Comments Add Comment
हाइप्रोफाइल संक्रमितको अनुभव : :

होम आइसोलेसनमा अफिसको कामदेखि कवितासम्म

११ दिनपछि कन्ट्याक्ट ट्रेसिङ, त्यसमा पनि वडाको बार्गेनिङ !

गत साउन १४ गते बिहान काठमाडौंबाट वैज्ञानिक वन व्यवस्थापनबारे अनुगमनमा निस्किएर दिउँसो सिन्धुलीको वन फडानी हेर्‍यौं । त्यसक्रममा त्यहाँका वासिन्दा र सामुदायिक वन उपभोक्ता समूहसँग छलफल गरियो ।

त्यसपछि जिल्ला वन कार्यालय गएर डीएफओ र कर्मचारीहरुसँग छलफलका साथै कागजात संकलन गरेर बेलुकी बर्दिबास झर्‍यौं ।

सिन्धुलीमा तीन ठाउँमा छलफल गरियो– वन उपभोक्ता समितिको कार्यालय, जिल्ला वन कार्यालय र फिल्डमा । जिल्ला वन कार्यालयमा भएको अन्तिम छलफलमा सहभागी सांसद प्रदीप यादवलाई पछि कोरोना संक्रमण देखियो ।

उहाँको टोली हामीसँग पछि मिसिन आइपुगेको हो । उहाँको गाडीमा एकजना पीएसओ र ड्राइभरसमेत गरी तीनजना हुनुहुन्थ्यो । हाम्रा दुईवटा गाडीमा सातजना थियौं ।

१५ गते सर्लाही, रौतहट, बारा र पर्साका जिल्ला वन कार्यालय, फिल्ड र वनमा गएर डीएफओ, सामुदायिक वनका पदाधीकारी र उपभोक्तहरुसंग छलफल गर्‍यौं । बेलुकी सिमरा आएर इच्छा होटलमा बस्यौं । माननीय यादव सिमरामा हामीसँग बस्नुभएन । १६ गते पर्सा जिल्ला वन कार्यालयमा छलफल गर्‍यौं । त्यसपछि सामुदायिक वनमा गएर सम्बन्धित मानिसहरुसंग छलफल गरेर अपरान्हतिर हेटौंडा पुग्यौं । त्यहाँको सामुदायिक वनको फडानी हेरेर बेलुकी नारायणघाटमा बस्यौं ।

१७ गते बिहान नवलपरासीमा वन फडानी हेरेर सामुदायिक वन समूहका मानिसहरुसंग छलफल गर्‍यौं र काठमाडौं फर्कियौं । माननीय प्रदीप यादवलाई कोरोना संक्रमण भएको पुष्टि भएकाले हामी नवलपरासीबाटै काठमाडौं फर्केर घरमा छुट्टै बस्यौं ।

मलाई १७ गते बेलुकादेखि नै ज्वरो आउन थाल्यो । २० गतेसम्म टाउको दुख्ने, पखाला लाग्ने भइरह्यो । कोरोना जाँच उतिखेरै हुँदैन, भए पनि तत्काल देखिँदैन भनेर २० गतेसम्म कुरेर बसेँ । परिवारमा अरुलाई केही भएको थिएन । घरमा निकै तनाव भइरहेको थियो ।

२० गते स्वाब दिन वीर अस्पताल गएँ । २२ गते पोजेटिभ रिपोर्ट आयो । त्यो रिपोर्ट पाउँदा भने टाउको दुख्ने, ज्वरो आउने समस्या हटिसकेको थियो । अब कन्ट्याक्ट ट्रेसिङ र परिवारको स्वाब संकलन गर्न आउलान् भन्ने लागेको थियो, तर एक हप्तासम्म कोही आएनन् ।

त्यसपछि आफैँ फोन गर्न थालेँ । वडामा फोन गर्दा कोही सम्पर्कमै नआउने । केही सीप नलागेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) मा फोन गरेँ ।

११ दिन भइसकेको थियो, २७ गते बुलुकी ईडीसीडीको टोली आएर स्वाब लिएर गयो । तीन दिन पछि परिवारका सबैको नेगेटिभ रिपोर्ट आयो । म चाहिँ अहिले पनि आइसोलेसनमा छु ।

माथि उल्लेखित जिल्लाहरुमा हामीले भेटेकाहरुले पनि चेक गराउनुभयो । कसैलाई पोजेटिभ भएको खबर छैन ।

कन्ट्याक्ट ट्रेसिङमा ढिला हुँदा …

११ दिनसम्म कन्ट्रयाक ट्रेसिङ र परिवारको चेक गर्न नपाउँदा मानसिक तनाव धेरै भयो । वरिपरिका मान्छेसँग सम्बन्ध छैन, ढोका बन्द छ । खाना खान, पकाउन, तरकारी ल्याउन पनि अप्ठ्यारो छ । टोलका मान्छेहरु सशंकित नजरले मेरो घरतिर हेर्छन् । मेरो कारणले गर्दा भाडामा बस्नेका परिवार समेत बन्दाबन्दीमा परेका छन् ।

एकजना क्यान्सरका बिरामी हुनुहुन्थ्यो, मकहाँ आइराख्ने । उहाँलाई पनि आइसोलेसनमा राखिदिएका छन् । लामो समय ट्रेसिङ नगराउँदा र स्वाब नलिँदा मेरो कारण अरुलाई समेत तनाव भयो । कन्ट्याक्ट ट्रेसिङ गर्न टेकुमा सोध्दा वडाबाट आउँछ, हामीले नाम पठायौं भने । वडा र महानगरपालिकालाई सोध्दा मान्छे छैन, हामीले कति ठाउँमा भ्याउने भने । भोलि, पर्सी आउँने भन्छन्, तर आउँदैनन् ।

वडाका एकजना समन्वय गर्ने दिदीसँग मैले झगडा नै गरेँ ।

उहाँ संख्या अलि घटाऔं भनेर बार्गेनिङ गर्नुहुन्थ्यो फोनमा । कन्ट्याकमा आएका मान्छेहरु घटाउनपर्‍यो, हामी सबैलाई हेर्न सक्दैनौं भन्नुहुन्थ्यो । मसंग सम्पर्कमा भएका १२–१५ जना थिए । उहाँ ८–१० जना मात्र बनाऔं भनेर बार्गेनिङ गर्नुहुन्थ्यो । अनि मैले संख्या घटाउन खोज्ने, तपाईहरुले के गर्न खोज्या भनेर कडा स्वर बनाएँ ।

ईडीसीडीले स्वाब लिएको दुई दिनपछि वडाले सम्पर्क गर्‍यो । मैले अब तपाईंहरु आउन पर्दैन, अर्को ठाउँमा जानुस् भनिदिएँ ।

वडाबाटै समयमै आउन पर्थ्‍यो, आइदिएनन् । घर नम्बर छँदैथियो । स्थानीय सरकारको व्यवस्थापन यहाँनेर त्यति गतिलो भएन । महानगरपालिका सुविधा सम्पन्न छ । हामी त्यत्रो कर तिर्छौं, स्रोतको कमी नहुन पर्ने हो ।

आइसोलेसनमा बस्दा …

आइशोलेसनमा बस्दा रोग प्रतिरोधात्मक क्षमता बढ्छ भनेर बेसार पानी, गुर्जोको झोल बनाएर खाइयो । पानी बेस्कन खाएँ । मलाई पानीले नै कोरोना भगायो जस्तो लाग्छ ।

डाक्टरले ज्वरो आयो भने सिटामोल खान भनेका थिए । नत्र, मनोरञ्चन गर्ने, बस्ने भन्ने सल्लाह दिएका थिए । तर, संक्रमित भएर कोठमा एक्लै बस्दा मनमा बढी नकारात्मक कुरा खेल्दा रहेछन् । एक दिन हैन, दुई दिन होइन, धेरै दिन बस्नुपर्दा गाह्रै हुँदो रहेछ ।

र पनि, मैले आफूलाई भरसक व्यस्त राखेँ । अफिसको काम गरेँ, केही रिपोर्ट तयार पारेँ । पेण्डिङमा रहेका अरु कामहरु गरेँ । तीन दिन स्टाफ कलेजको तालिम लिएँ अनलाइनबाट ।

यसका अतिरिक्त केही कविता पनि लेखेँ । जस्तो–

टुटफुट खण्डित कुरा नगर,

बरु एकताको कुरा गर ।

जनताको सेवा गर्ने प्रण गर,

उन्नति र समृद्धिको सन्देश छर… ।

यस्तैयस्तै गरेर दिन कटाइरहेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment