Comments Add Comment

सामाजिक सञ्जाल र युवाले खोजेको परिवर्तन

संसार समयअनुरूप चल्छ । आजभन्दा २० वर्ष अगाडि देखिएको संसार र आजभन्दा २० वर्षपछि देखिने संसार पक्कै भिन्न हुन्छ । कोपिला राम्रो भए फूल राम्रो बनाउन सकिन्छ, सबै जगेर्ना गर्ने मालीको हातमा हुन्छ । यसको मतलब, हामीले देख्न चाहे अनुरूप संसार बन्छ तर कस्तो बनाउने ? हाम्रो हातमा छ यानी कि सबै वर्तमानको क्रियाकलापले देखाउँछ ।

हाम्रो गन्तव्य के हो ? कस्तो सोचले आगामी दिनलाई डोहोर्‍याउने ? इन्द्रीयहरूलाई कसरी वशमा राख्ने ? के गर्न हुने र के गर्न नहुने ? आफ्नो कर्तव्य के हो ? सबै सोच्ने भार युवा पुस्तामाथि आइसकेको छ । समाजलाई असल मार्गमा लाने काम एक व्यक्तिको मात्र नभई आचारयुक्त, अनुशासित युवा जमातको हो । हामी सबै युवाहरू तथा जुनै उमेर समूहको व्यक्तिहरू कुनै न कुनै रूपमा फरक भए तापनि सबैको आ-आफ्नै नियम तथा व्यवहार रहेको छ । जसलाई हामी आचार भन्छौं । हाम्रो आचार हाम्रो बोल्ने शैली, हाम्रो चालचलन र तौरतरिकामा पनि झल्किन्छ । युवा पुस्ताका सबै युवाहरू आचारयुक्त छन् त ? नैतिक दायित्व बोध गर्दै समाज डोहोर्याउने जिम्मेवारी काँधमा लिनका लागि युवाहरू तयार छन् त ?

सामाजिक सञ्जाल सबै उमेर समूहका व्यक्तिहरूले चलाउँछन् । फरक व्यक्ति, फरक परिवार, फरक समाज, संस्कार, भाषा, धर्म, पद धारणा गरेका व्यक्तिहरू सबैलाई मोबाइल फोनको एक स्क्रिनमा लेराई नजिक बनाएर सञ्चार युगले ठूलो फड्को मारेको छ । आफ्नो विचार, फोटो या कुनै अभिव्यक्ति आफ्नो वालमा राख्ने तथा सेयर गर्ने, अरूको जुनै पोस्टमा पनि आफूले प्रतिक्रिया दिन पाउने हुँदा सामाजिक सञ्जाल विचार विमर्श गर्ने, नयाँ कुरा जान्ने सिक्ने उपयुक्त ठाउँ हो । हाम्रो दैनिक जीवनमा असर पुग्ने राज्यका योजना, परियोजना, सामाजिक समस्या, ऐन कानुनमा वा अन्य विषयमा आफ्नो अभिव्यक्ति व्यक्त गर्न पाउनु, विशेषज्ञको राय वा आम नागरिकको विचार सुन्न पाउनु, उक्त राय मान्न या नमान्न पाउनु लोकतन्त्रले ल्याएको अभिव्यक्तिको स्वतन्त्रता हो ।

संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता सबै नागरिकको मौलिक हक हो, जन्मसिद्ध अधिकार हो । हक अधिकारहरू एकअर्कामा निर्भर हुन्छन् । एक अधिकारको हनन्ले कयौं अधिकारहरूमा आँच आउँछ । अभिव्यक्ति स्वतन्त्रताको हकका केही सीमितता नभएमा कुनै पनि व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हकमा आघात पुग्ने गर्छ जुन मानव अधिकार समेतको हनन् हो । यसै सन्दर्भमा जोन मिलका अनुसार, तर्क गर्नका लागि मात्र अभिव्यक्तिको स्वतन्त्रता हुन्छ न कि सामाजिक लाजमर्दो कुरामा । यसरी यो हकको अनुशरण गर्दा कसैलाई गाली तथा बेइज्जती गर्न, पोर्नोग्राफिक शब्दहरू प्रयोग गर्न पाइँदैन । उक्त शब्द प्रयोग गर्नु भनेको सामाजिक मर्यादा र कानुनविपरीत जानु हो ।

कोरोना भाइरसले आक्रान्त यस समयमा चर्केको “इनफ इज इनफ” आन्दोलनमा प्रयोग गरिएका थुप्रै स्लोगनहरूले थुप्रै सामाजिक सञ्जालका स्क्रिन ओगटेका थिए । केही स्लोगनमा प्रयोग गरिएका शब्दहरू सामाजिक मर्यादा र अनुशासन विपरीतका थिए । यसैगरी लकडाउनमा समय काट्न गाह्रो हुँदा कतिपय मानिसहरू सामाजिक सञ्जालमा अरू समयभन्दा धेरै सक्रिय भएका छन् । यसैको उपज विभिन्न पेजका विभिन्न पोस्टहरू, नायक नायिकाका पोस्टहरू, प्रधानमन्त्री वा अन्य मन्त्रीका सम्बन्धका पोस्टहरूमा प्रतिक्रिया पनि नसोचेकै आइरहेको छ । कोरोना रोकथामका योजना व्यवस्थित गर्न सरकार चुकेको छ । पद निर्जीव हुन्छ गैरजिम्मेवारी र निकम्मापन मात्र पदमा बहाल रहने व्यक्तिको हुन्छ ।

अहिलेको सरकारको तौरतरिकाबाट अघाएका कतिपय नागरिकहरू उक्त आक्रोश सरकारमाथि पोख्दै अपमानजनक तथा अश्लील शब्दहरूको प्रयोग गरी कमेन्ट गर्दै आएका छन् । यही लकडाउनमा नेपाल-भारतबीचको सीमा विवाद, फिल्म इन्डस्ट्रीको नेपोटिजम, कपडाको विषय, सामान्य ज्ञान तथा महानायकको विषयलाई लिएर धेरै नायक तथा नायिकाहरू विवादित बने । सरकारको पद, नायक नायिका, केही भिन्न यौनिक अभिमुख भएका व्यक्ति तथा केही टिकटकर्स, कोभिड १९ का बिरामी, आत्महत्या गरेका जो कोही(मृतक) वा अन्य सामान्य नागरिक पनि त्यस्ता नकारात्मक ढंगले गरिएको कमेन्टबाट बञ्चित छैनन् । यसै सन्दर्भमा जानीजानी उनीहरूको इज्जतमा धक्का पुग्ने गरी उनीहरूको प्रतिष्ठा वा ख्यातीमा आँच पुग्ने गरी निकै उच्छृङ्खल, अपमानजनक र अश्लील प्रतिकृयाहरू थुप्रै युवाले दिएको देखिन्छ।

सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणीमार्फत हुने दुर्व्यवहारले पीडितको मानसिकतामा प्रबल असर पार्ने हुँदा कतिपयले आत्महत्या समेत गर्छन् । पीडित तथा पीडितका परिवारहरूमा यसको असर दीर्घकालीन हुने गर्छ । अन्य उमेर समूहका नागरिकझैं बाल बच्चाहरू पनि सामाजिक सञ्जालमा उत्तिकै एक्टिव रहन्छन् । मिचिगन स्टेट युनिभर्सिटीका विशेषज्ञका अनुसार बालबच्चा आफूले देखेका कुराहरू नक्कल गर्ने गर्छन् । अत:सिको गरेरै सही उनीहरूले उक्त प्रतिक्रियाहरूको नक्कल गर्ने सम्भावना हुन्छ ।

सामाजिक सञ्जालमा युवाले व्यक्त गरेका शब्दमार्फत उनीहरूको सोच झल्किने गर्छ, जसमा टेकेर कुनै धारणा निर्माण हुन्छ । युवा जमातले गरेको अनावश्यक, अश्लील, अपमानजनक प्रतिक्रियाहरूको शिकार दुवै महिला र पुरुष एवं भिन्न यौनिक अभिमुख भएका व्यक्ति पनि हुन् । सबैमा आउने प्रतिक्रियाहरू फरक फरक हुनाले उनीहरू फरक किसिमले शिकार भएका छन् । तर युवाको हेर्ने नजरमा समाजकै सामूहिक पूर्वाग्रह समेटिएको छ ।

प्रतिक्रिया नियाल्दा अझै पनि समाजमा महिला तथा भिन्न यौनिक अभिमुख भएकाहरूको शारीरिक बनोटलाई निसानामा पारिन्छ । सदियौंदेखि पित्रृसत्ताले जसरी महिलालाई वस्तुको रूपमा हेर्ने गर्थ्यो युवाले उही सिको गरेका छन् । ती टिप्पणीमा छर्लङ्ग देखिन्छ कि उनीहरूको सोचले समाज, महिला, भिन्न यौनिक अभिमुख भएका व्यक्तिलाई असमानताको डोरीमा झनै अल्झाउँदै छ । यसो गर्नाले समाज हिंस्रक बन्ने सम्भावना हुन्छ । यस्ता कमेन्ट गर्नका लागि मात्रै भए पनि फेक आइडीहरू बन्ने गर्छन् । आफूले आफ्नो रियल आइडीबाट भन्न आपत्ति हुने, लाजमर्दो हुने, समाजमा स्वीकार्य हुँदैनहुने प्रतिक्रियाहरू त्यस्ता आइडीबाट दिने गरिन्छ जहाँ लेखकको नाम, ठेगाना र फोटो गोप्य हुन्छ ।

समयको मागअनुसार समाजमा मानिसहरूको व्यवहार नियमन गर्नका लागि पनि केही कानुनहरू बन्ने गर्छन् । सञ्चार तथा प्राविधिक युगको फाइदासँगै अत्यन्त भयावह बेफाइदाहरू रहेका छन् । समाजमा साइबर अपराधहरू घट्दै छन् । जस्तै, अनलाइन ह्यारेस्मेन्ट, साइबर बुलिङ, डाटा चोरी आदिले मानिसको सम्मानपूर्वक बाँच्न पाउने हक र गोपनियताको हकमा समेत आघात पुर्याएको छ । नेपालमा साइबर अपराधलाई विस्तृत रूपमा हेर्न छुट्टै ऐन बनाइएको छैन ।

हालसालै फेसबुकमा नकारात्मक टिप्पणी गरेको भन्दै दुई जनालाई साइबर ब्युरोले पक्राउ गरेको थियो । तर नेपालमा सामाजिक सञ्जालमा प्रचुर मात्रामा युवा जमातबाट आउने अपमानजनक, नकारात्मक तथा अश्लील प्रतिक्रियाहरूलाई नियमन गर्नका लागि कुनै स्पष्ट कानुन छैन । यस सम्बन्धका कसुरहरू विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ लाई आधार मानेर बेइज्जतीको कसुरभित्र राखेर हेरिन्छ । स्पष्ट कानुनको अभावमा उक्त कार्य गर्न छुट भएझैं मानी मानिसहरू झनै आक्रमक बनेका छन् । यस सम्बन्धी कसुरलाई नियमन गर्न राज्यको भूमिका अत्यावश्यक छ ।

विचार र अभिव्यक्तिको स्वतन्त्रता एवं सीमितता, विषयवस्तु, टिप्पणीको गाम्भीर्यता, पीडितलाई पुग्ने असरलाई ध्यानमा राख्दै सामाजिक सञ्जालमा हुने दुर्व्यवहारको नियमन गर्न स्पष्ट रूपमा आवश्यक कानुन बनाउनुपर्छ । कानुनसँगै हाम्रो व्यवहारमा समेत परिवर्तन हुन आवश्यक छ, किनकि सामाजिक संरचनामा अवस्थित सबै समस्याहरू कानुन लागू गरेर मात्र निर्मूल हुँदैनन् । समस्या तबसम्म रहिरहन्छ जबसम्म युवाहरू शत र असत्को भिन्नता बुझ्दैनन्, नैतिक दायित्व बोध गर्दैनन्, आफैँ परिवर्तन हुँदैनन् ।

शिष्ट र मर्यादित भाषाको प्रयोग गर्नु सबैको नैतिक दायित्व हो । युवाको दुराचारको कारणले युवाहरू नै सामाजिक सञ्जालमा पीडित हुनुहुँदैन । हामी युवाहरू अब आउने पुस्ताका अनुयायी हौं, नयाँ समाजका सर्जक हौं । भरेभोलि देश हाँक्ने युवा जमातले नै कसैको हकको हनन् गरिरहेका छन् भने अरूको हकका लागि कसरी लड्छन् ? समस्यामाथि समस्या थपिएको समाजलाई समस्यारहित बनाउन निकै मुस्किल हुन्छ, बिग्रेका कुरा बनाउन मुस्किल भएझै । यसैले व्यक्ति असल भए परिवार असल हुन्छ, परिवार असल भए समाज असल हुन्छ र मात्र राज्य असल हुन्छ ।

समाजलाई प्रगतितर्फ प्रस्थान गराउन सकारात्मक सोच राख्ने, सबैलाई सम्मान गर्ने, आचारवान, अनुशासित र असल कर्म गर्ने युवा जमातको भूमिका मुख्य हुन्छ । हामी युवाले देखेको परिवर्तन हामी आफैँ हौं । हामीभित्र परिवर्तन सम्भव छ भने समाज सकारात्मक रूपले परिवर्तन हुने निश्चित छ।

(त्रिपाठी ‘काठमाडौं स्कुल अफ ल’मा कानुन विषय अध्ययनरत छिन्)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment