+
+
Shares

सरकार स्मार्ट बनोस्, तर ओभर स्मार्ट नबनोस् : गीता गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते १२:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसकी सांसद गीता गुरुङले १२ कक्षाको नतिजामा देखिएको त्रुटिको निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही गर्न सरकारसँग माग गरिन्।
  • उनले राष्ट्रिय परीक्षा बोर्डले हतारमा नतिजा सार्वजनिक गर्दा हजारौँ विद्यार्थी र अभिभावक मारमा परेको भन्दै सरकारलाई ओभर स्मार्ट नबन्न चेतावनी दिइन्।
  • सांसद गुरुङले रिटोटलिङका नाममा विद्यार्थी लुट्ने काम बन्द गर्दै पुनर्योग शुल्क खारेज गरी निःशुल्क पुनर्मूल्यांकनको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन्।

१४ असार, काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारलाई ओभर स्मार्ट नबन्न सचेत गराएकी छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारलाई ओभर स्मार्ट नबन्न चेतावनी दिएकी हुन् ।

सरकार ‘स्मार्ट’ बन्ने नाममा ‘ओभर स्मार्ट’ हुन खोज्दा विद्यार्थीको भविष्यमाथि खेलवाड भएको टिप्पणी गर्दै उनले यस्ता विषयमा सरकारलाई सचेत रहन आग्रह गरिन् ।

१२ कक्षाको परीक्षाफलमा गम्भीर त्रुटि देखिएको भन्दै त्यसको निष्पक्ष छानबिन गर्न सरकारसँग उनले माग गरिन् ।

सांसद गुरुङले राष्ट्रिय परीक्षा बोर्डले हतारमा नतिजा सार्वजनिक गर्दा हजारौँ विद्यार्थी र अभिभावक मारमा परेको बताइन् ।

सरकारले करिब ३० दिनभित्रै नतिजा सार्वजनिक गर्नुलाई उपलब्धिका रूपमा व्याख्या गरे पनि सो निर्णय प्रत्युत्पादक बनेको उनको तर्क थियो ।

उनले माइतीघर मण्डलामा न्याय माग्दै आन्दोलनरत विद्यार्थीको मागमा ऐक्यबद्धता समेत व्यक्त गरिन् ।

सदनमार्फत शिक्षा मन्त्रीको ध्यानाकर्षण गराउँदै सांसद गुरुङले नतिजा प्रकाशनमा भएको लापरवाहीबारे उच्चस्तरीय र निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही गर्न माग गरिन् ।

उनले हाल बनेको छानबिन समिति केवल औपचारिकतामा मात्र सिमित हुन नहुनेमा जोड दिइन् ।

उनले भनिन्, ‘छिटो नतिजा सार्वजनिक गरेर स्मार्ट हुनु स्वागतयोग्य छ, तर नतिजाको शुद्धतामा नै असर गर्ने गरी प्रक्रियामा तोडमरोड गरिनु निन्दनीय छ । रिटोटलिङका नाममा विद्यार्थी लुट्ने काम बन्द गरियोस् र निःशुल्क पुनर्मूल्यांकन हुने व्यवस्था मिलाइयोस् । सभामुख महोदय, सरकार स्मार्ट बनोस्, त्यसमा हाम्रो सदैव शुभेच्छा छ, शुभकामना छ र साथ पनि छ । तर पटक-पटक हरेक विषयमा प्रश्नै–प्रश्नले घेरिने गरेर सरकार ओभर स्मार्ट बन्न नलागोस् ।’

सांसद गुरुङले विद्यार्थीले पुनर्योग (रिटोटलिङ) का लागि तिर्नुपर्ने चर्को र अव्यवहारिक शुल्क तत्काल खारेज गर्नुपर्ने माग राखिन् ।

विद्यालयको आन्तरिक परीक्षामा उत्कृष्ट अंक ल्याउने र परीक्षा राम्रो दिएका विद्यार्थीहरू समेत अहिलेको नतिजाबाट असन्तुष्ट हुनुले परीक्षा प्रणाली र कोडिङ–डिकोडिङ प्रक्रियामा गम्भीर त्रुटि भएको संकेत गर्ने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?