२२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आत्मविश्वासका साथ अघि बढ्न उद्योगी तथा व्यवसायीहरूलाई आह्वान गरेकी छिन् ।
शुक्रबार राष्ट्रिय आर्थिक बहस २.० मा निजी क्षेत्रलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले यस्तो आह्वान गरेकी हुन् ।
‘म सबै उद्यमी, किसान र युवाहरूलाई आह्वान गर्न चाहन्छु—डराउने होइन, बरु आत्मविश्वासका साथ अगाडि बढ्नुहोस्,’ उनले भनेकी छिन्, ‘तपाईंहरूले आशंका र भय पाल्ने बेला होइन । हातेमालो गर्ने बेला हो ।’
विभिन्न अध्ययनले हाम्रो आर्थिक वृद्धिदर बढ्ने र महँगी घट्ने संकेत दिएको पनि उनले बताइन् । ‘जसले हाम्रो प्रयास सही दिशामा छ भन्ने देखाउँछ । हामीले हिजोभन्दा राम्रो भोलि बनाउन एकजुट हुनेछौं,’ उनले भनेकी छिन् ।
सरकार आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको तयारीमा जुटेका जानकारी गराउँदै उनले थप भनेकी छिन्, ‘निर्वाचनमार्फत दिगो लोकतान्त्रिक प्रक्रियामा मुलुक अगाडि बढाउने र यहीँ नै गरीखान सकिन्छ भन्ने आशा जगाउँदै त्यसका लागि उपयुक्त वातावरण बनाउन प्रयासरत छौं । निर्वाचन सफल बनाउन र स्वच्छ बनाउन निजी क्षेत्रको पनि महत्त्वपूर्ण भूमिका हुन्छ ।’
प्रतिक्रिया 4