Comments Add Comment

वुहान : सुनसान सडकदेखि भिडभाडपूर्ण स्विमिङ पुलसम्म

काठमाडौं । वुहानको एक सांगीतिक मेलामा मानिसहरु काँधमा काँध जोडेर विना मास्क भेला भएका थिए । अत्याधिक भिडभाडयुक्त कार्यक्रममा मानिसहरु स्विमिङ पुलमा रबरको टायरहरुको सहयोगमा तैरिरहेका थिए र सांगीतिक मेलाको मजा लिइरहेका थिए ।

यस किसिमको कार्यक्रम सन् २०२० मा धेरै देख्न पाइएको छैन । तर विश्वका धेरै मुलुक कोरोनाबाट पार पाउन संघर्ष गरिरहेको बेला वुहान भने सामान्य अवस्थामा फर्किइसकेको छ ।

गत जनवरीमा वुहान कोरोना भाइरस नियन्त्रणको लागि लकडाउन गर्ने पहिलो सहर बनेको थियो । अप्रिलमा लकडाउन खुल्यो र त्यसपछि वुहान वा हुवेईमा कुनै पनि स्थानीय संक्रमित भेटिएका छैनन् । र, वुहानको माया बिच वाटर पार्कमा यो कार्यक्रम भयो ।

सामान्य अवस्थामा फर्किने यात्रा

वुहानमा जनवरी २३ मा लकडाउनको घोषणा गरिएको थियो । त्यतिबेला कोरोना भाइरसको कारण चारसयभन्दा बढी संक्रमित भएका थिए भने १७ जनाको मृत्यु भएको थियो ।

त्यही साता मात्र चीनले मानिसबाट कोरोना भाइरसको संक्रमण अर्को मानिसमा फैलिन्छ भन्ने पुष्टि गरेको थियो । यसअघि मानिसबाट अर्को मानिसमा यो भाइरस फैलिन्छ भन्ने कुराको पुष्टि भएको थिएन ।

लकडाउनपछि एक करोड १० लाख मानिसको बसोवास रहेको यो क्षेत्रको सम्पर्क बाँकी चीनसँग काटियो । ठूलो सार्वजनिक भेटघाटका कार्यक्रमहरु रद्द गरियो, हजारौं मानिसलाई क्वारेन्टिन गर्नुका साथै कोरोना परीक्षण गरियो ।

मार्चपछि बिस्तारै लकडाउन खुल्न थाल्यो ।

प्रत्येक परिवारका एकजनाले बढीमा दुई घण्टाका लागि घरको कम्पाउण्डबाट बाहिर जान पाउने भए । विस्तारै शपिङ मल खुल्न थाले, सार्वजनिक यातायात खुल्न सुरु गरे र मानिसहरु सामान्य जनजीवनमा फर्किए । यद्यपि भौतिक दुरी र मास्क अनिवार्य थियो ।

अप्रिल ८ मा आधिकारिकरुपमा वुहानको लकडाउन हट्यो । यससँगै अहिले वुहानमा विवाह गर्नेको संख्या बढेको छ । लामो समयदेखिको विवाहको योजनामा रहेका जोडीहरु अहिले धमाधम विवाह गरिरहेका छन् । विद्यालयहरु पुनः खुलेका छन् भने व्यावसायिक क्षेत्र र सार्वजनिक यातायातका साधनहरु पनि पूर्ण रुपमा चलेका छन् । यो अवस्थासम्म आइपुग्दा वुहानको अवस्था सामान्य बन्न थालेको देखिएको थियो ।

यद्यपि मे १२ मा वुहानमा ६ नयाँ संक्रमित फेला परे । त्यसपछि लगत्तै सरकारले सबै मानिसको कोरोना परीक्षण गर्ने महत्वाकांक्षी योजना ल्यायो । र महामारी पुनः नियन्त्रणमा आयो ।

जुन महिनादेखि साना सडकहरुमा स्टल बनाएर राखिने रातिको व्यवसाय पनि सञ्चालनमा आए । जुलाईमा चीनको अधिकांश क्षेत्रमा वास्तवमा नै जनजीवन सामान्य अवस्थामा आयो । अधिकांश क्षेत्रमा सिनेमा पुनः खुल्न थाले, पार्क, पुस्तकालय, संग्रहालय आधा क्षमतामा खुल्न थाले । ठूलो भेलाका लागि पनि अनुमति दिन थालियो ।

अहिले वुहान पूर्णरुपमा सामान्य अवस्थामा फर्किएको देखिन्छ । गत साता होहा वाटर इलेक्ट्रिकल म्युजिकल फेस्टिबलमा उल्लेख्य संख्यामा मानिसहरु सहभागी हुनुले पनि त्यही पुष्टि गर्छ । अझ धेरैभन्दा धेरै मानिसलाई समावेश गराउन आयोजकहरुले महिलाहरुलाई टिकटको मूल्यमा आधा छुट दिएका थिए । वुहानको ह्यापी भ्यालीको रुपमा चिनिने माया वाटर पार्क जुन २५ बाट पुनः सञ्चालनमा आएको हो ।

यद्यपि यसका सहायक महाप्रबन्धकका अनुसार अगष्टबाट मात्र यहाँ धेरै संख्यामा मानिसहरु आउन थालेका हुन् । अहिले यो पार्कमा साताको अन्तिम दुई दिन १५ हजार पर्यटकहरु आउँछन् । गत वर्षको सोही समयको तुलनामा भने यो संख्या आधा हो ।

यति धेरै संख्यामा मानिसहरु सहभागी भएको कार्यक्रमका लागि अनुमति पाएको सुन्दा चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने आश्चर्य व्यक्त गरेका छन् । कतिपयले भने कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै आशंका व्यक्त गरेका छन् ।

यद्यपि वुहानमा भने मे मध्यपछिस्थानीय संक्रमित फेला परेका छैनन् । कोरोना परीक्षण ९९ लाखको भइसक्यो र सहरमा ठूला कार्यक्रमहरु गर्न कुनै किसिमको प्रतिबन्ध छैन ।

अस्ट्रेलियन नेशनल युनिभर्सिटीका संक्रामक रोग विशेषज्ञ सञ्जय सेनानायके सहरका अधिकांश मानिसको कोरोना परीक्षण गरिएको भएपनि बाहिरबाट आएकाहरुबाट संक्रमण फैलिन सक्ने जोखिम कायम रहेको बताउँछन् । अहिले कोरोना उन्मूलन नभइसकेको कारण भाइरस सर्नसक्ने सम्भावना कायम रहने उनले बताए ।

न्युजिल्याण्डमा तीन महिनाभन्दा लामो समयपछि पुनः संक्रमण फैलिन थालेको उदाहरण दिँदै सेनानायके भन्छन्, ‘लण्डनमा गरिएको अध्ययनले कोरोना भाइरसका १० देखि २० प्रतिशत संक्रमित ८० प्रतिशत संक्रमितमा संक्रमण सर्ने कारण बनेको देखिएको छ ।’

‘त्यसैले धेरै मानिस सहभागी हुने कार्यक्रम हुँदा निकै सतर्क हुनुपर्छ । एउटा मानिसमा मात्र संक्रमण देखिएको रहेछ भने ठूलो संख्यामा मानिसहरु संक्रमित हुन सक्छन्’, उनले भने ।

यसैबीच विश्वका अन्य क्षेत्रमा भने कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएको छ । अहिले विश्वभर दुई करोड १० लाखभन्दा धेरै मानिस संक्रमित भइसके । दक्षिण कोरियाजस्ता शुरुमा कोरोना भाइरस नियन्त्रणमा सफल मानिएका मुलुकमा संक्रमणको नयाँ लहर देखिएको छ । र, यसबाट बुझिन्छ, भिडभाड हुने कार्यक्रमका लागि अन्य मुलुकलाई आत्मविश्वास बढाउन भने अझै लामो समय लाग्छ ।

स्रोत : बीबीसी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

अलविदा राष्ट्रकवि

Advertisment