
ताते म गर्थेँ हरसाथ पाई
खेल्थेँ म भुल्थेँ सँगमा रमाई
मुसुक्क हाँस्थ्यो तब यो मुहार
बाबा तिमी हौ मनका जुहार ।।१।
घोडा बनाई हट काँधमाथि
म गर्न भन्थेँ हिँड लौन साथी ।
बन्थ्यौ सवारी जहिल्यै तयार
बाबा तिमी हौ मनका जुहार ।।२।
भोकै बसेका कति छन् कहानी
निमित्त मेरै न भन्यौ जवानी ।
सन्तान ठान्छौ सुख बारबार
बाबा तिमी हौ मनका जुहार ।।३।
बोकेर आभा नित टल्किने छौ
माया खन्याएर छचल्किने छौ ।
कुनै समस्या न कुनै दरार
बाबा तिमी हौ मनका जुहार ।।४।
शिक्षा र दीक्षा भरिपूर्ण पारी
दियौ खन्यायौ जति छन् निथारी
मान्नेछु यो उत्तम दिव्य सार
बाबा तिमी हौ मनका जुहार ।।५।
जन्मेर तिम्रो ऋण तिर्न सक्ने
भएँ म झोली अब भिर्न सक्ने ।
बोल्नै नपर्ने दिलको पुकार
बाबा तिमी हौ मनका जुहार ।।६।
(उपजाति छन्द)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4