस्न सकेको थिएन । दुई अध्यक्षबीच पटक पटकका छलफलपछि शुक्रवार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएर पार्टीभित्र उत्पन्न समस्या समाधानकाका लागि सुझाव पेश गर्न जिम्मा दिइएको थियो ।

सो कार्यदलको दुईपटक बैठक समेत बसिसकेको छ । बरिष्ठ नेता नेताहरु झलनाथ खनाल, माधव नेपाल लगायतले पार्टीको बैठकबाट कार्यदल गठन गरेको भए त्यसले संस्थागत मान्यता पाउने बताएपछि कार्यदललाई अनुमोदन गर्न आज बैठक बसेको हो । बैठकले सो कार्यदललाई कार्यादेशसमेत दिनेछ ।

कार्यदलमा भीम रावल,शंकर पोखरेल,सुरेन्द्र पाण्डे,जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् । दुई अध्यक्षबीच मोटाामोटी समझदारी भइसकेको र त्यसैलाई लिखित रुपमा बैठकबाट अनुमोदन गर्नेगरी कार्यदलले मस्यौदा गर्ने नेताहरुले जानकारी दिएका छन् ।

सचिवालय बैठकले महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलको समय समेत तोक्ने भएको छ । सो कार्यदलले तयार पारेको सहमतिको मस्यौदा दुई अध्यक्ष हुँदै सचिवालय र स्थायी कमिटीमा छलफल गराइने भएको छ ।

असार १० गते शुरु भएको नेकपा स्थायी कमिटी बैठक चलिरहेकै बेला नेकपामा एकाएक प्रधानमन्त्रीको राजिनामाको विषय प्रवेश गरेपछि विवाद बढेको थियो । प्रधानमन्त्रीले असार १६ गते बालुवाटारमै आयोजित एक कार्यक्रममा आफूलाई हटाउन भारत लागेको र पार्टीभित्र पनि त्यसको प्रभाव परेको बताएका थिए ।

त्यसको कडा प्रतिवाद गर्दै अध्यक्ष प्रचण्डले राजिनामा भारतले नभई आफूले मागेको बताएका थिए । त्यसपछि नेकपा बैठक बस्न सकेन । पछिल्लो पटक ओलीले एकतर्फी रुपमा बैठक अनिश्चितकालका लागि स्थगित गरेपछि नेकपा बिभाजनको सँघारमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment