Comments Add Comment

मालीमा राजनीतिक संकट, अब कसले सम्हाल्ला सत्ता ?

३ भदौ, काठमाडौं । मालीमा राजनीतिक संकट चुलिएको छ । यससँगै मालीका राष्ट्रपति इब्राहिम बोउबाकर केइटाले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।

मालीमा भ्रष्टाचार र कमजोर सुरक्षा व्यवस्थाको विरोधमा सरकारविरुद्ध महिनौंदेखि आन्दोलन चलिरहेको अवस्थामा सेनाले उनलाई घरबाटै हिरासतमा लिएको थियो । हिरासतमा लिएपछि उनलै सैन्य बेस क्याम्पबाटै राष्ट्रिय टेलिभिजनमा बोल्दै आफ्नो राजीनामाको घोषणा गरेका हुन् ।

राष्ट्रपति केइटाको कार्यकाल सकिन अझै तीन वर्ष बाँकी थियो । तर, उनले सरकार र संसद् पनि विघटनको घोषणा गरेका छन् । उनले आफूले मालीमा रक्तपात मच्चाउन नचाहेको कारण राजीनामा दिने निर्णय गरेको स्पष्ट पारेका छन् । मुलुकलाई त्यो अवस्थाबाट बचाउन राजीनामा दिने निर्णयमा पुगेको उनको भनाइ छ ।

यद्यपि अझैसम्म पनि उनको अनुपस्थितिमा सत्ता कसले सम्हाल्ने हो भन्ने स्पष्ट हुन सकेको छैन । यसअघि सेनाले राष्ट्रपति केइटा र प्रधानमन्त्री बोउबोउ सिस्सेलाई हिरासतमा लिएको थियो । मंगलबार विपक्षी गठबन्धनले सेनाले सरकारविरुद्ध गर्ने कारबाहीलाई समर्थन गर्ने संकेत गरेको थियो । विपक्षीले यो कदमलाई सैनिक ‘कू’ नभई लोकप्रिय विद्रोह रहेको बताएको छ ।

मंगलबार मालीको सेनाले चालेको यो कदमको अफ्रिकी संघ, अमेरिका र क्षेत्रीय संगठनहरुले विरोध गरेका छन्

मालीको राजधानी सहर बामाकोमा गत जुन महिनादेखि नै विपक्षीहरुले राष्ट्रपतिको राजीनामा माग गर्दै आन्दोलन शुरु गरेका थिए । ‘मालीका सबै नागरिक थाकिसकेका छन् । अब अति भइसकेको छ’, एक प्रदर्शनकारीले भने ।

मालीमा विवादित निर्वाचनसँगै राजनीतिक संकट चुलिएको छ । मालीको अवस्था सुदृढ राख्न नसकेको भन्दै राष्ट्रपतिको विरोधमा आवाज उठिरहेको अवस्थामा भएको निर्वाचनमा राष्ट्रपतिले नै जित हासिल गरेका थिए । यो कदमसँगै मालीमा सरकारविरुद्धको आवाज उठेको हो ।

केइटा सन् २०१३ मा मालीको राष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यसको पाँच वर्षपछि पुनः सोही निर्वाचनमा उनी विजयी भएका थिए । सन् २०१२ मा पनि मालीका राष्ट्रपतिलाई सेनाले हटाएको थियो । अहिले पनि मालीको सेना अलकायदा र इस्लामिक स्टेट (आईएस)सँगको लडाइँमा कमजोर देखिइरहेको अवस्थामा यस्तो राजनीतिक संकट देखिएको हो ।

केइटाले यसअघि विपक्षीको माग वार्ताको माध्यमबाट गर्न सकिने र निर्वाचनको विवाद पुनः निर्वाचन गरेर सुल्झाउन सकिने बताउँदै आएका थिए । तर, विपक्षीहरुले राष्ट्रपतिको राजीनामाबाहेक अन्य विकल्प मान्न नसकिने बताएका थिए ।

मंगलबार राजधानी नजिकै रहेको काटीस्थित ब्यारेकका सैनिकहरुले हतियार उठाउँदै वरिष्ठ सैन्य अधिकारीलाई हिरासतमा दिएका थिए । सरकारविरोधी गठबन्धनले तत्कालै सैनिकको यो कदमलाई स्वागत गरेको थियो ।

प्रधानमन्त्री सिस्सेले भने सैनिकलाई हतियार बिसाउन आग्रह गरेका थिए । उनले संसारमा वार्ताबाट समाधान नहुने कुनै समस्या नरहेको भन्दै उनीहरुलाई वार्ताबाटै समाधान खोज्न आग्रह गरेका थिए ।

तर, यो क्रम रोकिएन । हतियारधारी मानिसहरुले राजधानी बामाकोमा पनि राष्ट्रपति, प्रधानमन्त्री, अर्थमन्त्रीलाई हिरासतमा लिएका थिए ।

मंगलबार मालीको सेनाले चालेको यो कदमको अफ्रिकी संघ, अमेरिका र क्षेत्रीय संगठनहरुले विरोध गरेका छन् । संयुक्त राष्ट्रसंघले पनि तत्काल संवैधानिक व्यवस्था र कानुनी शासन पुनःस्थापनाको लागि आग्रह गरेको छ । फ्रान्सले पनि यो कदमको विरोध गर्दै असंवैधनिक हिसाबमा हुने सरकार परिवर्तन मान्न नसकिने बताएको छ ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment