Comments Add Comment

कुन पाठशालामा सिक्ने दिगो सम्बन्धको पाठ ?

काठमाडौं । न त कुनै कक्षा, न त कुनै तालिम । जीवन भोगाइको क्रममा आफैँले सिक्ने र अनुभव गर्दै जाने कुरा नै प्रेम हो । प्रेम सम्बन्धको विषय सबैको लागि एउटै हुँदैन । प्रेमलाई मान्छेले कसरी बुझ्छ ? त्यसमा निर्भर हुन्छ उसको प्रेमसम्बन्ध कस्तो हुन्छ भन्ने कुरा । एकले अर्काेको कुरामा विश्वास गर्ने र भरोषा राख्ने गर्नुपर्छ । त्यो सबैको जीवनमा लागू हुने सूत्र हो । यसबाहेक अरू सबै मान्छेको सम्बन्ध र उनीहरूको व्यवहारले प्रेम जीवनमा हुन सक्ने उथलपुथलको सम्भावित घटनालाई निर्देशित गर्छ ।

प्रेम सिक्नको लागि यही जीवन नै पाठशाला हो । तत्काललै आउने प्रतिकूल अवस्था नै परीक्षा हो । समाज र समाजका सदस्यहरू नै यसका परीक्षकहरू हुन् भने सिंगो जीवन परीक्षा केन्द्र हो । दिगो सम्बन्धको पाठ सिक्ने पाठशाला यही जीवन हो । नियमित उत्तीर्ण हुने परीक्षार्थीहरूले सुखपूर्वक जीवन जिउँछन् भने अनुत्तीर्ण हुनेहरूको जीवन त्यही विन्दुबाट ट्रयाक बाहिर जान पुग्छ ।

सुमन पन्त र सुप्रिया शाक्यबीचको प्रेम सम्बन्धले ५ औं वसन्त पार गरिसकेको छ । मानभवन ललितपुरमा बस्ने सुप्रिया र अनामनगर बस्ने सुमनको भेट हुने जक्सन हो, शंखमूल पार्क । उनीहरूबीच नियमित त्यही पार्कमा भेट हुन्छ । पहिलो एक/डेढ वर्ष त उनीहरूमा पनि धेरै नै झगडा हुन्थ्यो । सानो कुरामा पनि झगडा गर्ने र एकअर्कामा दुई दिनसम्म पनि बोल्दैन’थे । तर बिस्तारै एकले अर्कालाई चिन्दै गएपछि एउटा रिसाउँदा अर्काेले फकाउने र अर्काे रिसाउँदा अर्काेले फकाउन थाले । त्यसपछि उनीहरूको सम्बन्ध प्रगाढ हुँदै गयो ।

बिस्तारै उनीहरूबीच नियमित भेटघाट हुन थाल्यो । लामो समयसँगै बस्न नपाए पनि १५ मिनेटको लागि मात्रै भए पनि भेटघाट र कुराकानी हुन थाल्यो । नियमित फोन सम्पर्क हुन थाल्यो ।

परिवारका सदस्यलाई पनि उनीहरूको सम्बन्धको बारेमा राम्रोसँग थाहा छ । प्रेमसम्बन्धको विषयमा कसैले नराम्रोभन्दा या शंकाको दृष्टिले हेर्दा उनीहरूको चित्त दुख्छ । प्रेमसम्बन्ध फस्ने नभई सम्बन्ध गाँस्ने एउटा कसी रहेको उनीहरू बताउँछन् ।

प्रेम सम्बन्ध एउटा अविरल नदी जस्तै हो । जहाँ धेरै जंघारहरू आउँछन् । धेरै भड्खालोहरू आउँछन् । ती सबैलाई पुरेर आफू सम्हालिएर हिँड्नुपर्छ । सधैं गम्भीर हुने भन्दा रोमाञ्चित हुनुहोस् र आफ्नो साथीको मुड अनुसारको व्यवहार गर्नुहोस् ।

धेरै जोडीहरू आफ्नो सम्बन्धमा मात्र ध्यान दिन्छन् । तर तत्कालको लागि टालटुल पार्ने सम्बन्धमा रमाउनेहरूले दिगो सम्बन्ध जोड्न सक्दैनन् । अनावश्यक समस्यालाई पन्छाएर, सामान्य मनमुटावलाई बेवास्ता गरेमात्र प्रेमको सागरमा सयर गर्न सकिन्छ ।

प्रेम आफैंमा संवेदनशील विषय हो । त्यसलाई अविछिन्न गराउनको लागि वा प्रेमलाई समस्याको जड नबनाई जीवनको एउटा अभिन्न पाटोको रूपमा विकास गर्नको लागि निम्न विषयलाई कहिलै पनि भुल्न नहुने जानकारहरू बताउँछन् ।

१ दैनिक भेटघाट

भौतिक दुरीले मात्रै प्रेम सम्बन्ध प्रगाढ बन्छ भन्ने त होइन । यद्यपि हामीले दैनिक भेटघाटलाई प्रेमसम्बन्धमा प्रधानता दिनै पर्ने हुन्छ । एकले अर्कालाई हेर्दै र सुन्दै गरेका कुराहरू, आँखामा आँखा जोडेर गरेका गरेका स्पर्षहरू प्रेमको कोपिलामा मुना थप्ने भिटामिनहरू हुन् । सधैं यादगर सम्बन्ध स्थापित गर्नको लागि सम्भव भएसम्म नियमित भेटघाट गर्नु आवश्यक हुन्छ ।

२ नियमित सञ्चार सम्पर्क

दैनिक भेटघाट सम्भव भएका र नभएकाहरूको लागि समेत नियमितको सञ्चार सम्पर्क आवश्यक कुरा हो । सम्बन्ध जति कुराकानी ग¥यो उति नै गाढा बन्दै जान्छ । एकले अर्काेलाई घुक्र्याउनु र इत्रिनु पनि सुमधुर सम्बन्धको एउटा उपज हो । आफ्नो केही गुणस्तरीय समय आफ्ना प्रेमी वा प्रेमिकासँगै बिताउनु पनि सुमधुर सम्बन्धको लागि आवश्यक कुरा हो ।

३ सम्बन्धमा त्यागको भाव

सम्बन्धमा धेरै लेनदेन हुन्छ । सम्बन्धकै लागि आफ्नो बहुमूल्य समय खर्च हुन सक्छ । झट्ट हेर्दा त्यो समय आफैंमा व्यर्थको लाग्न सक्छ । तर त्यो जीवनको मूल्यसँग जोडिएको हुनसक्छ । त्यसैले सम्बन्धमा धेरै कुरा लिन र दिन सक्नुपर्छ ।

४ उतारचढावको व्यवस्थापन

प्रेम सम्बन्धमा धेरै उतारचढावहरू आउन सक्छ । अझ ‘म्याच्योर्र्ड’ नभइसकेको प्रेम सम्बन्धमा झनै धेरै उतारचढाव आउनसक्छ । त्यस्तो अवस्थामा हामीले सम्हालिएर परिस्थितिलाई आफ्नो काबुमा ल्याउनुपर्छ । आफू कतिपय समस्यामा गुज्रिएको हुन सकिन्छ । त्यस्ता समस्यामा सुझाव लिनुबाहेक सकेसम्म समस्यामा सामेल नगराउनु नै उपयुक्त हुनसक्छ । कुनै बेलामा सम्बन्धमा आएको समस्या समाधानका लागि अतिरिक्त दबाब र प्रभावको बाटो रोज्नु हुन्न । यसले झनै समस्या सिर्जना गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment