+
+
Shares
नाटक :

जब सेलरोटी, सेलरोटी नरहेर अरू केही हुन्छ

नाटक हेरिसक्दा लाग्दैन – सेलरोटीको स्वाद त यस्तो पनि हुँदोरहेछ । सेलरोटीले त यति धेरै स्थानीय अर्थ पनि बोक्दोरहेछ ।

सापेक्ष सापेक्ष
२०८३ असार १२ गते १८:४२

सेलरोटी भन्ना साथै तपाईंको दिमागमा के आउँछ ?

तिहारमा आमाले पकाएर नाङ्लाभरी राखेका सेलरोटी ? पूजा, बिहे वा अरू कुनै शुभकार्यमा पकाएर थुपारिएका सेलरोटी । अथवा अरू केही ?

टेकुस्थित कौसी थिएटरमा चलिरहेको नाटक -टेस्ट अफ सेलरोटी- मा भने यी भन्दा केही बढी पाइन्छ । सायद यादभन्दा पनि नाटकले याद दिलाउने बनाउँछ । किनकि यो नाटकले सेलरोटीलाई केन्द्रमा राख्दै प्रतीक, बिम्बको स्वरूपमा सम्बन्ध, सम्झना, विछोड देखाएको छ ।

नाटक हेरिसक्दा लाग्दैन – सेलरोटीको स्वाद त यस्तो पनि हुँदो रहेछ । सेलरोटीले त यति धेरै स्थानीय अर्थ पनि बोक्दोरहेछ । सेलरोटीले त यस्तो पनि भन्दोरहेछ । उस्तो पनि गर्दोरहेछ ।

000

मिथकहरूलाई कथामा बुन्नु यो नाटकको अब्बल पक्ष हो । नाटकको आधार नै मिथक हो भन्दा पनि फरक पर्दैन । त्यसमा नाटककार तथा निर्देशक मिल्सन डि. चाम्लिङको व्यक्तिगत अनुभवले समेत धेरै नै काम गरेको छ ।

उनका अनुसार बाल्यकालमै उनले आफ्नो बाजे रङध्वज राईले सेल पोलेको देख्नु, माओवादी द्वन्द्व क्रममा कम्युनिस्ट किताबहरू बारीमा लुकाउनु आदि यो नाटकको मुल प्रेरणा हो । र, उनले तिनै आफ्नो स्मृतिहरू, आफ्नो समुदायको मिथकहरू टिप्दै यो नाटक लेखेका हुन् ।

यो नाटकमा तीन फरक कथालाई एउटा विषयले सिएर माला बुनेजस्तै बनाइएको छ । यसको प्रेरणा भने उनले अनुप बरालको तीन एकान्त नामक नाटकबाट लिएको सुनाए । त्यसै नाटकमा आफूले पहिलो पटक फरक–फरक कथालाई एउटा पूर्ण नाटकमा हेरेको उनले सुनाए ।

यो नाटकको हकमा भने तीन कालखण्डको बिल्कुलै अलग कथालाई नाटकमा देखाउन भाग-भाग बनाएर छुट्याएका छन् । तिनलाई जोड्न बीचबीचमा एनिमेटेड भिडियो पर्दामा देखाएका छन् । हरेक भाग सुरु हुन अघि सन्दर्भस्वरुप एनिमेसन अथवा भिडियो बज्छ । यसमा कलाकार अदिती शेर्पाको कामलाई प्रशंसा गर्नैपर्छ ।

अब नाटकका भागहरूलाई नजिकबाट गरौं:

आधुनिक समाज र सम्बन्ध

यो भागले समसामयिक समाजलाई देखाउन खोजेको छ । यसले जेनजी आन्दोलनको पृष्ठभूमिलाई छुन्छ । यसको उत्कृष्टता नै यो आन्दोलनको नेपथ्यमा छ ।

मञ्चमा हामीले सम्बन्धविच्छेद भइसकेको एकपूर्व जोडीलाई देख्छौं । त्यसमा पनि पुरुषको कोठा । जहाँ उसलाई भेट्न भूतपूर्व श्रीमती आएकी छिन् । उनले अर्को विहे गरिसकेकी छिन् छिन् । स्वर्गीय सन्तानको जन्मदिनको सम्झनामा उनीहरू भेट गरिरहेका छन् । उनीहरूको त्यो सन्तान जेनजी आन्दोलनमा मारिएका हुन्छन् ।

उनीहरू भेट अनपेक्षित रूपमा मोडिन्छ ।

त्यसैक्रममा कुराकानीबाटै हामीलाई उनीहरूको पुरानो सम्बन्ध, बिछोड, पश्चात्ताप र सन्तान गुमाउनुको पीडा देखाइएको छ । एकअर्थले त्यसो गरिदाँ नाटक अलि धिमा हो कि भन्ने महसुस हुन्छ । यसमा महिलालाई अलि बढी आधुनिक देखाउने प्रयास गरिएको छ । तर त्यो क्रममा केही संवादहरू कृत्रिम सुनिन पुगेको छ । अर्कोतर्फ यो भागको एउटा उत्कृष्ट काम भान्सामा पाक्दै गरेको सेलको सुगन्ध दर्शकहरूले महसुस गर्न पाउनु हो ।

त्यो बीचमा यहाँ सेलरोटी के अर्थ लिएर आउँछ ? त्यो भागको गुह्य कुरा हो ।

किरात मिथक

यो भाग किरात मिथक सुम्निमा र पारुहाङको कथामा आधारित छ । पारुहाङ र सुम्निमाबीचको सम्बन्ध, अपमान, श्राप र त्यसले निम्त्याएको उथलपुथललाई यसमा देखाइएको छ ।

यो भाग पहिलेको तुलनामा अलि बढी सशक्त छ । प्रप्स, भाषा, प्रकाश, ध्वनिका कारण त्यो महसुस हुन्छ । यो भाग भर पूरै बान्तावा भाषा प्रयोग गरिएको छ । पारुहाङ र सुम्निमाबीचको संवाद पनि पहिलेको तुलनामा बढी ऐतिहासिक सुनिन पुगेको छ ।

त्यस्तै यसमा प्रकाशका कारण पारुहाङको अनुहार खासै देखिँदैन । निर्देशकको अभिरुचिका कारण सम्भवत: त्यसो गरिएको हुन सक्छ । यो भाग सबैका आधारमा अन्य भागहरूको तुलनामा बढी नै सशक्त देखिएको छ । तर, मिथक र भाषा कतिपयका लागि बाधक भने हुन सक्छ ।

यद्यपि यसमा पनि सेलरोटी छुट्दैन ।

माओवादी द्वन्द्वकाल

यो खण्ड किरात लोककथाको थेबेउ चराको दन्त्यकथा र माओवादी सशस्त्र द्वन्द्वकालको परिवेश आसपास छ । गाउँलेहरूको छलका कारण आफ्नो बच्चा गुमाउनु परेकी एक आमाले धार्मिक अनुष्ठानका क्रममा छोरा थेबेउ चरा बन्न पुगेको थाहा हुन्छ ।

थेबेउ के हो ? किरात सँस्कृतिमा यो किन महत्त्वपूर्ण छ ? यो कुरा खुलाउँदै यस भागमा माओवादी द्वन्द्वकालको सामाजिक परिवेशलाई पनि थोरबहुत देखाउन खोजिएको छ । यहाँ उल्लेख गर्दा एउटी आमाले छोरा खोज्दाको दु:ख नै यो भागको उत्कर्ष हो । यहाँ पनि एउटा विशेष सन्दर्भमा सेलरोटी जोडिन्छ ।

तर, अन्य भागको तुलनामा यो अलि छोटो छ । यद्यपि यसमा कम्युनिस्ट लोग्ने र साधारण गाउँले श्रीमतीको संवाद निकै उत्कृष्ट छ । संवादहरू हाँस्यदेखि गहन सुनिन्छ ।

एकमुष्ट झझल्को

यो नाटकले हामीलाई प्रागऐतिहासिक समय, माओवादी सशस्त्र द्वन्द्वकाल र हालै भएको जेनजी आन्दोलनसम्म पुर्‍याउँछ । तर, ती घटनाको गहिराइमा भने हामीलाई लाँदैन । मुलत: निर्देशकको ध्येय घटनाकेन्द्रितभन्दा पनि पात्र केन्द्रित भएर त्यसो भएको हुन सक्छ । तर, घटनाको गहनता नहुँदा कताकता केही खड्केको महुसस हुन जान्छ ।

अर्कोतिर, एनिमेसन/गीत जस्ता सिर्जनाका अन्य विधाहरू मिसाउनु अर्थात् ‘प्रयोग’ यो नाटकको सशक्त पक्ष बनेको छ । निर्देशक राईका अनुसार अनुराग कोइँचले यो नाटककै लागि भनेर ‘मायाको मौरी’ नामक गीत तयार पारेका छन् । जसमा अनुराग र एलिना राईले स्वर दिएका छन् । यो गीत नाटक मञ्चनको समयमै रिलिज गरिने निर्देशक राईको भनाइ छ ।

कलाकारहरू वेदना खेरसुङमा राई, प्रयास राई र निर्देशक मिल्सन डी चाम्लिङ ।

अर्कोतर्फ नाटक निकै मिनिमलिस्टिक बनेको छ । सेटमा खासै ठूलो घटना हुँदैन । वेदना खेरसुङमा राई र प्रयास राईले प्रत्येक भागमा दुई पात्र गरेर कुल ६ पात्र निभाएका छन् । उनीहरूको परिपक्क अभिनयले धेरै थोक ढाकछोप गरेका छन् ।

समग्रमा, एउटा मिथकलाई टिपेर बनाइएको यो सुन्दर नाटक हो । सन्तान गुमाउँदाको पीडा, विगत र वर्तमानको सामीप्यता, नातासम्बन्धमा आउने उतारचढाव मिहीन तरिकाले देखाउन सफल भएको छ ।

प्रस्तुति : कथाघेरा

निर्देशक : मिल्सन डि. चाम्लिङ

कलाकारहरू : वेदना खेरसुङमा राई र प्रयास राई

मञ्चन भइरहेको स्थान : कौशी थियटर, टेकु

मञ्चन अवधि : ७ देखि २९ असारसम्म

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?