Comments Add Comment

डोटी अस्पतालले सुरु गर्‍यो पीसीआर परीक्षण

२ भदौ, डोटी । जिल्ला अस्पताल डोटीले सोमबारदेखि पीसीआर परीक्षण सुरु गरेको छ ।सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले अस्पतालमा जडान गरिएको प्रयोगशालाको उद्घाटन गरेका छन् ।

गत चैत्र १५ गते प्रदेश सरकारले डोटी, कञ्चनपुर र बैतडीमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । प्रयोगशालामा एक लटमा ९६ स्वाव परीक्षण गर्न सकिने अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश ठकुल्लाले जानकारी दिए । उनले भने ‘स्वाव परीक्षण गर्ने प्रक्रिया सुरु भइसकेको छ । प्रयोगशालामा प्राविधिकहरु खटिसकेका छन् ।’ उनका अनुसार एक लटमा चार जना प्राविधिक खटिने छन् ।

‘परीक्षण आजैदेखि सुरु भएको हुँदा कति जनशक्ति आवश्यक पर्ने रहेछ, कति समय लाग्ने रहेछ भन्ने कुरा एक/दुई दिनपछि मात्रै थाह हुन्छ,’ डा. ठकुल्लाले भने, ‘त्यसै अनुसार अन्य व्यवस्थापन गर्छाैं ।’

उनका अनुसार अस्पतालमा तालिम प्राप्त पाँच जना प्राविधिकहरु छन् । सीमित जनशक्ति भएका कारण उनीहरुले कति समयसम्म खट्न सक्छन् सोही अनुसार स्वाव परीक्षण हुने उनको भनाइ छ ।

प्रयोगशालाको उद्घाटनको क्रममा मुख्यमन्त्री भट्टले डोटी जिल्ला अस्पतालमा १० शय्याको कोरोना अस्पताल र दुई थान भेन्टिलेटर छिटै जडान गरिने बताए ।

प्रयोगशाल स्थापनाका लागि करिब डेढ करोड खर्च भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए ।

जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले प्रयोगशालाका लागि भौतिक पूर्वाधार तयार गर्न झण्डै एक महिना लागेको बताए ।

प्रदेश सरकार आफैंले स्थापना गरेको यो पहिलो प्रयोगशाला हो । यसअघि सुदूरपश्चिममा दुई प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । कैलालीमा रहेको प्रयोगशाला नेपाल सरकारले स्थापना गरेको हो भने डडेल्धुरा अस्पतालमा स्थापना भएको प्रयोगशाला सामाजिक अभियन्ताहरुले आर्थिक सहयोग संकलन गरी स्थापना गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment