Comments Add Comment

काठमाडौंमा मुख्य बजारका सटर धमाधम खाली हुँदै

३ भदौ, काठमाडौं । नेपालीले कोरोनाको कहर खेप्न थालेको ६ महिना पुग्दैछ । महामारी नियन्त्रण गर्न सरकारले गरेको लकडाउनले अर्थतन्त्र, सर्वसाधारणको आम्दानी र रोजगारीमा गहिरो असर देखिन थालेको छ ।

मुख्य चाडपर्व नजिकिँदै गर्दा चहलपहल बढ्नुपर्ने बजार क्षेत्रबाट व्यापारीहरू पलायन हुने अवस्था सिर्जना भएको छ । काठमाडौंका व्यस्त चोक न्युरोड, बसन्तपुर, ठमेल, लाजिम्पाटलगायत भित्री बजारहरूमा साना तथा मझौला व्यापार–व्यवसाय गरेर बसेकाहरू सटर छोडेर हिँड्न थालेका छन् ।

लगातारको लकडाउन र बजार क्षेत्रमा भएको सिलका कारण व्यापारबाट निर्वाह नै नहुने अवस्था आएको न्युरोड विशाल बजारका व्यापारी रामगोपाल शर्माले बताए । ‘व्यापार ठप्प भएपछि सटर भाडा तिर्न र कामदारलाई तलब दिनसक्ने अवस्था रहेन’, उनले भने, ‘लकडाउन झन् लम्बिँदै जाँदा भाग्नुपर्ने दिन आउन लागेको महसुस हुँदैन ।’

विशाल बजारमा एकदर्जन जति व्यापारीले सटर छाडिसकेको शर्माले बताए । कोरोनाको जोखिम बढेकाले यतिबेला विशाल बजार क्षेत्रमा सिल गरिएको छ ।

उता ठमेल क्षेत्रको व्यापार पनि ठप्प छ । मासिक एक लाख भाडा तिर्नुपर्ने सटरहरू धमाधम खाली हुन थालेको व्यापारीहरू बताउँछन् । सटर पाउन हानथाप हुने ठमेल क्षेत्रमा यतिबेला सटर छोड्नेहरू बढेको पर्यटन व्यवसायी नारायण अर्यालले बताए ।

सलामी तिरेर किन्नुपर्ने ठमेलका सटरहरू अहिले निकै सस्तो भाडामा पनि नगएको अर्का व्यवसायी हरि पौडेल बताउँछन् । घरबेटीले बस भनेर आग्रह गर्दा पनि पसलेहरू सटर छोडेर गएको उनले बताए । ठमेलको सडक छेउका करिब ३०० सटर खाली भइसकेको अनुमान छ ।

होटल व्यवसायी राजु श्रेष्ठ कारोनाले व्यापारिक क्षेत्रमा भोक–निन्द्रा नलाग्ने अवस्था ल्याएको बताउँछन् । ‘ठमेलका आधा होटल–रेस्टुरेन्ट बन्द हुने अवस्था आइसक्यो’, उनले भने ।

साना व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अनुसार देशभर ४५ प्रतिशत व्यावसायिक प्रयोजनका सटरहरू खाली भएको छ । पाँच लाखदेखि १० लाख रुपैयाँसम्म लगानी गरेर व्यवसाय थालेकाहरू समाप्त नै भएको र एक करोडसम्म लगानी गरेका मझौला व्यवसायीहरू धरासायी भएको महासंघका अध्यक्ष नरेश कटुवाल बताउँछन् ।

‘सरकारले केही सहयोग नगरेपछि निराश बनेका व्यवसायीहरूका अगाडि विस्थापन हुनभन्दा अर्को विकल्प रहेन’, कटुवालले भने ।

राष्ट्र बैङ्कले अर्थतन्त्र र व्यवसायमा कोभिड–१९ को असरबारे गरेको एक अध्ययनअनुसार ६१ प्रतिशत व्यवसाय यही कारण पूर्णरूपमा बन्द भएको छ । अधिकांश उद्योग–व्यवसाय बन्द रहनुले अर्थतन्त्रमा गहिरो असर पारेको राष्ट्र बैङ्कको निष्कर्ष छ ।

कम आय भएकाले सहर छोडे

कोरोनासँगै सुरु भएको लकडाउनले गर्दा न्यून आय भएका मानिसले सहर छोड्ने क्रम ह्वात्तै बढेको डेरावाला मञ्चले जनाएको छ । दालभात खानै नपुग्ने भएर मानिसहरू गाउँ फर्कँदा काठमाडौंका घरहरूमा कोठा खाली हुन थालेको मञ्चका अध्यक्ष रामकृष्ण शर्मा बताउँछन् ।

‘धेरैको आम्दानी गुम्यो, भएकाको पनि घट्न थालेपछि खर्च कटौती गर्न मानिसहरू फ्याल्ट छोडेर सस्तो कोठमा सरेका पनि छन्’, शर्माले भने ।

काठमाडौं उपत्यकामा करिब ३४ लाख मानिस भाडामा बस्ने उनको दाबी छ । लकडाउनको बेला धेरै ठाउँमा घरबेटी र भाडावालाबीच मनमुटाव भएको उनले बताए ।

तस्विर/भिडियो : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment