Comments Add Comment

भारतमा कोरोनाबाट भएको मृत्युमा कति छुटेका छन् ?

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ हजार नाघ्यो । यससँगै भारत कोरोनाबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुने चौथो ठूलो मुलुक हो ।

यद्यपि प्रति १० लाख मानिसमा कोरोनाबाट मृत्यु हुने दर भने युरोप र उत्तर अमेरिकाको तुलनामा कम छ । भारतमा प्रति १० लाख मानिसमा ३४ जनाको मृत्यु भएको छ ।

संक्रमितहरुको मृत्युदर पनि दुई प्रतिशतको हाराहारीमा छ । सबैभन्दा बढी प्रभावित बनेको महाराष्ट्रमा पनि कोरोनबाट मृत्यु हुनेको संख्या दोब्बर हुन करिब ४० दिन लागेको देखिएको छ । भारतको थिंक ट्यांक पब्लिक फउण्डेसन अफ इन्डियाका अध्यक्ष के श्रीनाथ भन्छन्, ‘संक्रमितको संख्या बढिरहँदा पनि मृत्युदर भने कम देखिएको छ ।’

संक्रामक रोग विशेषज्ञहरु मृत्युदर कम हुनुमा युवा पुस्तामा कोरोना भाइरसको संक्रमण धेरै देखिनु एक कारण रहेको बताउँछन् । धेरै उमेर भएका मानिसमा कोरोना भाइरस बढी जोखिमपूर्ण देखिएको छ । त्यसबाहेकका अन्य कारण भने स्पष्ट भएको छैन ।

त्यसो त दक्षिण एसियाका अन्य मुलुकमा पनि कोरोनाबाट हुने मृत्युदर कम देखिएको छ । बंगलादेशमा प्रति १० लाख मानिसमा २२ जनाको मृत्यु भएको छ भने पाकिस्तानमा २८ । स्पष्टरुपमा जनसंख्याको आधारमा हेर्ने हो भने भारतले युरोपले भन्दा राम्ररी कोरोना भाइरसको महामारीको सामना गरिरहेको छ ।

तर विश्व बैङ्कका पूर्व वरिष्ठ अर्थशास्त्री कौशिक बासु भने तथ्यांकलाई जोडेर सान्त्वना लिन खोज्नु उचित नहुने बताउँछन् । भन्छन्, ‘चीनमा कोभिड–१९ बाट भएको मृत्युदर प्रति १० लाख मानिसमा ३ छ । भारतमा यो संख्या ३४ छ । दक्षिण एसियामा प्रति १० लाख मानिसमा कोरोनाको मृत्युदर अफगानिस्तानको मात्र बढी छ र भारत त्यसलाई उछिन्ने दिशामा छ ।’

बासुका अनुसार भारत विश्वका केही मुलुकमा पर्छ, जहाँ कोरोना भाइरसको संक्रमणको ग्राफ घट्न सकेको छैन । ‘मार्चको अन्तिमदेखि अहिलेसम्म संक्रमित र मृतकको संख्या बढिरहेको छ । बढिरहेको मात्र छैन, वृद्धिदर पनि स्थिर छ’, उनले भने ।

अन्य विशेषज्ञहरु पनि भारतको तुलनात्मक रुपमा कम देखिएको मृतयुदरले भारतको समग्र अवस्स्था भने नदेखाउने बताउँछन् । साथै केही विशेषज्ञहरु भारतका केही राज्यमा कोरोना भाइरसबाट भएको मृत्युको संख्या कम राखिएको बताउँछन् ।

भारतका धेरै राज्यमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले तयार पारेको मापदण्ड पनि पालना नगरी शंकास्पद संक्रमितलाई अन्तिम गणनामा सामेल गराउँदैनन् । केही राज्यले कोरोना भाइरसबाट भएको मृत्युको गणना पनि विभिन्न अवस्थालाई आधार मानेर मात्र समावेश गर्ने गरेका छन् । एक अनुसन्धानमा भारतको गुजरात र तेलंगनामा उल्लेख्य मात्रामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या लुकाइएको पाइएको छ ।

गुजरातको बडोदरामा पछिल्लो दुई महिनामा मृतकको संख्या केवल ४९ प्रतिशतले बढेको छ । जबकी यो सहरमा संक्रमितको संख्या भने ३२९ प्रतिशतले बढिसकेको छ । केही सहरमा कोरोनाबाट मृत्यु भएकाहरुको अन्त्येष्टि र आधिकारिक तथ्यांकबीच ठूलो अन्तर देखिन्छ ।

त्यसैले भारतमा कोरोनाबाट भएका धेरै मृत्युहरु हराइरहेको देखिन्छ । त्यसमाथि पनि भारतमा अहिलेसम्म समग्र जनसंख्याको सानो हिस्साको मात्र कोरोना परीक्षण गरिएको छ । यस्तो अवस्थामा मेडिकल्ली रिपोर्ट नगरिएका मृत्युहरु पनि धेरै हुन सक्ने बताइएको छ । भारतमा मृत्यु हुने चारमध्ये एकजनाको मात्र मृत्युको कारण प्रमाणित हुने गरेको छ । विशेषज्ञहरु पनि भारतको कमजोर स्वास्थ्य नियामन प्रणालीका कारण धेरै मृत्युहरु कोरोना भाइरसबाट भएको मृत्युको गणनामा छुटेको हुन सक्ने बताउँछन् ।

यद्यपि आधिकारिक तथ्यांकभन्दा कति कम छ त ? भन्ने अहिले एक महत्वपूर्ण प्रश्न बन्न पुगेको छ ।

अघिल्ला वर्षहरुको तथ्यांकहरुको अभावमा यो अवधिमा थप कति धेरै मानिसको मृत्यु भयो भनेर पत्ता लगाउन नसकिने मिसिगन युनिभर्सिटीका भ्रमर मुखर्जी बताउँछन् । सामान्य अवस्थामा हुने मृत्युभन्दा यस वर्ष मृत्यु हुनेको संख्या कति बढ्यो भन्ने अध्ययन गरी थपिएको मृत्यु संख्यालाई कोरोनाबाट भएको सम्भावित मृत्यु मान्न सकिन्छ । त्यसैले २३० भन्दा बढी डाक्टर, शोधकर्ता र विद्यार्थीहरुले सरकारसँग पछिल्लो तीन वर्षमा भएका मृत्युहरुको विवरण उपलब्ध गराउन माग गरेका छन् ।

तर मृतकको संख्या छुट्ने भारत एक्लो मुलुक भने होइन । २८ मुलुकमा गरिएको सर्वेक्षणमा कोरोना भाइरसको महामारीको अवस्थामा सामान्य अवस्थाको भन्दा एक लाख ६१ हजार धेरै मानिसको मृत्यु भएको पाइएको थियो । यो सर्वेक्षणमा भारत समावेश थिएन ।

युनिभर्सिटी अफ टोरोन्टोका प्रभात झा भारतमा अहिले फैलिरहेको संक्रमण तथा संक्रमणको कारण हुने मृत्यु घटाउन भारतीय टेलिकम कम्पनीहरुले सबै कल रेकर्ड डेटा सरकारलाई बुझाउनुपर्ने बताउँछन् । यसका आधारमा लाखौं भारतीयहरु लकडाउनपछि कुन स्थानबाट कुन स्थानमा गए भन्ने जानकारी हुने र त्यसको आधारमा सरकारी टोली हटस्पटमा पठाई यसलाई नियन्त्रण गर्न सकिने झाको भनाइ छ ।

अघिल्ला वर्षहरुमा हुने गरेको मृत्यु र यस वर्षको मृत्युको तथ्यांक नगरपालिकाहरुले उपलब्ध गराउनुपर्ने झाले बताए । ‘राम्रोसँग मृृत्यु कति भएको भन्ने तथ्यांक नभई भारतले कसरी कोभिड–१९ बाट हुने मृत्युदर घटाउन सक्छ ?’ झा प्रश्न गर्छन् ।

यो महामारी सकिएपछि कोरोना भाइरसको कारण मृत्यु भएका मानिसहरुको संख्याको आधारमा उक्त मुलुकको संक्रामक रोग नियन्त्रणको क्षमता मापन गरिन्छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment